चार दशकपछि कम्बोडियाको सत्तामा पुस्तान्तरण: ३८ वर्ष बाबुको शासन, अब छोरा बन्दैछन् प्रधानमन्त्री



विधुर ढकाल
२०८० साउन ३१ गते १२:२५ | Aug 16, 2023
चार दशकपछि कम्बोडियाको सत्तामा पुस्तान्तरण: ३८ वर्ष बाबुको शासन, अब छोरा बन्दैछन् प्रधानमन्त्री

बेइजिङ। कम्बोडियामा लगातार चार दशकसम्म सत्ता सम्हालेका हुन सेन सत्ताबाट स्वैच्छिक रूपमा बाहिरिन लागेका छन्। जेठा छोराको नेतृत्वमा कान्छो छोरा र भतिजालाई वरिष्ठ भूमिकामा राखेर उनले गत बिहीबार नयाँ सरकारको चित्र प्रस्तुत गरेका हुन्।

Tata
GBIME
Zonsen

हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले जुलाईमा भएको चुनावमा तल्लो सदनका १२५ मध्ये पाँच १२० सिट जितको थियो।

विश्वकै सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले झण्डै चार दशक लामो शासनपछि आफूले पदबाट राजीनामा दिने र आफ्ना जेठा छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए।

सन् १९८५ को जनवरी १४ मा प्रधानमन्त्रीको रुपमा हुन सेनले पदभार ग्रहण गरेका थिए र उनी विश्वकै सबैभन्दा लामो समय पदमा टिकेका प्रधानमन्त्रीमध्ये एक हुन्। अगष्ट २२ मा औपचारिक रूपमा आफ्नो उपाधि हस्तान्तरण गर्दा उनी साढे ३८ वर्षदेखि सत्तामा रहनेछन्। उनका जेठा छोरा डा. हुन मानेटले अगस्ट २२ मा यो जिम्मेवारी सम्हाल्ने छन्।

अगष्ट ७ मा राजा नोरोडोम सिहामोनीले भावी प्रधानमन्त्री हुन मानेटको नियुक्तिलाई अनुमोदन गर्ने र २१ अगष्टमा संसदीय अनुमोदनका लागि नयाँ मन्त्रिपरिषद् गठन गर्न अनुमति दिने शाही आदेशमा हस्ताक्षर गरेका थिए।  

भावि प्रधानमन्त्रीको रुपमा आदेश जारी गरेको भोलिपल्ट नै हुन मानेटलाई राजा नोरोडोमले नयाँ सम्मान प्रदान गरेका छन्।

राजाले उनलाई रोयल अकेडमी अफ कम्बोडियाको ‘किट्टी तेसापिबल ब्यान्डिट (अनररी गभर्नर डकर्ट्रेट)’को पद नयाँ पद दिएका छन्।

एक चिकित्सकको रूपमा, हुन मानेट रोयल एकेडेमीका सदस्य हुन् र अब ‘किट्टी तेसापिबल ब्यान्डिट’ को विशिष्ट पदवी बोक्ने एक मात्र व्यक्ति हुन्।

प्रधानमन्त्री हुन सेन सन् २०२४ मा कम्बोडियाको सर्वोच्च परिषद्को अध्यक्ष र सिनेटको अध्यक्षका रूपमा कम्बोडियाको राजनीतिमा एक महत्वपूर्ण व्यक्ति का रूपमा आफ्नो भूमिकालाई अगाडि बढाउने छन्।

हुन सेनले प्रधानमन्त्रीको रुपमा भावी प्रधानमन्त्री र भावी सम्भावित सरकारका मन्त्रीहरुसँग बिहीबार छलफल गरेका छन्। उनले आफ्ना छोरालाई कम्बोडियाको लागुऔषध विरुद्धको लडाइमा सामेल हुन आग्रह गरेका छन्।

नयाँ बन्ने क्याबिनेटमा हुन सेनको पारिवारिक उपस्थिति पनि बलियो हुने छ।  हुन सेनका कान्छा छोरा हुन मेनी पनि सरकारमा हुनेछन्। उनले लोक सेवा मन्त्रालयको जिम्मेवारी पाउने छन्।

त्यस्तै आन्तरिक मामिला तथा रक्षा मन्त्रीका छोराले आफ्नो बाबुको स्थान लिनेछन्। हुन सेनका कान्छा भतिज नेथ साभोइउन उपप्रधानमन्त्रीको रुपमा सरकारमा आउनेछन्। उनी हाल नेशनल पोलिसका प्रमुख छन्।

यसैबीच जाँदा जाँदै हुन सेनले एउटा परम्परालाई तोड्दै त्यहाँको राष्ट्रिय सभाको अध्यक्षमा महिलालाई खडा गरेका छन्। सातौँ राष्ट्रिषयसभाको अध्यक्षमा नियुक्त गरेका छन्।

हाल राष्ट्रिय सभाको दोस्रो उपाध्यक्ष खुओन सुदरीलाई आगामी अध्यक्षमा अगाडि सारेका छन्।

सेनाका शक्तिशाली कमान्डर हुन मानेत

प्रधानमन्त्रीको रुपमा अगाडि सारिएका हुन मानेत रोयल कम्बोडियन आर्म फोर्सका डेपुटी कमाण्डर इन चिफ हुन्।  त्यस्तै उनी रोयल कम्बोडियन आर्मीका कमाण्डर पनि हुन्। प्रधानमन्त्री हुन सेनका जेठा छोरा उनले सन् १९९५ मा सेनामा भर्ती भएका थिए। सोही वर्ष उनी अमेरिकी मिलिटरी अकेडेमीमा भर्ना भइ डिप्लोमा हासिल गरे। सन् २०११ को जनवरीमा मेजर जनलर रोयल कम्बोडियन आर्मीको डेपुटी कमाण्डर र रोयल कम्बोडियन आर्म फोर्स जोइन्ट स्टाफको उपप्रमुख भएका थिए। २०१३ मा लेफ्टिनेन्ट जनरल हुँदै २०१८ मा चारतारे जनरलको रुपमा रोयल कम्बोडियन आर्म फोर्सको डेपुटी कमाण्डर इन चिफको रुपमा नियुक्त भएका थिए। उनका कान्छा भाइ हुन मानियत पनि त्यहाँको सेनाको ब्रिगेडियर जनरल छन्।

देशको राजनीतिमा उतार्ने गरी प्रधानमन्त्री हुन सेनले सन् २०१८ को निर्वाचन अगाडि जेठा छोरा हुन मानेतलाई सनाको उच्च तहमा पुर्‍याएका थिए। त्यसको दुई वर्ष पछि हुन कम्बोडियन पिपल्स पार्टीको युवा मोर्चाको प्रमुखमा नियुक्त भएका थिए।

२०२१ डिसेम्वरमा भएको कम्बोडियन पिपल्स पार्टीको केन्द्रीय कमिटीको बैठकले उनलाई २०२३ को निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा खडा गर्ने निर्णय गरेको थियो।  सार्वजनिक राजनीतिक छवि नभएका र प्रधानमन्त्रीको रुपमा आफूलाई अगाडि नसारेका उनलाई सीपीपीको केन्द्रीय कमिटी, हुन सेनको क्याविनेटका मन्त्रीहरुले उनलाई बलियो समर्थन दिएका छन्।

यद्यपि उनी प्रधानमन्त्रीको रुपमा रहे पनि पर्दापछाडि बाट हुन सेनले नै सत्ता चलाउने बताइएको छ। २०२८ सम्म वास्तविक सत्ता हस्तान्तर नहुने र त्यतिवेलासम्म हुन मानेतलाई सत्ता सञ्चालनमा पोख्त बनाउने हुन सेनको लक्ष्य रहेको छ। त्यसैले त हुन सेनले कम्बोडियाको सर्वोच्च परिषद् र सिनेटको अध्यक्षको रुपमा आफूलाई राखेका छन्।

त्यतिमात्र होइन यो सिनेटमा उनको क्याविनेटका आन्तरिक मामिला मन्त्री सरखेङ, राष्ट्रिय सभाका अध्यक्ष हङ समरिन र रक्षा मन्त्री टेइ बन्हले साथ दिनेछन्। र उनीहरुको स्थानमा नयाँ अनुहारले स्थान पाउने छन्। त्यस्तै त्यहाँको केन्द्रीय बैंकको पनि नेतृत्व परिवर्तन हुँदै छ। हालकी डेपुटी गभर्नर चिय सेरीले आफ्ना पिता चिय चान्टोलाई प्रतिस्थापन गर्नेछन्। चान्टो सन् १९९८ यता त्यहाँको गभर्नर थिए। 

नयाँ सरकारको विदेश नीति कस्तो हुन्छ?

हुन मानेतले न्युयोर्कको वेस्ट पोइन्टस्थित युनाइटेड स्टेट्स मिलिटरी एकेडेमीमा अध्ययन गरेको र बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलबाट अर्थशास्त्रमा विद्यावारिधि गरेको तथ्यले कम्बोडियाको विदेश नीति पश्चिमतिर ढल्केको हुन सक्ने टिप्पणीहरुसमेत अन्तर्राष्ट्रिय सञ्चार माध्मयले प्रस्तुत गर्न थालेका छन्। अर्कोतर्फ उनका एक छोरा अमेरिकी नागरिकसमेत हुन्। सन् २०१८ मा प्रधानमन्त्री हुन सेनले अमेरिकामा जन्मिएका आफ्ना नातीलाई अमेरिकी नागरिक नबन्न आग्रह गरेका थिए। अमेरिकासँग सम्बन्ध असल नभएका हुन सेनले त्यतिबेला भनेका थिए- ‘अब म मेरो नातिबाट अमेरिकी नागरिकता त्याग्ने बाटो खोजिरहेको छु किनभने सम्भवतः अमेरिकाले केही देशसँग युद्ध गर्नेछ र मेरो नातिलाई अमेरिकी सैनिक बन्न आवश्यक पर्नेछ,’ उनले भनेका थिए।

यसबाट पनि हाल हुन सेन नेतृत्वको कम्बोडियासँग अमेरिका तथा पश्चिमा देशको सम्बन्ध खासै राम्रो छैन। कम्बोडिया चीनसँग नजिक हुँदै छ। त्यसैले त यसै साता नयाँ सरकार बन्नु अगाडि चिनियाँ उच्च कूटनीतिज्ञ तथा विदेश मन्त्री वाङ यी शनिवार कम्बोडिया पुग्दै छन्।

कम्बोडियामा रहँदा उनले राजा नोरोडोम सिहामोनीसँग शाही दरबारमा शिष्टाचार भेट गर्नुका साथै प्रधानमन्त्री हुन सेन र भावी प्रधानमन्त्री हुन मानेटसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने त्यहाँको विदेश मन्त्रालयले जनाएको छ।

चीनसँग नजिक रहेको कम्बोडियासँग सम्बन्धलाई सुधार गर्न अमेरिका पनि चाहन्छ। हुन मानेत प्रधानमन्त्री बन्दा त्यसका लागि अमेरिकाले प्रयास गर्न सक्नेछ। यद्यपि कम्बोडियाको विदेश नीति नेताको अध्ययन स्थल र नेताको चासो भन्दा पनि सिद्धान्तका आधारमा तय हुने त्यहाँको रोयल अकेडमी अफ इन्टरनेसनल रिलेसनका महानिर्देश तथा किन फेयाले एक आलेखमा लेखेका छन्।

‘देशको विदेश नीतिका मार्गदर्शक सिद्धान्तहरु नेताको शैक्षिक पृष्ठभूमिमा आधारित छैनन्। तर, संविधानको धारा ५३ मा आधारित छन्। जसले कम्बोडियाको स्थायी तटस्थता, असंलग्नता र शान्तपूर्ण सहअस्तित्व प्रतिको प्रतिवद्धतालाई पुष्टि गर्दछ,’ उनले लेखेका छन्।

त्यतिमात्र नभई सत्तारुढ सीपीपीले आफ्नो घोषणा पत्रमा आगामी पाँच वर्षको देशको विदेश नीतिका सिद्धान्तहरु तय गरेको छ। यस आधारमा देशको विदेश नीति चल्ने छ। सीपीपीले विदेशी शक्तिको अस्वीकार गर्दै कम्बोडियामा विदेशी सैन्य उपस्थितिलाई निषेध गर्ने कुरा उल्लेख छ।

अर्कोतर्फ चीनको बीआरआइको सदस्य कम्बोडियाको साशानबाट हुन सेनको पूर्ण बहिर्गमन पनि भइसकेको छैन। हुन सेनले यसै वर्ष बेइजिङको औपचारिक भ्रमणका क्रममा आफ्ना छोरा हुन मानेतलाई राष्ट्रपति सिसँग परिचय गराएका थिए। त्यहाहँको पानासास्त्रा विश्वविद्यालयका प्रध्यापक सन किम पनि हुन मानेतको कार्यकालमा विदेश नीतिमा ठूलो परिवर्तन हुने सम्भावना देख्दैनन्। यद्यपि उनले वासिङटनसँगको कटुतामा भने कमी ल्याउन सक्ने बताएका छन्।

सत्ता हस्तान्तर भन्दा पनि पुस्तान्तरण भएकोमा विदेश नीतिमा परिवर्तन हुने सम्भावना देखिँदैन।