काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विकट गन्तव्यमा थप दुईवटा रुटमा वेबक्यामरा जडान गर्ने भएको छ। उडान सुरक्षालाई विस्तार गर्दै प्राधिकरणले पोखरा-जोमसोमपछि थप दुईवटा रुटमा वेबक्याम जडान गर्न लागेको हो।
प्राधिकरणले नौ महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौता अनुसार उसैले उत्पादन गरेको वेबक्याम जोड्न लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार प्राधिकरणले केन्द्रबाट उत्पादन भएको वेबक्याम काठमाडौं-लुक्ला ‘लामजुरा पास लगायत आवश्यक क्षेत्र’ र सिमिकोट क्षेत्रमा जडान गर्ने उनले बताए।
‘गत वर्ष राष्ट्रिय आविष्कार केन्द्रसँग भएको सम्झौता अनुसार पोखरा-जोमसोममा क्षेत्रमा वेबक्याम जडान गरिएको थियो। यसको प्रयोगले हवाई सुरक्षामा उल्लेख्य सहयोग पुगेका कारण हामीले लुक्ला, सिमिकोटसहित देशका विभिन्न हवाई रुटमा केन्द्रले बनाएको वेबक्याम जडान गर्न लागेका हौं,’ भुलले भने।
भौगोलिक जटिलता तथा मौसमी विविधतालाई मध्यनजर गर्दै नौ महिना अगाडि आविष्कार केन्द्र र क्यानको सहकार्यमा पोखरा-जोमसोमको भागमा पर्ने हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान प्रक्रिया सुरु भएको थियो।
गत बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन केन्द्रित छलफलमा नयाँ प्रविधि प्रयोगमा जोड दिइएको थियो। यता युरोपेली युनियनले पनि नेपाललाई हवाई सुरक्षा सुदृढिकरणका लागि नयाँ प्रविधि प्रयोगका लागि सुझाव दिँदै आएको छ।
करिब दुई वर्ष यता देशका दुर्गम क्षेत्रमा झण्डै आधा दर्जन हवाई दुर्घटना भइसकेका छन्। यो अवधिमा तारा एयर, सिम्रिक एयर, मनाङ एयर लगायत वायुसेवा कम्पनीको जहाज र हेलिकोप्टर दुर्घटना हुँदा भौतिक र मानवीय क्षति भइसकेको छ। अधिकांश दुर्घटना इनरुट वेदरकै कारण हुँदै आएको प्राधिकरणले जनाएको छ।
हाल नेपाली वायुसेवा (फिक्स्ड र रोटर विङ) कम्पनीले जहाज उडान गर्नुअघि दुईवटा एयरपोर्टको मौसम विवरण मात्र लिँदै आएका छन्।
यसरी एयरपोर्ट-एयरपोर्टको मौसम विवरणकै भरमा उडान गर्दा एयर रुटबीचबाटै जहाज डाइभर्ट हुँदै आएका छन्। वेदर क्यामरा जडान गरिएसँगै गन्तव्यको बीचको मौसम विवरण समेत लिन सकिने जनाइएको छ।
सुगम (ट्रंक) को तुलनामा विकट (स्टल) गन्तव्यमा यस्तो समस्या धेरै आउने गरेको प्राधिकरणले जनाएको छ। मौसमी प्रतिकूलताका कारण भैपरी आउने घटना/दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले वेबक्यामरा जडान गर्न लागिएको हो।
यसमा बुलेट क्यामरा प्रविधि प्रयोग गरिन्छ। इन्टरनेटको पहुँच भएको ठाउँमा राखएको क्यामरामार्फत वायुसेवा कम्पनीले उडान पूर्व लाइभ मनिटरिङ गर्न सक्ने जनाइएको छ।
विशेषगरी हेलिकोप्टरसँगै विकट गन्तव्यमा उडान गर्दै आएका फिक्स्ड विङ जहाज उडान अवतरणमा जोखिम न्यून गर्ने उद्देश्यले यो पूर्वाधार विस्तार गर्न लागिएको हो।