नारायणीको जल सतह अझै सतर्कता तहमाथि, नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

रासस
२०८० साउन २९ गते ०८:२६ | Aug 14, 2023
नारायणीको जल सतह अझै सतर्कता तहमाथि, नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
फाइल फोटो।

भरतपुर। नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ। जल तथा मौसम विभागका अनुसार आज बिहान ५:५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ।

Tata
GBIME
Nepal Life

आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर छ।

देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ।