भरतपुर अस्पतालले निःशुल्क गर्‍यो अन्तरङ्गका ४०० शय्या, अन्य सेवामा न्यूनतम शुल्क कायम

बिजमाण्डू
२०८० भदौ २ गते ०७:४२ | Aug 19, 2023
भरतपुर अस्पतालले निःशुल्क गर्‍यो अन्तरङ्गका ४०० शय्या, अन्य सेवामा न्यूनतम शुल्क कायम
प्रतीकात्मक तस्विर।


भरतपुर। भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका ४ सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।

Tata
GBIME

अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए। उनले क्रिटिकल केयर (आइसीयू, सीसीयू, पीआइसीयू, एनआइसीयू), पोस्टअपरेटिभ वार्ड, क्याबिन, एचडीयू, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए।

अस्पतालमा हाल ६ सय शय्या सञ्‍चालनमा छन्। अस्पतालमा ओपीडी (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ। भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन्।

अस्पतालमा पछिल्लो समय दैनिक १ हजार ५ सयदेखि २ हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए। रासस