
काठमाडौं। दक्षिण कोरियाले नेपालमा सडक लगायत भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो देखाएको छ। नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो देखाएका हुन्।
नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध कायम भएको केही महिनापछि ५० बर्ष हुँदैछ। त्यस अवसरमा नेपालले ठोस योजना प्रस्ताव गरे लगानी गर्न कोरिया तयार रहेको राजदूत पार्कले बताएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ।
राजदूतसहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ। ‘भौतिक पूर्वाधारका हिसाबले नेपाल अझै पछाडि रहेकाले ठोस आयोजना प्रस्ताव गरे सहयोग गर्न हामी तयार छौं’, राजदूत पार्कले भने।
जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका बिषयमा सम्झौता गर्न आफूले पहल गर्ने जवाफ दिएका थिए।