पछिल्लो समय नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको प्रवृत्ति फेरिएको देखिन्छ। विदेश अध्ययनसँगै दिगो रोजगारी पनि तिनको ध्येय बनेको देखिन्छ। नेपालमा औद्योगीकरणको विकास हुन नसकेका कारण निजी क्षेत्रमा पर्याप्त मात्रामा रोजगारी सिर्जना हुन सकेको छैन।
हरेक वर्ष कलेज एवम् विश्वविद्यालय शिक्षा उत्तीर्ण गरी रोजगार बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवाका लागि सरकारी तथा सार्वजनिक क्षेत्रमा उपलब्ध सीमित रोजगारीका अवसर ‘हात्तीको मुखमा जिरा’ सरह भएको छ। रोजगारी पाएकाहरू पनि न्यून पारिश्रमिक र जीवन निर्वाह लागत उच्च रहेका कारण सन्तुष्ट देखिँदैनन्।
जीवनभर रोजगारी गरे पनि जीवन निर्वाह खर्च उच्च रहेका कारण त्यसबाट प्राप्त आम्दानीले जीवनस्तर उकास्न मुस्किल हुने अवस्था छ। सहर बजारमा रोजगारी गर्ने अधिकांशको आम्दानीबाट बचत रहने सम्भावना न्यून छ। स्वदेशको रोजगारीबाट निर्वाहमुखी जीवन चलाउनुबाहेक जीवनले कोल्टे फेर्ने कुरा असम्भव प्रायः देखिँदै गएको छ।
निजी क्षेत्रमा रोजगारीका केही बढी अवसर र सम्भावना भए पनि छनोटको आधार पारदर्शी भएको पाइँदैन। भनसुनका आधारमा कर्मचारी छानिने, प्रतिभाको कदर नहुने, कामको जिम्मेवारीबमोजिम पारिश्रमिक नपाइने र रोजगारीको स्थायित्वसमेत नहुने हुँदा निजी क्षेत्रको रोजगारीमा युवाको आकर्षण देखिँदैन।
तसर्थ, उच्च शिक्षाको अभिलाषाका कारण नभई शिक्षा पूरा गरेपछि हुन सक्ने बेरोजगारी र बेचैनीका कारण पछिल्ला केही वर्षयता कलेज र विश्वविद्यालय शिक्षा उत्तीर्ण गरेका उच्च-मध्यम र उत्कृष्ट विद्यार्थीको रोजाइ वैदेशिक अध्ययन बनेको छ। तीमध्ये कक्षा १२ पास गरी विदेश जाने विद्यार्थीको सङ्ख्या अधिक छ।
विदेशमा विद्यार्थीले कलेज वा विश्वविद्यालय तहको शिक्षा उत्तीर्ण गरेपछि योग्यताअनुसार रोजगारी पाउने, पारिश्रमिक उच्च हुने, छोटो समयमै गुणस्तरीय जीवन सुनिश्चित हुने र शिक्षापछिको व्यावसायिक जीवनमा बढी सफलता हासिल हुने सम्भावनाले बाहिरिएका विद्यार्थीको स्थायी बसोबासको रोजाइ विदेश नै हुने गरेको छ। फलतः नेपाली विद्यार्थीको वैदेशिक अध्ययन ‘वैदेशिक बसाइँसराइ’मा परिणत भइरहेको छ। यसको अर्थ नेपाली विद्यार्थीको वैदेशिक अध्ययन नेपालबाट प्रतिभा पलायन (ब्रेन ड्रेन) को माध्यम बनेको देखिन्छ।
वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन। ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीको पलायनसँगै हुने पुँजी पलायन देशका लागि दीर्घकालीन चिन्ताको विषय बनेको छ। विप्रेषणको सीमित स्रोतबाट आर्जित अर्बौं रुपैयाँबराबरको विदेशी मुद्रा शिक्षाको नाममा विदेशिने गरेको छ।
नेपालबाट हरेक वर्ष कति विद्यार्थी अध्ययनका लागि विदेशिए भन्ने यकिन तथ्यांक त राज्यसँग छैन । तथापि, वैदेशिक अध्ययनका निम्ति विद्यार्थीले लिएका अनुमतिपत्र (नो अब्जेक्सन लेटर) का आधारमा विदेशिएकाको आँकडा अनुमान गर्न सकिन्छ। शिक्षा मन्त्रालयले जारी गरेको अनुमतिपत्रलाई वैदेशिक अध्ययनमा गएका विद्यार्थीको संख्या मान्ने हो भने पछिल्लो १० वर्षमा ५ लाख ४३ हजारभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि गएको देखिन्छ।
१० वर्षमा वैदेशिक अध्ययनको नाममा विद्यार्थी विदेशिने औसत दर ३२ प्रतिशत छ। सोही दरमा विदेशी मुद्रासमेत बढ्दो दरमा विदेशिइरहेको छ। २०७०/७१ मा वैदेशिक अध्ययनबापत १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएकामा २०७९/८० मा बाहिरिएको रकम १ खर्ब रुपैयाँ पुग्यो ।
आर्थिक वर्ष २०७०/७१ मा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या करिब २८ हजार रहेकामा २०७९/८० मा १ लाख १० हजारभन्दा बढी अध्ययनका नाममा विदेशिएका छन्।
१० वर्षमा वैदेशिक अध्ययनको नाममा विद्यार्थी विदेशिने औसत दर ३२ प्रतिशत छ। सोही दरमा विदेशी मुद्रासमेत बढ्दो दरमा विदेशिइरहेको छ। २०७०/७१ मा वैदेशिक अध्ययनबापत १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएकामा २०७९/८० मा बाहिरिएको रकम १ खर्ब रुपैयाँ पुग्यो ।
पछिल्लो एक दशकमा वैदेशिक अध्ययनका लागि ३ खर्ब ९० अर्ब रुपैयाँ विदेशिएको छ। अध्ययनका लागि जाने विद्यार्थीले लैजाने राहदानीबापतको सटही सुविधासमेत गणना गर्ने हो भने २०७९/८० मा मात्रै करिब १ खर्ब १५ अर्ब र विगत १० वर्षमा ४ खर्ब ५३ अर्ब रुपैयाँ अर्थात् करिब ४ अर्ब अमेरिकी डलर (विगत १० वर्षको अमेरिकी डलर र नेपाली रुपैयाँको वार्षिक औसत विनिमय दरका आधारमा) विदेशी मुद्रा विद्यार्थीले आफूसँगै विदेश लगेको देखिन्छ।
वैदेशिक अध्ययनका नाममा विद्यार्थी बाहिरिनु भनेको देशको प्रतिभा र विदेशी मुद्राको पलायन मात्र नभएर अन्ततः यो जनसांख्यिक र पुँजी पलायन समेत हो। युवा विद्यार्थी देशका ऊर्जा र उत्पादनका स्रोत हुन्।
अध्ययनार्थ विदेशिएका विद्यार्थीको देशगत तथ्यांक केलाउँदा अति विकसित देशहरू जस्तैः अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका र युरोप जानेको संख्या बढी छ। रोजगारी, गुणस्तरीय जीवनको सुनिश्चितता तथा सामाजिक सुरक्षालगायत आकर्षणका कारण ती देशमा गएका विद्यार्थी अन्ततः सोही देशको स्थायी बासिन्दामा परिणत हुँदै गएका छन्। उच्च शिक्षा पूरा गरेपछि राम्रो रोजगारीको सुनिश्चिततासँगै स्थायी बसोबास अनुमति र बिस्तारै नागरिकतासमेत प्राप्त हुने भएकाले पनि ती देशतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ।
आर्थिक वर्ष २०७९/८० मा विदेशिएका कुल विद्यार्थीमध्ये सबैभन्दा बढी अष्ट्रेलियामा ३०.८, जापानमा १९.७, क्यानडामा १९.५, बेलायतमा ९.६ र अमेरिकामा ३.६ प्रतिशत गएका हुन्। सर्वाधिक रोजाइका पाँच देशमा ८३ प्रतिशत गएको देखिन्छ।
किन बढ्दैछ विदेशिने क्रम
नेपालबाट विदेशिने अधिकांश विद्यार्थी अध्ययन सकेपछि स्वदेश फर्कनेभन्दा पनि गन्तव्य मुलुकमा स्थायी बसोबास गर्ने दीर्घकालीन लक्ष्यका साथ जाने प्रवृत्ति देखिएको छ। अध्ययनका नाममा विद्यार्थी पलायन हुने कारणमा विकर्षण अर्थात् धकेल्ने तत्व (पुस फ्याक्टर्स) र आकर्षण अर्थात् तान्ने तत्व (पुल फ्याक्टर्स) दुवै जिम्मेवार छन्।
विदेशिएका विद्यार्थी अध्ययन सकेपछि स्वदेश फर्किने दर अत्यन्त न्यून रहेकोले नेपालबाट विद्यार्थी पलायन हुने मुख्य कारणमा विकर्षण अर्थात् धकेल्ने तत्व नै बढी जिम्मेवार देखिन्छ। अन्तर्राष्ट्रियस्तरमा नेपालको उच्च शिक्षाको स्तर कम रहेको, उच्च शिक्षा पूरा गरेपछि स्वदेशी बजारमा रोजगारीको सम्भावना न्यून रहेको र महँगीको तुलनामा पारिश्रमिक निकै कम रहेका कारण स्वदेशी श्रम बजारप्रति विद्यार्थीको लगाव नरहेको देखिन्छ।
स्वदेशमा नारामा सीमित विकास, औद्योगिक विकासको न्यून सम्भावना, कमजोर सार्वजनिक प्रशासन, शासकीय सुधारको न्यून सम्भावना, कानुनी शासन सुनिश्चित हुन नसक्नु, बहुबेथिति, अत्यधिक राजनीतिकरण, राजनीतिको आडमा सम्पत्तिको केन्द्रीकरण (क्रोनी क्यापिटालिज्म), बेरोजगारी र सकारात्मक विभेदका नाममा क्षमतावानले स्थान नपाउनु लगायत कारणले युवा-विद्यार्थीमा देशप्रति नैराश्यता बढ्दै गएको छ।
देशमा शासकीय व्यवस्था परिवर्तन भए पनि आम जनताको अवस्थामा अर्थपूर्ण परिवर्तन आएको देखिँदैन। विकासका नाममा ठूलाठूला प्रचारबाजी गरिए पनि प्रगति प्रायः न्यून छ । दशकौंदेखि राज्य सञ्चालनमा उही पात्र र उस्तै प्रवृत्ति दोहोरिरहेका कारण नेपाल कहिल्यै बन्दैन र नेपालमा केही हुँदैन भन्ने भाष्य युवामा विकास हुँदै गएकाले पनि ठूलो संख्यामा विदेशिने प्रवृत्ति देखिएको छ। यद्यपि, गन्तव्य मुलुकमा उपलब्ध हुने रोजगारीका अवसर, सेवा सुविधा र गुणस्तरीय जीवनको चाहनाका कारणसमेत नेपाली विद्यार्थीमा वैदेशिक अध्ययनप्रति आकर्षण बढ्दै गएको देखिन्छ।
विद्यार्थी पलायनको सम्भावित परिणाम
वैदेशिक अध्ययनका नाममा विद्यार्थी बाहिरिनु भनेको देशको प्रतिभा र विदेशी मुद्राको पलायन मात्र नभएर अन्ततः यो जनसांख्यिक र पुँजी पलायन समेत हो। युवा विद्यार्थी देशका ऊर्जा र उत्पादनका स्रोत हुन्। विगत १० वर्षको तथ्यांक हेर्दा प्रतिवर्ष विदेशिने विद्यार्थीको संख्या औसतमा ३२ प्रतिशतले वृद्धि हुँदै गएको छ।
आर्थिकरूपमा अति सक्रिय जनसंख्या यसरी बाहिर जाने क्रम बढ्दै गएमा सम्भावित दक्ष जनशक्तिका रूपमा हेरिएका अधिकांश युवा अबका केही वर्षमा स्वदेशी श्रम बजारमा पाइने छैनन्। यसबाट देशभित्र दक्ष श्रमशक्तिको अभाव भई यसै पनि न्यून रहको आन्तरिक उत्पादन अझै घट्ने र समग्र मागमा समेत कमी आउने सम्भावनालाई नकार्न सकिँदैन।
आर्थिकरूपले उत्पादनशील जनशक्ति घट्ने र निष्क्रिय जनसंख्याको अनुपात बढ्दै जाँदा आगामी दिनमा देशको परनिर्भरता अरू बढ्ने देखिन्छ। त्यस्तै, विदेशिएका अधिकांश विद्यार्थीको अन्तिम उद्देश्य स्थायीरूपले उतै बसोबास गर्ने भएकोले स्थायी बसोबास यकिन भएपश्चात् नेपालमा भएको आफ्नो सम्पत्ति बिक्री गरी त्यसबापत प्राप्त हुने रकम अनौपचारिक माध्यममार्फत गन्तव्य मुलुकमा लैजान सक्ने सम्भावनासमेत देखिन्छ।
अतः प्रतिभावान् विद्यार्थी पलायनबाट सुरु भएको नेपाली विद्यार्थीको वैदेशिक अध्ययनले प्रतिभा र विदेशी मुद्रा पलायन हुँदै अन्ततः देशको जनसांख्यिक संरचना परिवर्तन, पुँजी पलायन र दीर्घकालमा मुलुकको विकासमा गम्भीर असर पर्ने देखिन्छ। त्यसैले सार्वजनिक प्रशासन र व्यावसायिक वातावरणमा सुधार गरी थप आन्तरिक रोजगारीका अवसर सिर्जना अहिलेको आवश्यकता हो। देशभित्रै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउन सके मात्र अस्वाभाविकरूपमा भइरहेको विद्यार्थी पलायन रोक्न टेवा पुग्ने देखिन्छ।
(नेपाल राष्ट्र बैंकका उप-निर्देशक सुवेदीको लेख ‘नेपाल राष्ट्र बैंक समाचार’को भदौ अंकबाट साभार)