भियतनामी खाना मात्र पाइने ‘फ ९९’, तेल र मसलाविनैको परिकारमा नेपाली ग्राहक लोभिंदै

वसन्तराज उप्रेती
२०८० साउन २७ गते १८:०६ | Aug 12, 2023
भियतनामी खाना मात्र पाइने ‘फ ९९’, तेल र मसलाविनैको परिकारमा नेपाली ग्राहक लोभिंदै

काठमाडौं। दुई दशक अगाडिसम्म रेष्टुरेण्ट ‘हब’का रुपमा ठमेल र झम्सीखेल मात्र स्थापित थिए। तर पछिल्लो समय काठमाडौंका सबैजसो चोक रेष्टुरेण्टले भरिएका छन्। त्यति मात्र होइन विभिन्न करिडोरमा पनि रेष्टुरेण्टकै बोलवाला छ।

Tata
GBIME
Nepal Life

रेष्टुरेण्टका आआफ्नै विशेषता छन्। खानाको स्वाददेखि आतिथ्यता अलग अलग छ। मःमः, चाउमिन, पिजा लगायत कतिपय खानेकुरा रेष्टुरेण्टहरुको साझा मेनु हो।

कतिपय रेष्टुरेण्ट नेपाली रैथाने परिकारका लागि परिचित छन् भने कतिपयले विदेशी स्वादमा रमाउनेलाई सेवा दिंदै आएका छन्। कुनै एउटा देशको मात्र स्वाद पाउने रेष्टुरेण्ट भने सीमित छन्। तिनैमध्येको हो, काठमाडौंको लाजिम्पाटस्थित फ नाइन्टी नाइन (फ ९९)।

यो एक दशक पुरानो रेष्टुरेण्ट हो। यसले भियतनामी परिकार मात्र बिक्री गर्दै आएको छ। ‘फ ९९’ स्वस्थकर परिकार मात्र होइन आतिथ्यताका कारण पनि परिचित छ।

रेष्टुरेण्टमा सुरुमा नेपालमा काम गर्ने अमेरिकी नागरिक मात्र जान्थे। तर पछिल्लो समय उसका धेरै ग्राहक नेपालीहरु भएको सञ्चालक नवीन सारुले बताए। रेष्टुरेण्टले परिकार बनाउन प्रयोग हुने अधिकांश खाद्यान्न भियतनामबाटै मगाउँछ।

‘हामीले सर्भ गर्ने परिकार भियतनामको दक्षिण प्रान्त अन्तर्गतको हो। जुन अलिक गुलियो हुन्छ,’ उनले भने, ‘अब उत्तरी प्रान्तको रेसिपी पस्किने योजनामा छौं जुन स्पाइसी हुन्छ।’

रेष्टुरेण्टको रेसीपी उनकी श्रीमती वी सी वाओले तयार गर्दै आएकी छन्। १ सयभन्दा बढी परिकारको सेवा दिँदै आएको रेष्टुरेण्टमा ग्राहकले परिकार अनुसार २५० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म तिर्नुपर्छ।

सस्तोमा स्वास्थ्यवर्धक परिकार

अन्य देशका परिकारको तुलनामा भियतनामी परिकार सस्तो भएको सञ्चालक सारुको दाबी छ। ‘भियतनामी परिकारमा तेल र मसला प्रयोग गरिंदैन, अधिकांश परिकार सुपयुक्त हुन्छ। वनस्पतिमार्फत स्वाद तयार गरिएको हुन्छ,’ सञ्चालक सारुले भने, ‘त्यसैकारण भियतनामी परिकारको माग अन्तर्राष्ट्रियस्तरमै राम्रो छ।’ उनका अनुसार परिकारमा प्राय: लेमनग्रास र अदुवाको प्रयोग धेरै हुन्छ।                 

आतिथ्यतामा विशेष जोड

दक्षिण पूर्वी क्षेत्रका अधिकांश मुलुक आतिथ्य सत्कारमा धनी मानिन्छन्। ‘खानेकुरा सेवा सत्कारमा भियतनामीहरु एकदम अब्बल छन्। आतिथि सत्कारबाट ग्राहकको मन थप जित्न सकिन्छ भनेर मैले यो रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हुँ,’ उनले भने।

रेष्टुरेण्टले सबै वर्गका ग्राहकलाई उही किसिमको आतिथ्यता प्रदान गर्छ। ‘टाइ सुट लगाएको होस् या चप्पल लगाएर आउने पाहुना, हाम्रा लागि सबै भगवान हुन्,’ उनले भने, ‘कसैलाई काखा कसैलाई पाखा नगरी सेवा दिन्छौं।’

सारुले सुरुमा आतिथ्यता र भियतनामी परिकारको स्वाद दिन महाराजगन्जमा अपस्टेयर क्याफे संचालनमा ल्याए। करिब दुई वर्षमा सडक विस्तार गर्ने क्रममा स्थानान्तरण गर्नुपर्ने भयो। त्यसपछि उनले ठाउँ मात्र फेरेनन्, रेष्टुरेण्टको नाम नै परिवर्तन गरेर ‘फ ९९’ राखे।

रेष्टुरेण्टमा किन भियतनामी परिकार मात्र ?  

पहिचान र गुणस्तरलाई निरन्तरता दिन भियतनामी बाहेकका परिकार नराखेको रेष्टुरेण्टको भनाइ छ। ‘सबै किसिमका परिकार राख्दा क्वालिटी कन्सिस्टेन्सी कायम गर्न असहज हुने भएकाले हामीले भियतनामी परिकार मात्र राखेका हौं। एउटै भान्सामा एउटै देशका मात्र परिकार तयार गर्दा एकरुपता आउँछ नि,’ सारुले भने।

अनौठो नामको कारण

भियतनामी भाषामा ‘फ’ भनेको सिग्नेचर डिस हो भने ९९ चाहिँ सञ्चालक सारुको भाग्यशाली अंक। यसबाट रेष्टुरेण्टको नामकरण दिइएको उनले बताए। ९९ अंकले उत्कृष्टको संज्ञा दिन्छ। भियतनामी संस्कृतिमा कुनै पनि व्यवसाय सुरु गर्दा नाम अंकमा राख्ने चलन छ। खासमा सम्झन सजिलो होस् भन्ने हो। यसरी रेष्टुरेण्टको नाम फ ९९ रहन पुगेको हो।

राइस नुडल, राइस पेपर, सी फुड, फिस सस, कफी, बार्बीक्यु पोर्क रिब्स बढी चल्ने परिकार हुन्। परिकारमा केन्द्रित रेष्टुरेण्टले मदिरालाई भने प्राथमिकतामा राखेको छैन। हाल लन्च र डिनर सेवा दिँदै आएको रेष्टुरेण्ट निकट भविष्यमा ब्रेकफास्ट सेवा दिने योजनामा छ।

रेष्टुरेण्टमा अहिले एक पटकमा १३० जनाले सेवा लिन सक्छन्। उसले काठमाडौंको बौद्ध र ललितपुरको झम्सीखेलमा पनि आउटलेट बिस्तार गरेको छ।

के के छन् आकर्षक परिकार ?

‘फ’ अर्थात भियतनामी राइस नुडल। यसमा सुप प्रयोग गरिन्छ। सुप तयार पार्न मात्र ५ घण्टा लाग्छ। सुपमा विभिन्न मासु पनि प्रयोग गरिन्छ। रेष्टुरेण्टले शाकाहारीका लागि ‘ब्रथ’ सब्जीको सुप बनाउने गरेको छ। यो सुपमा वनस्पति, प्याज, अदुवा र लेमन ग्रासको प्रयोग गरिन्छ। यो सी फुडमा पनि लिन सकिन्छ। नन भेज नुडलमा स्टक प्रयोग गरिएको हुन्छ। फको मूल्य ५५९ रुपैयाँ हो। योसँग ग्राहकले हट सस, फिस सस लिन सक्नेछन्।      

बार्बीक्यु पोर्क रिब्स

बार्बीक्यु पोर्कमा मसला र तेल प्रयोग गरिंदैन। वनस्पतिमा मोलिएको पोर्कको रिब्स ‘करङको मासु’लाई कोइलामा ग्रील गरिन्छ। सामान्यतया पाइने बार्बीक्युको तुलनामा भियतनामी शैलीमा तयार गरिएको बार्बीक्युमा नौलो स्वाद पाउन सकिन्छ। यसका लागि ग्राहकले ६५० रुपैयाँ तिर्नुपर्छ।

वुन दित नोहङ

वुन अर्थात राइस नुडलसँग बार्बीक्यु गरिएको मासुको माग धेरै हुन्छ। सी फुडको पनि माग हुने गरेको छ। ४५० रुपैयाँ मेनु चार्ज राखिएको यो परिकारमा सी फुड लिँदा ८०० रुपैयाँ पर्छ।

हटपट

हटपट भनेको पनि खासमा मासुकै परिकार हो। जुनसुकै जनावरको मासु हुन सक्छ। शाकाहारीका लागि पनि हटपट बन्छ।हटपट खानका लागि प्राय: ग्राहक समूह बनाएर जान्छन्। ग्राहकले आफ्नो इच्छा अनुसार मासुको परिकार मगाउन सक्छन्। यसमा ग्राहकले सब्जी वा मासुसहितको हड्डी उमालेर बनाइएको रस पाउँछन्। जसमा वनस्पति पनि प्रयोग गरिएको हुन्छ। यो परिकार तयार पार्न ५ घण्टा लाग्छ। यो परिकार खानेले १ हजारदेखि ३ हजार रुपैयाँ तिर्नुपर्छ।  

भियतनामी आइस कफी

भियतनामबाट ल्याइने कफी तातो बनाएर पिउँदा क्रिमी हुन्छ। यो कफीमा दूध र आइस हालेर ब्लेण्ड गर्दा चक्लेटी स्वाद आउँछ। रेष्टुरेण्टले कफीको मूल्य २७९ रुपैयाँ राखेको छ।

परिकारको नाममूल्य (रुपैयाँ)
तोफु सम रोल्स३१६/-
चिकेन समर रोल्स३७८/-
पोर्क समर रोल्स३७८/-
स्रिम्प समर रोल्स४०१/-
बार्बीक्यु चिकेन विङ्स४५२/-
बार्बीक्यु पोर्क रिब्स५५९/-
बार्बीक्यु स्रिम्प स्टिक्स६२१/-
बुन्चा विथ पोर्क७३४/-
चिकेन फ५५९/-
पोर्क फ५५९/-
स्रिम्प ग्लास नुडल सुप७६२/-
आइस कफी२७९/-