सुनिल शर्मा पक्राउबारे कांग्रेस किन मौन? बोल्न चाहँदैनन् गुटकै नेता

बिजमाण्डू
२०८० साउन २५ गते २२:२८ | Aug 10, 2023
सुनिल शर्मा पक्राउबारे कांग्रेस किन मौन? बोल्न चाहँदैनन् गुटकै नेता


काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ। प्रमाणपत्र किर्ते गरेको अभियोगमा शर्मा पक्राउ परे पनि कांग्रेस नेताहरू यसबारे मौन छन्।

Tata
GBIME

यसबारे कारण थाहा पाएपछि मात्र पार्टीको धारणा आउने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।

‘के कारणले पक्राउ गरेका रहेछ भन्ने थाहा पाइसकेपछि धारणा बनाउँछौँ,’ पार्टीको संसदीय दलको कार्यसमितिको बैठकपछि लेखकले बिहीबार भने।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको थियो।

कांग्रेसले यसबारे भोलि मात्रै धारणा बनाउने लेखकले बताए। भोलि शुक्रबार १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेसले संसदीय दलको बैठक डाकेको छ।

कांग्रेस संस्थापन इतरका नेता डा शेखर कोइराला निकट नेता शर्मा पक्राउ परेसँगै कांग्रेस इतरमा तरङ्ग फैलिएको छ। यद्यपि खुलेर भने बोल्न सकिरहेका छैनन्।

‘बालकृष्ण खाण पक्राउ पर्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेको र केन्द्रीय समितिमै खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग राखेका कारण शेखर पक्ष अहिले मौन बस्न बाध्य छन्,’ संस्थापन पक्षका एक नेताले भने।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य खाण असार १ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्। उनलाई निलम्बन गर्नुपर्ने माग कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समितिमै उठाएका थिए। तर अपराध अदालतबाट पुष्टि नभएसम्म खाणलाई निलम्बन नगर्ने निर्णय कांग्रेसले गरेको छ।

यता सांसद शर्माले भने सय किलो भनिएको बरामद गरिएको सुन प्रकरणमा आफ्नै पार्टीका अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेका थिए। उनले साउन १० गतेको संसदमा अर्थमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए। राजीनामा नआए आफू आमरण अनशनमा बस्ने चेतावनी दिएका थिए।

आफ्नै पार्टीका मन्त्रीविरुद्ध बोलेका कारण रिसाइबी साँध्न उनलाई पक्राउ गरिएको कतिपय कांग्रेस नेताहरूको आरोप छ। यद्यपि उनीहरू खुलेर भने बोलिरहेका छैनन्।

प्रहरीले भने शैक्षिक प्रमाणपत्र नक्कली रहेको वर्ष दिन अघि नै पत्ता लगाइसकेकोले अहिले पक्राउ गरेको जनाएको छ।

‘शैक्षिक प्रमाणपत्र नै किर्ते गरेको पाइएकाले पक्राउ गरेका हौँ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेरबहादुर कडायतले भने।

प्रहरीले शर्माको प्रमाणपत्र नक्कली भएको एक वर्ष अगाडि नै पत्ता लगाएको थियो। राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ साउन ५ गते रोल नम्बर फेला नपरेको पत्र प्रहरीमा आएको थियो।

ब्युरोले अहिले नक्कली प्रमाणपत्र भएका चिकित्सकमाथि अपरेसन चलाइरहेको बताएको छ। जुन अपरेसनको नाम ‘फक्सट्रट चार्ली’ राखिएको छ। शर्मा सोही अपरेसनको पहिलो आरोपी बनेका छन्। त्यसो त प्रहरीले यसरी नक्कली प्रमाणपत्र बनाएका अन्य केही चिकित्सकलाई पनि पक्राउ गरेको दाबी गरेको छ।