उपत्यकामा मेट्रो रेल बनाइदिन रसियालाई मन्त्रीको प्रस्ताव, ठोस प्रस्ताव भए सहयोग गर्ने आश्वासन

बिजमाण्डू
२०८० भदौ ४ गते १७:०६ | Aug 21, 2023
उपत्यकामा मेट्रो रेल बनाइदिन रसियालाई मन्त्रीको प्रस्ताव, ठोस प्रस्ताव भए सहयोग गर्ने आश्वासन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र रसियन अधिकारीबीचको छलफल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल बनाइदिन रसियासँग प्रस्ताव गरेका छन्। मन्त्री ज्वालाले सोमबार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग उपत्यकामा मेट्रो रेल रञ्चालनका लागि प्रस्ताव गरेका हुन्।

Tata
GBIME

मेट्रो रेलमा रसिया विश्व प्रख्यात मानिन्छ। रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन्। भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल सञ्चालन हुँदै आएको छ।

केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणअघि मेट्रो, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका अन्य विषयमा छलफल गर्न रसियन टोली मन्त्रालय पुगेको हो। रसियन टोलीले मेट्रो रेल निर्माणका लागि आफ्नो रेल्वे कम्पनी तयार रहेको जवाफ दिएको छ। त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए।

उनका अनुसार मेट्रो रेलका साथै पूर्वपश्चिम रेल र सुरुङ मार्गका बिषयमा पनि छलफल भएको थियो। छलफलमा रसियाले पोखरा–रिडी सडकबारे पनि चासो देखाएको थियो। रसियन अधिकारीको चासोलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको सहसचिव थापाले बताए।