पहिलो दिनै घोराहीको सेयर सर्किट लागेर घट्यो, नेपाल इन्स्योरेन्सको साढे ५८ करोड सेयर कसले बेच्यो?

बिजमाण्डू
२०८० साउन २८ गते १५:४५ | Aug 13, 2023
पहिलो दिनै घोराहीको सेयर सर्किट लागेर घट्यो, नेपाल इन्स्योरेन्सको साढे ५८ करोड सेयर कसले बेच्यो?


काठमाडौं। घोराही सिमेन्टको सेयर कारोबारमा आएको पहिलो दिनै सर्किट लागेर घटेको छ। 

Tata
GBIME

ओपनिङ रेन्जको माथिल्लो सीमा पुग्न नपाउँदै कम्पनीको सेयरमा भारी गिरावट आयो। आइतबार कम्पनीको सेयर मूल्य ५६५.५ रुपैयाँसम्म पुग्यो। तर लगत्तै बिक्रेता हावी हुँदा मूल्य ५६.५ रुपैयाँले खस्कियो। 

नेप्से सूचक १४.८१ अंकले बढेपनि कम्पनीको सेयरमा भारी गिरावट आयो। नेप्सेले कम्पनीको ओपनिङ रेन्ज २२६.६१ देखि ६७९.८३ रुपैयाँ तय गरेको थियो। सँगै सूचीकृत भएका थ्री स्टार र अप्पर स्याङ्गे हाइड्रो दुवैमा सकारात्मक सर्किट लागेको छ। 

गिरावटले गर्दा आज दोस्रो सबैभन्दा बढी किनबेच भएको सेयर घोराही सिमेन्टको हो। कम्पनीको २३ करोड १५ लाखको सेयर किनबेच भयो। कुल कारोबार रकम पनि ह्वात्तै बढेर ३ अर्ब नाघेको छ।

तर आइतबार सबैभन्दा बढी किनबेच भएको नेपाल इन्स्योरेन्सको संस्थापक रह्यो। १९ लाख ४८ हजार ५३९ कित्ता सेयर खरिद बिक्री भएको छ। ३०० रुपैयाँको दरले किनबेच भएको छ।

साविक संस्थापक आइएमई ग्रपले बिक्री गरेको सो सेयर एसियन लाइफ इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्ट फाइनान्स लगायतले खरिद गरेका छन्। कुल ५८ करोड ४५ लाख रुपैयाँको कारोबार भयो।

गत साउन ८ देखि १५ गतेसम्म नेपाल इन्स्योरेन्सको सो संस्थापक सेयर बोलकबोलमार्फत बिक्री भएको थियो।