
काठमाडौं। दोलखाको मेलुङ गाउँपालिकाका दिनेश कोइराला अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा दिन बिताइरहेका छन्। उनको उमेर जतिकै अदालतमा दर्ता भएका मुद्दाको संख्या पुग्न लगेको छ।
३५ वर्षीय दिनेशविरुद्ध पाँच वर्षमा बैंकिङ कसुरका २० वटा मुद्दा दर्ता भएका छन्। सबै मुद्दाहरू काठमाडौंबाट नै चलेका छन्।
उनी काठमाडौंको भाटभटेनीस्थित राधादेवी ग्रुप कम्पनीका सञ्चालकसमेत हुन्। विभिन्न मितिमा उनले सेवाको नाममा गरेको कारोबारमा चेक दिने गरेका थिए। तर कुनै पनि चेकमा रकम नभएपछि उनी पटक-पटक बैंकिङ कसुरको मुद्दा खेपिरहेका छन्।
२०६७ माघ ४ गते पहिलो पटक उनलाई ठगी मुद्दा लाग्यो। जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय हुँदै मुद्दा दायर गरेको थियो।
त्यसपछि भने उनका प्राय केस बैंकिङ कसुरमा जोडिएको छ। साउन २४ गते फेरी उनलाई परिसरले पक्राउ गरेर बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ।
‘साथमा चेक राख्ने अनि मानिसलाई बैंक खातामा रकम नभएको चेक दिँदै ठगी गर्ने गरेको देखियो। उसको बैंकिङ कसुरको फेहरिस्त लामो छ,’ परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने।
त्यसो त पक्राउ परेको दुई महिना अगाडि अर्थात जेठ २८ गते पनि उनीविरुद्ध बैंकिङ कसुरमा नै मुद्दा दायर भएको थियो। २०७५ जेठ २८ गते जनसेवा वृत्तले बैंकिङ कसुरमा मुद्दा चलाएको छ। उनीविरुद्ध कालीमाटी, मालिगाउँ वृत्तमा धेरै मुद्दा चलेको देखिएको छ।
२०७६ पुसमा प्रहरी वृत्त मालिगाउँ, २०७६ फागुनमा प्रहरी वृत्त महाराजगंज, २०७७ फागुन मा प्रहरी परिसर काठमाडौंबाट अदालतमा मुद्दा पुगेको देखिन्छ।
पछिल्लो समय कोइरालाविरुद्ध करिब ३ करोड रुपैयाँ बराबरको ठगी गरेको उजुरी परेको छ। उनीविरुद्ध पर्ने उजुरीको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ।