जुगलको आलु गठ्ठाघरको गोदाममा, ब्रान्डिङ गर्दै पूर्व उपाध्यक्ष सिर्जना, भन्छिन्- काम गर्न सत्ता चाहिँदैन

नेत्र तामाङ
२०८० भदौ १२ गते ०६:२२ | Aug 29, 2023
जुगलको आलु गठ्ठाघरको गोदाममा, ब्रान्डिङ गर्दै पूर्व उपाध्यक्ष सिर्जना, भन्छिन्- काम गर्न सत्ता चाहिँदैन

काठमाडौं। आइतबार साँझ ७ बजेतिर जुगल गाउँपालिकाकी पूर्वउपाध्यक्ष सिर्जना तामाङ आलु गोदाम बन्द गर्ने सुरसारमा देखिन्थिन्। त्यहीबेला पसलमा आइपुगे तीन जना।

Tata
GBIME
Nepal Life

‘कति हो किलोको?’ एकजनाले सोधिहाले।

‘६० रुपैयाँ,’ मुस्किलले बोरा सार्दै सिर्जनाले भनिन्।

‘बोरा नै लानुपर्ने, कति केजीको हो?’ ती व्यक्तिले सोधे।

‘५० केजीको बोरा हो। बोरा नै उठाउनुपर्छ,’ सिर्जना भन्दै थिइन्।

‘लोकल हो रे भनेर आएको,’ ती व्यक्तिले बोरा उठाए र केही बेरमै बोराको आलु भाग भाग लगाउँदै जोखे। तीन वटा बोरामा बाँडे। तीन हजार रुपैयाँ सिर्जनाको हातमा थमाए। अनि बाटो लागे।

भक्तपुरको गठ्ठाघर चोकबाट सानोठिमीतिर लाग्दा दाहिनेतिर मझेरी क्याफे छ। क्याफे हुँदै केहीबेर हिँडेपछि पुगिन्छ आलु गोदाम। ५० बोरा आलु गोदाममा आइपुगेकामा दुई दिनमै गोदाम आधाउधी खाली भयो।

शनिबार १५ बोरा बिक्री भएको उनले सुनाइन्। ‘आज १५ बोरा गयो,’ सिर्जना पसल बन्द गर्ने तरखरमै लागिन्। तर आलु किन्‍न आउनेको चहलपहल घटेन ८ बजेसम्मै।

मिसन जुगलको आलु ब्रान्डिङ

जुगल सिन्धुपाल्चोकको सबैभन्दा ठूलो गाउँपालिका हो। चीनसँग सीमा जोडिएको यो गाउँपालिका काठमाडौंबाट ९० किलोमिटर दूरीमा पर्छ। यही गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएपछि चर्चामा आएकी हुन् सिर्जना।

२३ वर्षमै गाउँपालिका उपाध्यक्ष बनेपछि कान्छी जनप्रतिनिधिको रुपमा चर्चामा आएकी उनी अघिल्लो निर्वाचनमा अध्यक्षमा दाबेदार थिइन्। स्थानीय तहबाट पनि उनको नाम सिफारिस भएको थियो। तर कांग्रेसबाट प्रवेश गरेका जयबहादुर लामालाई अध्यक्षको टिकट दियो एमालेले। निर्वाचनमा माओवादीका रेशम स्याङ्बो निर्वाचित भए।

पार्टीको निर्णयमा सिर्जनाको कुनै गुनासो सुनिएन। गाउँपालिका उपाध्यक्ष भएको ह्याङ कतिको हुने रहेछ? हाम्रो प्रश्नमा सिर्जनाको जवाफ थियो, ‘अहिले फ्री छु। उपाध्यक्ष हुँदा कामको धेरै लोड थियो। अर्को कुरा सेवा गर्न सत्ता नै चाहिन्छ भन्‍ने होइन रहेछ। सत्ताबाहिर हुँदा पनि समुदायप्रतिको कर्तव्य पूरा गरिरहेकी छु।’

गाउँपालिका क्षेत्रमा फल्ने आलुको ब्रान्डिङमा उपाध्यक्षमै रहेदेखि लागे पनि खासै सफल नदेखेर आफैं फिल्डमा उत्रिएको उनले बताइन्।

‘जुगल चिसो ठाउँ हो। उत्पादन एक सिजन हुन्छ। त्यो पनि आलुमात्र,’ सिर्जनाले भनिन्, ‘पहिले संकलन केन्द्र थियो। त्यही आलु राजधानीका उपभोक्तासम्म ल्याउन सहजीकरणको काम थालेकी हुँ।’

यसअघि संकलन केन्द्रबाट जुगलको आलु काठमाडौं भित्रिए पनि घाटापछि स्थानीय व्यापारी पछि हटेको उनले सुनाइन्।

‘अरु साथीहरु पनि यो काममा लाग्‍नुभएको थियो। तर आलुमा लाखौं डुबेपछि छाडिदिनु भएछ,’ उनले भनिन्, ‘कतिलाई लाज लाग्छ होला यो काम गर्न। ब्रान्डिङ गर्न निकै मुस्किल रहेछ।’

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने ध्यान भएकोले आफूले फाइदातिर खासै ध्यान नदिएको उनले सुनाइन्।

‘स्थानीय उत्पादनलाई बजारीकरणमा किन नलाग्‍ने? यसैमा मेरो ध्यान छ। यसले पक्कै पनि आर्गानिक उत्पादन बढ्नेमा म ढुक्क छु,’ उनले भनिन्, ‘म सहजीकरणका लागि लागेको हुँ। स्थानीयदेखि संघीय सरकार पनि बजारीकरणमा लाग्‍ने विश्‍वासमा छु।’

अमेरिका अष्ट्रेलिया पछि घुमौंला

जनप्रतिनिधि भएपछि अमेरिका अष्ट्रेलिया पुगेर बेपत्ता हुनेहरु पनि छन्। सिर्जनालाई पनि कति साथीहरुले यस्तै सुझाव दिन्छन्। तर उनी नेपालमै बसेर केही गर्छु भन्‍नेमा दृढ छिन्।

‘अमेरिका, अष्ट्रेलिया, जापानमा धेरै साथीहरु हुनुहुन्छ। साथीहरुले नेपालमा कति दु:ख गर्छस् भन्‍नुहुन्छ। यता कमाइ हुन्छ, डिप्रेसन हुन्‍न भन्‍नुहुन्छ। खुट्टा तानातान हुन्‍न भन्छन्,’ सिर्जना साथीहरुलाई जवाफ दिन्छिन्, ‘देशविदेश पनि घुमौंला। तर नेपालमै रहेर केही गर्ने मन छ।’

उनी युवाहरुलाई प्रोत्साहन गर्न गाउँ-गाउँ पनि पुग्छिन् स्थानीय सरकारका कार्यक्रममार्फत। युवाहरुलाई फ्रस्टेसनमा बस्‍नुभन्दा देशकै माटोलाई माया गर्न सुझाउँछिन् उनी।

आलु गोदाम राखेपछि चर्चामा आउनुभयो नि, यो केही समयकै लागि हो कि निरन्तर रहन्छ? ‘चर्चा त पहिलेबाटै थियो नि। स्थानीय तहमै हुँदा। आम युवा पनि यसरी नै चर्चामा आउनुपर्छ। फ्रस्टेसनमा बस्‍नुभन्दा। हामी आम युवाले देशकै माटोलाई माया गरेर देशलाई समृद्ध बनाउने उद्देश्य हो,’ उनले थपिन्, ‘यसमा मेरो प्रयास निरन्तर रहन्छ। जहाँ-जहाँ पुग्छु त्यहाँ म यसबारे बताउँछु। यो अभियानमा म विभिन्‍न ठाउँ पुग्‍ने रहर छ। विदेशमा पनि यही कृषि गर्नुपर्छ भने आफ्नै देशमा किन नगर्ने?’

एक महिनायता उनको दैनिकी बनेको छ गाउँ पुग्‍ने, आलु उठाउने र गठ्ठाघरमा रहेको गोदामबाट उपभोक्तसम्म पुर्‍याउने। सडक नहुँदा त्यहाँका किसानले आलु बोक्दै जलवीरे र बलेफीसम्म पुग्‍नु पर्थ्यो। त्यही आलु बेचेर नुनतेलदेखि घरायसी गर्जो टार्थे।

आलुले सही मूल्य पाउन मुस्किल थियो। अहिले किसानले उत्पादनमात्र गरे पुग्यो। आँगनबाटै आलु बिक्री हुँदा किसान मक्ख छन्।

‘घर-घर पुगेर क्यास क्यास तिरेर उठाउँछौं। चोटा-चोटा पुगेर बोकेर ल्याउनुपर्छ,’ उनले भनिन्।

जुगलको आलु खोज्दै आफन्तदेखि चिनजानकाहरु पुग्छन् गोदाममा। ‘आफन्त पनि आउनुहुन्छ। देशै कृषि प्रधान हो। त्यसैले उत्पादनसँग जोडिनका लागि म यसमा लागेकी हुँ। हाम्रै माटोमा उत्पादन भएको खाद्यवस्तु बेच्‍न लागिपरेको हुँ,’ सिर्जनाले सुनाइन्।