एफक्यानको आन्दोलनमा भारतीय व्यवसायीको समर्थन, आज सडक र सिंचाइ विभागमा तालाबन्दी

बिजमाण्डू
२०८० साउन २८ गते ०९:२४ | Aug 13, 2023
एफक्यानको आन्दोलनमा भारतीय व्यवसायीको समर्थन, आज सडक र सिंचाइ विभागमा तालाबन्दी
फाइल फोटो।


काठमाडौं। लामो समयदेखि आन्दोलनरत नेपाली निर्माण व्यवसायीहरुलाई भारतीय निर्माण व्यवसायीहरुले पनि पूर्ण रुपमा समर्थन गरेका छन्।

Tata
GBIME

शनिबार बिल्डर्स एसोसिएसन अफ इन्डिया (बीएआई) ले नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)लाई पत्रचार गर्दै उनीहरुको आन्दोलनमा आफूहरुको पूर्ण सहयोग रहेको बताएको हो। बीएआईले उक्त पत्रमा नेपाल सरकारले निर्माण व्यवसायीको भुक्तानी रकम र सिमेन्ट, स्टिल र बिटुमिनको मूल्यवृद्धिको मूल्य समायोजन लगायत अन्य समस्या समाधानको मागसहित गरिएको आन्दोलनमा बलियो सहयोग रहेको जनाएको छ।

यसको भारतमा २२० वटा शाखाहरु छन् भने १ लाख ५० हजार आयोजनाहरुमा काम गर्ने निर्माण व्यवसायीहरु यसमा सदस्य छन्। बीएआईले नेपाली निर्माण व्यवसायीहरुले भोग्‍नु परेको समस्याको समाधानका लागि सरकारलाई दबाब दिन र निर्माणको क्षेत्रमा देखिएका सबै ठाउँहरुको सुधारमा चासो राखेको बताएको छ।

निर्माण व्यवसायीहरु काम सम्पन्‍न भएका आयोजनाहरुको भुक्तानी लगायत अन्य ९ वटा मागहरु राखेर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। उनीहरुले पहिलो र दोस्रो चरणको आन्दोलनमा डोजरहरु तेर्स्याएर प्रधानमन्त्री निवास र संसद् भवन अगाडि आन्दोलन गरेका थिए।

तर यसरी आन्दोलन गर्दा पनि सरकारले वास्ता नगरेपछि उनीहरु आजबाट सडक विभाग र सिंचाइ विभागमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिने भएका छन्।