काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित नयाँ भवनमा पुगेका पर्यटन मन्त्री सुदन किरातीले मुलुकलाई तत्काल यूरोपेली युनियनको सुरक्षा सूचीबाट हट्ने गरि काम गर्न निर्देशन दिएका छन्।
प्राधिकरणको भवन अवलोकन गर्दै उनले कर्मचारीहरुलाई दत्तचित्त भएर काम गर्न भनेका हुन्।
‘इयुको सुरक्षा सूचीबाट मुलुकलाई हटाउनका लागि आफ्नोतर्फबाट दत्तचित्त भएर काम गर्नुहोस्। यसलाई आफ्नो जीवनकालमै उत्कृष्ट कामको रुपमा लिनुहोस्,’ उनले भने।
नेपालको हवाई सुरक्षा अध्ययनका लागि युरोपेली युनियनका प्रतिनिधि आगामी नोभेम्बरमा नेपाल आउन लागेको सन्दर्भलाई जोड्दै मन्त्री किरातीले कर्मचारीहरुले उत्कृष्ट काम गरी इयूको सुरक्षा सूचीबाट नेपाललाई हटाउनका लागि भूमिका निर्वाह गर्न भनेका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार इयूका प्रतिनिधि आउँदो नोभेम्बरमा स्थलगत अध्ययन अवलोकनका लागि आउँदैछन्। ‘उपमहानिर्देशक नवीना कर्माचार्यको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ। विभिन्न सात क्षेत्रबारे अध्ययन सुरु भइसकेको छ,’ उनले भने।
सन् २०१० र २०१२ का बीच नेपालमा भएका पाँच हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका थिए। उक्त घटनाका आधारमा युरोपेली युनियनले नेपाललाई हवाई सुरक्षा सूचीमा राख्दै आएको छ।
करिब एक वर्षअघि युरोपेली युनियनले हवाई सुरक्षा सूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न अनिवार्य नरहेको जनाइसकेको छ।