निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा आधाले घट्यो शिवम् सिमेन्टको नाफा, कस्तो छ ब्यालेन्ससिट?

बिजमाण्डू
२०८० साउन ३० गते ११:३५ | Aug 15, 2023
निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा आधाले घट्यो शिवम् सिमेन्टको नाफा, कस्तो छ ब्यालेन्ससिट?


काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा आधाभन्दा धेरैले घटेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा यस्तो देखिएको हो।

Tata
GBIME

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ५० प्रतिशतभन्दा धेरै अर्थात ५६.२० प्रतिशतले घटेको हो।

आर्थिक मन्दीका कारण अहिले समग्र सिमेन्ट उद्योको व्यापार घटेको छ। व्यापार घट्दा बिक्रीबाट हुने आम्दानी खस्किएसँगै कम्पनीको नाफामा पनि कमी आएको हो। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म कम्पनीको संचालन आम्दानी ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। यसका साथै कम्पनीको कुल आम्दानी घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको तुलनामा कुल आम्दानी १४.३५ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेर ६.८७ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १५.६७ रुपैयाँ थियो। कम्पनीको प्रति सेयर नेटवर्थ २०६.२३ रहेको छ ।