
काठमाडौं। चीनसँगको मुख्य व्यापारिक नाका केरुङ जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडक निर्माणको काम ठप्प भएको छ। ठेक्का पाउने मुख्य निर्माण व्यवसायी बैंकिङ कसुरमा परेर फरार हुँदा यस्तो अवस्था आएको हो।
मैलुङ-स्याफ्रुबेंसी खण्डको १९ किलोमिटर सडक निर्माणको ठेक्का भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले पाएको थियो। भारत कन्स्ट्रक्सनका मुख्य व्यक्ति दीपेन्द्रकुमार शाही फरार हुँदा सबै काम ठप्प भएको छ।
‘शाही भागेपछि पुरानो टिमले काम गर्न सकेन। त्यसपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउँदा पर्फर्मेन्स ग्यारेन्टी भनेर राखिएको ३५ करोड धरौटी तान्न खोजिएको थियो। अर्का पार्टनरहरु विदुर शर्मा र दीपक सापकोटालगायतले काम गर्ने प्रतिबद्धता जनाएपछि नयाँ टिमलाई जिम्मा दिइएको थियो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले भने, ‘केही समय काम पनि भइरहेको थियो। तर पछि फेरि काम गरेको भुक्तानी दिने बेलामा समस्या भयो र अहिले काम ठप्प छ।’
भारत कन्स्ट्रक्सनका शाहीले साझेदारका नाममा रहेको घरजग्गामा धरौटीमा राखेका थिए। शाही सम्पर्कविहीन हुँदा साझेदारी संकटमा पर्नुका साथै ठेक्का लिएको काम अलपत्र भएकाे पाइएको उनले बताए।
सहसचिव थापाका अनुसार काम गरेको पैसा भुक्तानी गर्दा शाहीकै खातामा जाने भएपछि नयाँ टिमले पनि काम गर्न नसकेको हो। त्यसयता काम कसरी अघि बढाउने भन्नेमा अन्योल छ।
दुई निर्माण कम्पनीको ज्वाइन्ट भेन्चर भएकाले पुरानो टिम निष्क्रिय भए नयाँ बनाएर काम गर्न सकिने उनले बताए । ‘यो उहाँहरुको आन्तरिक कुरा हो। हाम्रा लागि सडक निर्माणको काम हुनुपर्यो,’ उनले भने, ‘हामीले कम्पनीलाई काम गराउने हो, भुक्तानी पनि कम्पनीलाई मात्र जान्छ। त्यसैले अहिले नयाँ पार्टनरलाई अप्ठेरो भइरहेको छ।’

थापाका अनुसार अहिले मन्त्रालय र सम्बन्धित निकायले भारत कन्स्ट्रक्सनका मुख्य व्यक्ति शाहीलाई खोजिरहेको छ। ‘उनले जहाँबाट भए पनि काम गरेको पैसा भुक्तानीका लागि अहिले काम गर्छु भनेर आएकाहरुको नाममा मन्जुरीनामा पठाए भने हुन्छ,’ उनले भने, ‘त्यसपछि नयाँ पार्टनरले काम गरेबापत भुक्तानी पाउँछन् र काम छिटो गर्न सक्छन्।’
यो ठेक्का १ अर्ब ४५ करोड रुपैयाँको हो। यसमा काम भएअनुसारको ३५ करोड रुपैयाँको भुक्तानी भइसकेको उनले जानकारी दिए। उनका अनुसार लगभग २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। २०७६ असोज १६ मा मैलुङ-स्याफ्रुवेंसी १९ किलोमिटर सडक निर्माणको शिलान्यास भएको थियो।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंसी सडक योजना प्रमुख ध्रुव थापाले म्याद थपको विषयमा पनि समस्या आइरहेको बताए। अहिलेको कानुनअनुसार यो आयोजनाको म्याद थप गर्न मिल्दैन। अहिले कानुनले पोहोर कोभिडले गर्दा काम गर्न नसकेका ठेक्काको मात्र यो वर्ष पनि म्याद थप गर्न पाउने र माइलस्टोन हेरेर मात्र म्याद थप गर्न पाउने भनिएको छ।

तेस्रो खण्डको काम नै सुरु हुन सकेन
रसुवागढी पुग्ने सडकलाई गल्छी-मैलुङ ४६ किमि, मैलुङ-स्याफ्रुबेंसी (१९ किमि) र स्याफ्रुबेंसीदेखि रसुवागढी (१७ किमि) गरी तीन खण्ड बनाएर अघि बढाइएको थियो। जसमा दुई खण्डको काम भइरहेको छ।
पहिलो खण्डको ७० प्रतिशत र दोस्रो खण्डको २५ प्रतिशत काम सकिएको छ। दुई खण्ड सरकारले आन्तरिक स्रोतबाट निर्माण अघि बढाएको हो।
तेस्रो खण्डको काम हुन सकेको छैन। यसमा चीन सरकारबाट निर्माण हुने भए पनि साइट क्लियरेन्स नेपाल सरकारका तर्फबाट हुनुपर्ने हो। यो खण्डमा टिमुरे र स्याफ्रुबेंसी बजारमा जग्गाको मुआब्जामा विवाद छ। हालसम्म पनि मुआब्जा निर्धारण हुन नसकेको थापाले बताए।
यस्तै विद्युतका पोलहरु केही स्थानमा भौगोलिक कठिनाइका कारण स्थानान्तरण हुन नसकेको उनको भनाइ छ। काम हुनुपर्ने क्षेत्र सबै अवरोधविहीन नभइ चिनियाँ निर्माण कम्पनीले अघि सर्न चासो दिएको छैन।

हालसम्मको खर्च र प्रगति
१५ अर्ब ५० करोड कुल लागतको यो आयोजनामा ९ अर्ब ५० निर्माण र ६ अर्ब मुआब्जालाई छुट्याइएको छ। जसमा ५ अर्ब ३३ करोड निर्माण र ३ अर्ब २९ करोड मुआब्जा गरी ८ अर्ब ६२ करोड रुपैयाँ खर्च भइसकेको छ।
हालसम्म यस आयोजनाको सबै क्षेत्रको एकमुष्ठमा ५५.९८ प्रतिशत मात्र काम सम्पन्न भएको छ। जसमा कुल ६५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा बल्ल ३६ किमि पुगेको छ। आयोजना ८२ किलोमिटरको हो।
यस्तै डीबीएस ३६ किलोमिटर सम्पन्न भएको छ। कुल ३२ वटा पुल निर्माणमा १४ वटा सम्पन्न भएको आयोजनाले जनाएको छ।
यसैगरी एउटा फ्लाइओभर निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने काम भएको छ। साथै कुल ४ वटा पहिरो नियन्त्रण सम्बन्धि निर्माण कार्यमा ३ वटाको निर्माण भइरहेको छ।
भूकम्पपछि तातोपानी नाकामा क्षति पुगेको थियो। त्यसपछि भोटेकोशीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल र सडक नै बगाएको थियो। जसले गर्दा नाका बन्द भएको थियो।
चीनसँग यातायात सञ्जाल टुटेपछि रसुवागढी नाका संचालनमा ल्याईएको थियो। यद्यपि अहिले तातोपानी नाका पनि पुन: संचालनमा आएको छ। राजधानीबाट छोटो दुरीमा चीनसँग जोड्ने नाकाको रुपमा विकास गर्ने उद्देश्यका साथ गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आयोजना सुरु गरिएको हो।