हातले बनाइने नागका तस्विरले बजार पाएन, भक्तपुरमा यसरी मनाइयो नाग पञ्चमी

रोजन श्रेष्ठ
२०८० भदौ ४ गते ११:१९ | Aug 21, 2023
हातले बनाइने नागका तस्विरले बजार पाएन, भक्तपुरमा यसरी मनाइयो नाग पञ्चमी


काठमाडौं । आज देशभर नाग पञ्चमी मनाइँदैछ। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ।

Tata
GBIME

काठमाडौंमा अहिले भारतबाट आयात हुने नागका तस्विरहरु बिक्री हुने गरेका छन्। उपत्यकाका चित्रकारहरुले हातैले बनाउने नागको तस्विरले भने बजार पाउन सकेको छैन। हातैले बनाइने नागको चित्र महंगो हुने भएकाले त्यसको व्यापार फस्टाउन सकेको छैन।

भक्तपुरमा चित्रकारहरुले तयार पारेको नागको चित्रसँगै भारतबाट आयातित तस्विर बिक्रीमा राखिँदै

भक्तपुरको नागपोखरी वरिपरि बसोबास गर्दै आएका चित्रकारहरुले नाग पञ्चमी अघि देखि नै नागको चित्र तयार पार्छन्। तर थोरै संख्यामा मात्रै ती चित्रहरु बिक्री हुने गरेका छन्। बजारमा भारतबाट आयात हुने नागको चित्र ५ देखि १० रुपैयाँमा पाइन्छ। थोरै संख्यामा र हातैले बनाइने भएकाले चित्रकारहरुले बनाउने चित्र भने २० देखि ४० रुपैयाँसम्म पर्छ।

काठमाडौं र ललितपुरमा पनि हातले नागको चित्र बनाउने र रंग्याउने चित्रकारहरु छन्। तर पहिला जस्तै व्यापार नभएको उनीहरु बताउँछन्। बजारमा आउने मानिसहरुले पनि हातले बनाएको भन्दा टल्किने नागका तस्विरहरु रुचाउने गरेको व्यापारी बताउँछन्।

नाग पञ्चमीकै अवसरमा भक्तपुरस्थित नाग पोखरीमा बिहानैदेखि भक्तजनहरु दर्शन गर्न पुगेका थिए। पोखरीको मध्यभागमा रहेको नागको मूर्तिलाई दूधले आज अभिषेक गराइएको थियो। दही, अक्षता, फूल, दुबो, कपास राखी नागको पूजा गरिएको थियो।