५ वर्षपछि चीन प्रवेश गर्न ट्रक चालकले अनुमतिपत्र पाउँदै, अध्यागमनको पत्राचारले मजदुरलाई राहत

बिजमाण्डू
२०८० भदौ ३ गते १८:५८ | Aug 20, 2023
५ वर्षपछि चीन प्रवेश गर्न ट्रक चालकले अनुमतिपत्र पाउँदै, अध्यागमनको पत्राचारले मजदुरलाई राहत


काठमाण्डौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक र कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र प्रदान गर्ने सम्बन्धी कार्यविधि कार्यान्वयन हुने भएको छ। प्रवेश अनुमति पत्र उपलब्ध गराउन अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरेस्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेको छ।

Tata
GBIME
NLIC

रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्यविधि २०७६, भदौ २५ गते मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएको थियो। तर अहिलेसम्म पनि ट्रक चालक तथा सहचालकहरुले प्रवेश पत्र पाउन सकेका थिएनन्। जसकारण नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो।

महासंघ र संगठनका प्रतिनिधिहरुले असारयता लगातार अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीलाई भेटेर समस्या सुल्झाउन आग्रह गरेका थिए। विभागले नेपालस्थित चिनियाँ दूतावासका सेकेण्ड सेक्रेटरीसँग पनि छलफल गरेर चीनको भन्सार अधिकारीसम्म सो विषयको ध्यानाकर्षण गराएको थियो।

चीन यस विषयमा सकारात्मक देखिएपछि नाकामा पत्राचार गरिएको महानिर्देश अधिकारीले बताए।

गृह मन्त्रालय अध्यागमन शाखाले जारी गरेको कार्याविधि २०७६ मा चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ। उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था छ। तर यो व्यवस्था ५ वर्षदेखि कार्यन्वयन हुन सकेको थिएन।

कार्यविधि कार्यान्वयन नहुँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्‍याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर केरुङ लग्न १५ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था थियो।

यो निर्णयको कार्यान्वयनसँगै रसुवा र तातोपानी नाकाबाट सामान ढुवानी गर्ने करिब ३ हजार मजदुरहरुले राहत पाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए।