
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो वृद्धिसहित बन्द भएको छ। तीब्र उतारचढावका बाबजुद अन्तत: नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमाथि आइपुगेको हो।
२०५८.९६ बिन्दुबाट सुरु भएको बजार केही समयमा नै १२.८७ अंकले घटेर २०४६.०७ बिन्दुमा झरेको थियो। उक्त बिन्दुबाट ३४ अंकले बढेर बजार २०८०.०४ बिन्दूसम्म पुग्यो। उक्त बिन्दु आजको सबैभन्दा उच्च बिन्दु हो। सो लगत्तै तल झर्न लागेको बजार अन्तत: २०६६.०५ मा आएर अडिएको हो।
मौद्रिक नीति यता निरन्तर ‘नेगेटिभ’ भइरहेको बजार बुधबार ४१ अंकले बढेको थियो।
आज बजार बढ्दा अभियान लघुवित्तका लागानीकर्ताहरुले सर्वाधिक कमाएका छन्। लगानीकर्ताले प्रति कित्ता ६५ रुपैयाँ कमाएका हुन्।
जानकारहरुका अनुसार आजको बजारलाई भदौमा ब्याजदर घट्ने चर्चाले प्रभाव पारेको हो।
बजारमा प्रभावशाली मानिने बैंक तथा वित्तीय उपसमूह घट्दा पनि आज होटल तथा पर्यटन समूह निकै सकारात्मक बनेको छ। यस क्षेत्र आज २.६१ प्रतिशतले बढेको हो। यतिबेला होटल तथा पर्यटन क्षेत्र चलायमान छ। होटल कम्पनीहरु कोरोना कालभन्दा अघिकै अवस्थामा फर्किसकेका छन्। तसर्थ यस क्षेत्रका कम्पनीहरु प्रति लगानीकर्ता आकर्षित भएका हुन्।
बजार सामान्य बढे पनि आज २ अर्ब १५ करोड माथिको सेयर कारोबार भएको छ। कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ। कम्पनीको १६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
यस्तै, हकप्रदको अन्तिम तयारीमा रहेको अपर तामाकोशीको पनि ११ करोड २५ लाख बराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै गुमाउने कम्पनीमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३ रुपैयाँले घटेको छ।