
काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले आजबाट प्रिमियम मूल्यमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो।
कम्पनीको जारी पूँजी ५७ करोड २० लाख ६४ हजार छ। कम्पनीले यसको कुल २५ प्रतिशत सेयर निष्कासन गर्ने भएको हो। जसमध्य १० प्रतिशत सेयर कम्पनीले कास्कीका स्थानीयलाई बिक्री गरेको छ।
त्यस्तै, जारी पुँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँको ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुलाई बिक्री गरेको छ।
४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरमा आजबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १६ रुपैयाँ थप गरी ११६ रुपैयाँका दरले बिक्री गर्न लागेको हो। सर्वसाधारणले सोही मूल्यमा आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणले आजबाट भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा सेयर बिक्री नभए ढिलोमा भदौ १९ गतेसम्म समय थप गरिनेछ।
धितोपत्र निष्कासनको लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
गत चैत मसान्तको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र प्रति सेयर आम्दानी १३.९७ रुपैयाँ छ। चैतसम्म कम्पनीको सञ्चित नाफा ११ करोड ५४ लाख छ।
कम्पनीले ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको प्रवर्द्धन गरिरहेको छ। यसको कुल लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।