निरन्तरको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकसहित देशका विभिन्न राजमार्ग अवरुद्ध

रासस
२०८० साउन २३ गते ०७:३६ | Aug 8, 2023
निरन्तरको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकसहित देशका विभिन्न राजमार्ग अवरुद्ध
फाइल फोटो।


काठमाडौं। गए रातिदेखि परेको निरन्तर वर्षाका कारण देशका विभिन्‍न स्थानमा पहिरो गएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन्।

Tata
GBIME

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्। यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ।

यसैबीच, मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन्। पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका-२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा-भैसे-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा पहिरोका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्‍ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, गए राति नै मकवानपुरको बकैया-११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए।

यता, बेनी-जोमसोम सडकको राहुघाट-तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ। यस खण्डको बैसरी लगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँ-ठाउँमा पहिरोको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभर रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए।

रघुगङ्गा गाउँपालिका-२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्‍न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उनले बताए। रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ।

त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्‍न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना)लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताए।

बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्‍न थालेपछि गत शनिबारदेखि बेनी-जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ। सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्‍न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन्।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्‍चालन गराउन समस्या भएको जानकारी दिए।

बेनी-जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्‍नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन्। गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्‍न थालेको थियो।

यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्‍याउनुका साथै यात्रुलाई समेत चोटपटक लागेको थियो।