काठमाडौं। अघिल्लो बर्ष लगातार १४ महिना ऋणात्मक रहेको शोधनान्तरले यसपाली ऐतिहासिक उचाइ लिएको छ। शोधनान्तर बचत हालसम्मकै उच्च पुगेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक बर्षको तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब ९० अर्ब ५२ करोड पुगेको जनाएको छ। यसअघि आर्थिक बर्ष २०७६/७७ मा उचाइमा थियो। त्यो बेला २ खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ बचत थियो।
त्यसलाई पनि यस बर्ष उछिनेको हो। आर्थिक बर्ष २०७५/७६ मा चालु खाता घाटामा थियो। गत भदौ महिनासम्म पनि शोधनान्तर घाटामा थियो।
नेपाली रुपैयाँमा हिसाब गर्दा बिदेशी मुद्राको सञ्चितिमा एकै महिनामा ५८ अर्ब रुपैयाँको सुधार देखिएको छ। असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो पनि ऐतिहासिक उच्च हो। २०७७ कात्तिकमा १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेकव विदेशी मुद्राको सञ्चिति त्यसपछि क्रमश घटेको थियो।
चालु खाता घाटा ७२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। तर पोहोरसँग तुलना गर्दा भने यो निक्कै कम हो। ६ खर्ब रुपैयाँमाथि चालु खाता घाटा थियो।
असार महिनामा मात्रै एक खर्ब ८ अर्ब ४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक बर्षभरी १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको छ। असारमा भित्रिएको रेमिटेन्स पनि अहिलेसम्मको उच्च हो।