
अघिल्लो वर्ष कतारमा सम्पन्न पुरुष विश्वकपमा ‘सरप्राइज’ प्रदर्शन गर्ने देश हो मोरोक्को। विश्वकप सुरु हुनुअघि अधिकांश विश्लेषकले समूह ‘एफ’बाट मोरोक्कोलाई अघिल्लो चरणमा स्थान बनाउन कठिन छ भनेका थिए।
तर मोरोक्कोले विश्लेषण विपरीत नतिजा निकाल्यो। क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेर नकआउट चरणमा पुग्यो मोरोक्को। प्रिक्वाटरफाइनलमा उसले उपाधि दाबेदारकै रुपमा हेरिएको पूर्व विश्वविजेता स्पेन र क्वाटरफाइनलमा युरो च्याम्पियन पोर्चुगललाई हराएर सनसनी मच्चायो।
सेमिफाइनलमा फ्रान्ससँग पराजय भए पनि उसको त्यहाँसम्मको यात्रा सानो उपलब्धि थिएन।
हाल अस्ट्रेलिया र न्युजिल्याण्डमा महिला विश्वकप चलिरहेको छ। यो विश्वकपमा सहभागी देशमध्ये सबैभन्दा तलको वरीयताको हो, मोरोक्को। हाल फिफा वरीयतामा मोरोक्कोको महिला टोली ७२औँ स्थानमा छ। त्यही टोलीले जारी विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेको छ।
मोरोक्कोले पूर्व विश्वकप विजेता जर्मनी र एसियाली जायन्ट दक्षिण कोरियालाई पछि पार्दै समूह उपविजेताका रुपमा नकआउट चरणमा स्थान बनायो। उसको प्रदर्शनमा विश्व वरीयतामा दोस्रो स्थानको जर्मनी र १७औँ स्थानको कोरिया समूह चरणबाटै बाहिरिए। जर्मनीसँग ६-० गोलको हार बेहोर्दै विश्वकप सुरु गरेको मोरोक्कोले सानदार पुनरागमन गर्यो।
तर प्रिक्वाटरफाइनलबाट भने मोरोक्को अघि बढ्न सकेन, फ्रान्ससँग पराजित हुँदै बाहिरियो।
+++
‘हामी विश्वकप सहभागिताका लागि मात्र आएका होइनौँ,’ मोरोक्कोकी कप्तान घिजलेन चेबाकले प्रतियोगिताअघि भनेकी थिइन्, ‘हामी सबैलाई हराउन सक्ने टोलीका रुपमा प्रस्तुत हुन चाहन्छौँ।’
मोरोक्कोको संस्कृति अमाजिग मूलका मानिस, अरब माइग्रेसन, युरोपको उपनिवेश र अफ्रिकी पहिचानको सम्मिश्रणबाट बनेको छ।
१० वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका मोरोक्कोका फ्यान नाडिया बोउच्टी अरब राष्ट्र पहिलोपटक विश्वकपमा सहभागी हुनु नै गौरवको विषय भएको बताइन्।
‘म एकदमै उत्साहित छु। मोरोक्कोको सहभागिताले स्टेरियोटाइप तोड्नका साथै अरब र मुस्लिम संस्कृतिको विविधता र समृद्धिलाई उजागर गर्न सक्छ,’ उनले भनिन्।
मोरोक्कोको समाजको बदलिँदो धारणा
सन् २०२२ को अफ्रिका कप अफ नेसन्स मोरोक्कोको राजधानी रबादमा भयो। सेमिफाइनल खेलमा ४५ हजार दर्शक क्षमताको रंगशाला खचाखच भरियो।
त्यतिबेला मोरोक्कोले सेमिफाइनलमा ११ पटकको च्याम्पियन नाइजेरियामाथि ‘अविश्वसनीय’ जित निकाल्यो। फाइनलमा दक्षिण अफ्रिकासँग २-१ गोलले पराजित भए पनि उपविजेता बन्नुलाई मोरोक्कोबासीले उपलब्धिका रुपमा लिए।
‘त्यो प्रतियोगितापछि धेरै कुरा फेरिए। हामी त्यस प्रतियोगिताबाट महिलाप्रतिको धारणा परिवर्तन गर्न सफल भयौँ,’ कप्तान चेबाकले भनिन्, ‘फ्यानहरूको माया साँच्चै उत्साहजनक छ र हामीलाई हाम्रो काम जारी राख्न प्रेरणा दिन्छ। देशको फुटबल संघले आवश्यक सुविधा प्रदान गर्न ठूलो प्रयास गरिरहेको छ। यसले समय लिन सक्छ। तर महिला फुटबल आगामी वर्षमा चम्किनेमा म विश्वस्त छु।’
ठूलो लगानी
मोरोक्कोले फुटबलमा सनसनीपूर्ण नतिजा त्यतिकै निकालेको भने होइन। उसले महिला फुटबलमा ठूलो लगानी गरेको छ। सन् २००९ देखि नै लगानी बढाएको हो। फुटबल संघका अध्यक्ष फोउजी लेक्जाले राजसंस्थाको समर्थनमा २०२० मा ४ वर्षे योजना अघि सारे।
संघले शीर्ष दुई डिभिजन लिग व्यवस्थित गर्यो। सबै क्लबका खेलाडी र अफिसियलका लागि राम्रै रकमको व्यवस्था गर्यो र ग्रासरुटमा ठूलो रकम खर्चियो।
प्रशिक्षकमा रेनाल्ड पेड्रोसको नियुक्ति अर्को ‘मास्टर स्ट्रोक’ थियो। फ्रान्सका रेनाल्ड लिग वान क्लब लियोनलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताउने प्रशिक्षक हुन्।
‘यी उपलब्धि वर्षौंदेखिको निरन्तर कामको परिणाम हो। हामीसँग ठूलो महत्वाकांक्षा थियो,’ चेबाकले भनिन्।
यसबाहेक महिला र पुरुष दुवैतर्फ मोरोक्को मूलका विदेशमा रहेका खेलाडी राष्ट्रिय टोलीमा ल्याउने काम भयो। यसपाली विश्वकप खेलेका रोजेला अयाने, यास्मिन म्राबेट, इलोडी नक्काच लगायत कतिपय खेलाडी त्यस्तै हुन्।
भौतिक पूर्वाधारमा पनि मोरोक्कोको लगानी कम छैन। मोरोक्कोमा हाल फिफाले स्वीकृत गरेका ६ वटा ठूला रंगशाला छन्। साथै अन्तर्राष्ट्रियस्तरका २० भन्दा बढी घाँसे मैदान र २०० भन्दा बढी सिन्थेटिक टर्फ छन्।
फुटबलप्रति क्रेजी राजा मोहम्मदको नेतृत्वमा सन् २००९ मा अन्तर्राष्ट्रियस्तरका फुटबलर उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोलिएको थियो। राजा मोहम्मद छैटौँले नयाँ फुटबल एकेडेमी शहर बाहिर खोलेका थिए। एकेडेमीको स्थापना महिला र पुरुष दुवैतर्फ खेलाडी उत्पादनमा कोसेढुंगा बन्यो।
सन् २०१९ मा साढे ६ करोड डलरको लागतमा किङ मोहम्मद छैटौँ ट्रेनिङ कम्प्लेक्स राजधानी रबात नजिकै खोलियो। यो सिनियर र जुनियरस्तरमा पुरुष र महिला टोलीको घरेलु ट्रेनिङ सेन्टर हो।
यसमा आठ फुल साइज पिच, फुटसल र बिच पिच, जिम र मेडिकल सुविधा, ओलम्पिक साइजको स्विमिङ पुल र क्लासरूमका साथै पाँच तारे होटलसरहका सुविधा छन्।
सन् २०२० को अगस्टमा राष्ट्रिय महिला लिग व्यावसायिक भयो। यसका लागि महिला फुटबलमा वार्षिक बजेट बढाएर साढे ६ करोड डलर पुर्याइयो। यो रकम त्यसअघिको वर्षको तुलनामा दश गुणा बढी हो। उमेर समूहको प्रतियोगितामा पनि मोरोक्कोले लगानी बढायो।
‘हामीलाई थप केही माग राख्नु छैन। यहाँ मलाई साँच्चै व्यावसायिक खेलाडी बनेको अनुभव हुन्छ,’ विश्वकपअघि मोरोक्कोकी डिफेन्डर यास्मिन म्राबेतले भनेकी थिइन्, ‘संघले दुई वर्षमा विशेषगरी महिला फुटबलमा गरेको लगानी अविश्वसनीय छ। तपाईं स्पष्टरूपमा परिणाम देख्न सक्नुहुन्छ।’