
मकवानपुर । बागमती प्रदे शसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिव कृष्णहरि खड्काले बताए।
गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए। उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्प्रेसित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ।
त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ। प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रर्वधन तथा विकास कोष संचालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले राससलाई जानकारी दिए।