सुन प्रतितोला १ लाख १२ हजार ५ सय पुग्यो, अन्तर्राष्ट्रिय बजारमै क्रमिक बढोत्तरी



बिजमाण्डू
२०८० भदौ १३ गते ११:३८ | Aug 30, 2023
सुन प्रतितोला १ लाख १२ हजार ५ सय पुग्यो, अन्तर्राष्ट्रिय बजारमै क्रमिक बढोत्तरी

काठमाडौं। सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ। चालु महिनाका लागि यो हालसम्मको उच्च मूल्य हो। पाँच दिनको स्थिरतापछि मंगलबार तोलामा ६ सय रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको थियो। त्यसमा पनि ८ सय रुपैयाँ बढ्दै बुधबार कारोबार मूल्य कायम भएको हो।

Tata
GBIME
Zonsen

अघिल्लो दिनका तुलनामा ५ सयको बढोत्तरीपछि गत बिहीबार तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ भएको थियो। जुन मूल्य सोमबारसम्म स्थिर रहेर कारोबार भएको थियो। मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बलियो भएसँगै सुन तोलाको १ लाख १२ हजारबाट पनि माथि उक्लिएको हो।

गत साउनमा तोलाको १ लाख १३ हजारसम्म पुगेको सुनको मूल्य भदौमा भने बुधबारअघि १ लाख १२ हजारसम्म पुगेको थिएन।

चाँदीमा २० रुपैयाँको बढोत्तरी छ। बुधबार कारोबार मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ५ रुपैयाँ बढ्दा मंगलबार तोलाको १४ सय ६५ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक बढेको छ। गत आइतबार प्रतिऔंस १९१४.८९, सोमबार १९१७.७१ र मंगलबार १९२३.४४ डलर पुगेको थियो। बुधबार अझ बढेर १९३६.६४ डलर भएको छ।

चाँदी पनि तुलनात्मक रुपमा बलियो भएको छ। सोमबार प्रतिऔंस २४.२ डलर चलेको चाँदी मंगलबार २४.३२ डलर पुगेको थियो। त्यसमा पनि बढेर बुधबार २४.६३ डलर भएको छ।