काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा सामाजिक, धार्मिक र राजनीतिक सद्भावका लागि अपिल गरेका छन्।
देउवाले शनिबार एक विज्ञप्ति जारी गरी केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त गर्दै धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन् ।
उनले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्याउन नमिल्ने बताएका छन्। ‘नेपालको हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको कसैले पनि भुल्नु हुँदैन’, विज्ञप्तिमा भनिएको छ।
देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको अनुकूल नहुने बताएका छन्।
‘यस्ता घटनाबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुईमत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।