मन्त्री आचार्यको सय दिने उपलब्धि: प्रशिक्षण र कार्यशाला सञ्चालनदेखि हाते पुस्तिका निर्माण

बिजमाण्डू
२०८० भदौ १ गते १८:१५ | Aug 18, 2023
मन्त्री आचार्यको सय दिने उपलब्धि: प्रशिक्षण र कार्यशाला सञ्चालनदेखि हाते पुस्तिका निर्माण

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले सय दिनमा गरेका कामको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन्। मन्त्री आचार्यले प्रशिक्षण, कार्यशाला र सचेतना कार्यक्रम जस्ता नियमित रुपमा हुने गतिविधिलाई समेत आफूले गरेका कामको सूचीमा समावेश गरेका छन्।

Tata
GBIME
NLIC

उनले यो अवधिमा सात विषयमा नीतिगत र १३ विषयमा व्यावहारिक काम अगाडि बढाएको जनाएका छन्।

बालबालिका र गर्भवतीको उद्धार

प्रगति विवरणमा हराएका १ हजार ७४९ बालबालिकामध्ये १ हजार ६९४ बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको उल्लेख छ। यस्तै पछिल्लो सय दिनमा बेवारिसे फेला परेका ९२ बालबालिकामध्ये ५६ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ।

३० जना सडक बालिबालिका र विभिन्न कारणले जोखिममा परेका ४३० बालबालिकालाई उद्धार गरिएको मन्त्री आचार्यले बताएका छन्। मन्त्रालयले बाल संरक्षण तथा बालबालिकासम्बन्धी एकीकृत डिजिटल तथ्यांक व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। त्यस्तै यो अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४२ जना गर्भवतीको हवाइ उद्धार गरिएको छ।

उद्यमशिलता विकास प्रशिक्षण, वृद्धावस्था व्यवस्थापनका लागि प्रदेशमा स्याहार–सुसारसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यशाला विभिन्न ठाउँमा गरिनुलाई समेत मन्त्री आचार्यले आफ्नो कामको विवरणमा समेटेका छन्।

नीतिगत काम!

नीतिगत रुपमा धेरै काम गरेको मन्त्रीको दाबी छ। ज्येष्ठ नागरिक नीति, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै अपाङ्गता हेरचाहसम्बन्धी आधारभुत तालिम सञ्चालन स्रोत पुस्तिका र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा संचालन सम्बन्धी कार्यविधिको मस्यौदा निर्माणलाई समेत कामको सूचीमा राखिएको छ। यी कामका लागि मन्त्री चाहिंदैन। मन्त्रालयले नियमितरुपमा गर्ने गतिविधिभित्रै पर्छन्।

मन्त्री आचार्यले महिला विकास कार्यालय खारेजीपछि जिल्ला तहमा विच्छेद भएको मन्त्रालयको सम्बन्ध जोड्ने उपायस्वरुप जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई सम्पर्क विन्दु तोक्ने निर्णयलाई समेत आफूले गरेका कामको सूचीमा राखेका छन्।