काठमाडौं। नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं उडानमा दिल्ली र हङकङलाई पनि जोड्ने भएको छ। उडानमा यात्रु कम भएपछि निगमले दिल्ली र हङकङलाई पनि जोड्ने भएको हो।
निगमका प्रवक्ता रमेश पौडेलले काठमाडौं आइपुग्दा जहाज नै खाली हुने स्थितिका कारण ‘कनेक्टिङ फ्लाइट’ गर्न लागेको बताए। ‘मलेसियाबाट आउने केही यात्रु भैरहवा र केही काठमाडौं झर्छन्। काठमाडौं आइपुग्दा जहाज खाली हुनुभन्दा कनेक्टिङ फ्लाइटमार्फत यात्रु बढाउन लागेका हौँ’, प्रवक्ता पौडेलले भने।
निगमले अहिले भैरहवा-काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रुटमा हरेक मंगलबार एउटा उडान गर्दै आएको छ। दिल्ली र हङकङ जोड्दा यात्रु बढे उडान बढाउने निगमको योजना छ।
बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९:०० बजे काठमाडौं आइपुग्नेछ। त्यसमा हङकङ र दिल्ली जाने यात्रुले पनि सेवा लिन पाउनेछन्। यसका लागि निगमले टिकट बुकिङ खुला गरिसकेको छ।