विराटनगर। अहिलेकोे आर्थिक मन्दीलाई लिएर कतिपय उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीको आलोचना गर्दै आएकामा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भने बचाउ गरेका छन्। उनले अहिलेको मन्दीको कारण राष्ट्र बैंक र गभर्नर नभएको जिकिर गरेका छन्।
नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले विराटनगरमा गरेको कार्यक्रममा पूर्वमन्त्री डा. खतिवडाले राष्ट्र बैंक सरकारको निर्देशन, सुझाव र सल्लाहमा चल्ने संस्था भएको भन्दै गभर्नर अधिकारीको बचाउ गरेका हुन्।
उद्योगी व्यवसायीले चालु पुँजी कर्जा मार्गदर्शन र सात दिनसम्म ऋणलाई शून्य बक्यौतामा राख्नुपर्ने लगायत राष्ट्र बैंकले गरेका व्यवस्थाका कारण समग्र अर्थतन्त्र ओह्रालो लागेर मन्दीको अवस्थामा पुगेको बताइरहँदा पूर्वअर्थमन्त्री खतिवडाले यो स्थितिको दोष सरकारमाथि लगाएका छन्।
उनले अहिलेको अर्थप्रणाली राष्ट्र बैंकका कारण बिग्रिएको भन्नेहरुलाई सरकारले आयकर ऐनका दफा नै बिगारेर पुँजीगत लाभकरमा जथाभावी गरिरहेको हेर्नुभएको छ? भनी प्रश्न गरे। उनको थप प्रश्न छ, ‘मर्जर लगायत विषयमा आयकरका नियम जथाभावी राखेर गिजोलेको पनि राष्ट्र बैंकले नै हो ? निर्माण व्यवसायीको भुक्तानी नगरेको पनि राष्ट्र बैंकले नै हो र ? अनि राष्ट्र बैंकलाई मात्र किन एकोहोरो दोष?’
पूर्वअर्थमन्त्री खतिवडाले सरकारमाथि राष्ट्र बैंकको मनोबल खस्काउने काम गरेको र बोक्नेभन्दा धेरै भारी बोकाइरहेको आरोप लगाए। ‘सरकारमा बस्नेहरू राष्ट्र बैंकलाई उसले सक्ने खालकोभन्दा धेरै र गह्रौँ भारी बोक्न भन्छन्’, उनले भने, ‘अनि यो भएन र त्यो भएन भन्ने अपजस पनि दिन्छन्।’
राष्ट्र बैंकका कामकारबाहीमा सुधार आवश्यक रहेको चाहिं उनी आफैंले स्वीकार गरे। ‘हो, राष्ट्र बैंकका कामकारबाहीमा सुधार गर्नुपर्छ। तर सरकारले आफूभन्दा तलका निकायलाई दोष दिन पाउँदैन। सरकारमा बस्नेहरूले गुणदोषको भार आफूले बोक्नुपर्छ’, पूर्वअर्थमन्त्री खतिवडाले भने।
उनले ब्याजका हकमा राष्ट्र बैंकले केही कठोर नीति अपनाएको बताए। पहिले ७ प्रतिशतमा पाएको ऋणको ब्याज १४ प्रतिशत हुँदा ब्यालेन्स सिट बिग्रनु स्वाभाविक भएको उनको भनाइ छ। उनले भने, ‘अर्थमन्त्रीजीले एक दिन ब्याज घटाउने मिटिङ गर्नुभयो। तर भोलिपल्ट निक्षेपको ब्याज बढ्यो। निक्षेपको बढेपछि कर्जाको ब्याज बढ्ने भइगो। खासमा ऋणको ब्याज घटाउनुपर्थ्यो भने निक्षेपको पनि घटाउनुपर्थ्यो। निक्षेपको यथावत् राखेर कर्जाको मात्रै घट्दैन।’
पूर्वगभर्नरसमेत रहेका खतिवडाले राष्ट्र बैंकले मेहनत गर्ने हो भने १ देखि २ प्रतिशत ब्याज घटाउने ठाउँ रहेको औंल्याए। तर त्यसको मोडालिटीबारे उनले चर्चा गरेनन्।
खतिवडाले उद्योगी व्यवसायीमाथि सहज अवस्थामा चालु पुँजी कर्जाको दुरुपयोग गरेको आरोप लगाए। ‘कुनै समय चालु पुँजी कर्जा सहज हुँदा तपाईं उद्योगी व्यवसायीले त्यसबाट के–के गर्नुभयो? गम्भीरताका साथ स्मरण गर्नुपर्छ’, उनले भने।
चालु पुँजी कर्जामा उद्योगको उत्पादन, आपूर्ति र भुक्तानीचक्रको प्रकृति हेरेर नीति बनाउनुपर्ने उनको सुझाव छ। उनले कुनै उद्योगलाई कच्चा पदार्थ ल्याएर उत्पादन गरी बजारमा लगेर त्यसको भुक्तानी पाउन १८० दिनभन्दा बढी समय लाग्छ भने त्यस्तो उद्योगले २५ का सट्टा ५० प्रतिशत चालु पुँजी कर्जा पाउनुपर्ने बताए। ‘चालु पुँजी कर्जाका कारण उद्योग बन्द हुनु हुँदैन’, उनले भने, ‘उद्योग मरेर बैंक बच्तैन। बैंक चल्ने हो भने उद्योगमैत्री हुनैपर्छ।’
खतिवडाले उद्योगी व्यवसायीमाथि सहज अवस्थामा चालु पुँजी कर्जाको दुरुपयोग गरेको आरोप लगाए। ‘कुनै समय चालु पुँजी कर्जा सहज हुँदा तपाईं उद्योगी व्यवसायीले त्यसबाट के–के गर्नुभयो? गम्भीरताका साथ स्मरण गर्नुपर्छ’, उनले भने, ‘त्यही चालु पुँजी कर्जा बढी खुकुलो हुँदा घरजग्गामा धेरै लगानी भयो। आज त्यो लगानी फसेको छ, जोखिम छ र मूल्य घट्न सक्छ भन्दा सरकार र राष्ट्र बैंक के हेरेर बसे ?’
खतिवडाले सरकारले आर्थिक मन्दीको कारण घरजग्गा किनबेचमा कमी आएको ठानेर जग्गाको कित्ताकाट खुलाएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। बिजुली, ब्याज, डिजल, यातायात, ढुवानी, सुरक्षालगायत सबै क्षेत्र छोडी कित्ताकाट खोलेका भरमा अहिलेको समस्या समाधान नहुने उनको दाबी छ।
‘सरकारका तर्फबाट सबै समस्याको समाधान कित्ताकाट भनिएको छ। कित्ताकाट खोल्दा चालु पुँजी कर्जा कसरी पाउनुहुन्छ?’ प्रश्न गर्दै उनले बैंकको प्रिमियम पनि पारदर्शी र व्यवसायमैत्री हुनुपर्ने बताए।