विद्युतीय गाडीका लागि देशका कुन-कुन ठाउँमा सञ्‍चालनमा छन् फास्ट चार्जर?

शुक्र गिरी
२०८० साउन २३ गते ०७:१५ | Aug 8, 2023
विद्युतीय गाडीका लागि देशका कुन-कुन ठाउँमा सञ्‍चालनमा छन् फास्ट चार्जर?


काठमाडौं। नेपालमा विद्युतीय गाडीको क्रेज दिनानुदिन दिन बढ्दै छ। बिक्री पनि बढ्दै छ। यसले गर्दा सरकार र बिक्रेता कम्पनीहरुले निर्माण गरेका चार्जिङ नेटवर्क अब इभीहरुका लागि अपर्याप्त देखिएको छ।

Tata
GBIME

नेपालमा गतवर्ष भित्रिएका ४ हजारसमेत लगभग १० हजार विद्युतीय कार, जीप र भ्यान सञ्‍चालनमा छन्। यसरी विद्युतीय गाडीको बिक्री बढ्दै गएपछि सवारी बिक्रेता कम्पनीले आवश्यक पूर्वाधार विस्तारमा ध्यान दिन थालेका छन्। त्यही भएर मुलुकका विभिन्न ठाउँमा चार्जिङ स्टेसन विस्तार भएका छन्।

पेट्रोल-डिजल इन्जिनका गाडीहरुका लागि निश्‍चित दुरीमा पेट्रोल पम्प छन्, अब चार्जिङ स्टेसन बढ्दै गए इभी प्रयोगकर्तालाई धेरै सजिलो हुनेछ। विद्युतीय गाडीबाट लामो दूरीको यात्रा गर्न फास्ट चार्जिङको आवश्यकता हुन्छ। किनभने धेरै लङ रेन्ज भएका गाडीहरु नेपालमा भित्रिसकेका छैनन्।

उपत्यकामा सञ्‍चालन हुने धेरैजसो इभीहरु राति चार्ज गर्ने र दिनमा चलाउने गरिन्छन्। यस्ता सवारीधनीलाई फास्ट चार्जरको आवश्यकता पर्दैन। इभीका ग्राहकहरुले आफ्नै घरमा राखेको एसी चार्जरबाट पनि गाडीको ब्याट्री चार्ज गर्न सक्छन्। तर लामो दुरीको यात्रा गर्न भने बीच बाटोमा फास्ट चार्जर आवश्यकता पर्छ।

त्यसैले नेपालमा धेरै कम्पनीहरुले फास्ट चार्जर राखेका छन्। यसले ‘रेन्ज एन्जाइटी’ पनि कम गर्छ र ग्राहकहरुलाई इभीमा लामो दुरीको यात्रालाई पनि सहज बनाउँछ।

टाटा

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले थप तीन स्थानमा फाष्ट चार्जर थप्‍ने योजना बनाएको छ। कम्पनीले इटहरी, ढल्केबर र चितवनमा नयाँ फाष्ट चार्जिङ स्टेसन थप्‍न लागिएको जनाएको छ।

कम्पनीले हालसम्म १९ वटा फाष्ट चार्जिङ स्टेसनको नेटवर्क खडा गरिसकेको जनाएको छ। यस्तै एसी चार्जरहरुको नेटवर्क पनि १५० भन्दा बढी स्थानहरुमा अहिले सञ्‍चालन भइरहेको कम्पनीले जनाएको छ। यसैगरी १६ वटा इभीको लागि मात्र डेडिकेटेड सर्भिस सेन्टरहरु निर्माण गरेको छ।

कम्पनीका अनुसार अहिले मेची, इटहरी, लहान, बर्दिबास, सिमरा, हेटौंडा, नारायणगढ, मलेखु, चुम्लिङटार, बालकुमारी, बागडोल, पोखरा, भैरहवा, दाङ, नेपालगंज र धनगढीमा चार्जिङ स्टेसन सञ्‍चालनमा छन्। सिन्धुलीको खुर्कोट र धादिङको धार्केमा कम्पनीले एकै ठाउँ २/२ वटा चार्जिङ प्वाइन्ट राखेको छ।

नेपालमा धेरै इभी बिक्री गर्ने टाटा हो। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अहिले नेक्सन इभी र टिगोर इभी बिक्री गर्दै आइरहेको छ। यस्तै कम्पनीले नेपाली बजारमा अर्को ह्याचब्याक सेग्मेन्टको टियागो इभि पनि ल्याउदै छ।

चार्जिङको लागि टाटाको आफ्नै इजी एप विकास गरेर सञ्‍चालनमा ल्याएको छ। जसले गर्दा ग्राहकहरु कुनै ठाउँमा यात्रा गर्दा अगाडि नै चार्जिङ लोकेसन हेरेर टाइम बुकिङ गर्न सक्छन्।

मोरिस ग्यारेज (एमजी)

नेपालमा एमजीको जेडएस इभी धेरै संख्यामा बिक्री भइरहेको अर्को इभी हो। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो गाडीको लागि भनेर नेपालभरी ८ वटा फास्ट चार्जिङ नेटवर्क सञ्‍चालनमा ल्याएको छ। जसमा कम्पनीले बुटवल, चितवन, कुरिनटार, कुसुन्ती, ढल्केबर, मुलकोट, ओलिज स्टोर इटहरी र ओलिज स्टोर बिर्तामोडमा छन्।

कम्पनीले अन्य ९ वटा स्थानहरुमा पनि फास्ट चार्जिङको नेटवर्क विस्तार गर्दै छ। जसमा बर्दिबास, कोहलपुर, वीरगंज, लमही दाङ, पोखरा, हेटौँडा, अतारिया, नौबिसे र गाइघाट रहेका छन्।

बिल्ड योअर ड्रिम्स (बीवाइडी)

यस्तै बीवाइडीको नेपालमा अहिले ३ वटा मात्र फास्ट चार्जिङ सञ्‍चालनमा छन्। जसमा अनामनगर, गौरीघाट र कोहलपुरमा रहेका छन्। अन्य थप फास्ट चार्जरहरु कम्पनीले राख्‍ने योजना बनाएको छ।

यसको आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार हाल २५ वटा स्थानमा एसी फास्ट चार्जर उपलब्ध छ। जसमा पोखरा, प्रवत, नेपालगंज, काठमाडौंमा ३ वटा, डुम्रे, दाङ, नेपालगंज बीवाइडी शोरुम, बुटवल, बिर्तामोड, बिराटनगर र बर्दीवासका रहेका छन्।

साइमेक्सले अहिले उपत्यकाभित्र भाटभटेनी, नक्साल, रत्नपार्क, सिंहदरबार, गैह्रीधारा, बालुवाटार, थापाथली, तीनकुने, पुल्चोक (पाटन), भक्तपुर लगायतका स्थानमा एसी चार्जिङ स्टेसन राखेको छ।

साइमेक्स निकट भविष्यमै कुरिनटार-मुग्लिन, लहान, नेपालगंज, धनगढी, लमही, सुर्खेत, वीरगंज, धरान, विराटनगर लगायतका स्थानमा पनि छिटै चार्जिङ स्टेसन सञ्‍चालनमा ल्याउने योजनामा छ।

कम्पनीले अहिले नेपालमा यसको ई-६ र एटो ३ बिक्री गरिरहेको छ। कम्पनीले भविष्यमा अन्य मोडलहरु पनि थप्‍ने योजना बनाएको छ। त्यसैले कम्पनी चार्जिङ स्टेसन निर्माण गर्न अग्रसर देखिन्छ।

हुन्डाईको एसी चार्जर

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी आफ्नो इभीको लागि ४० वटा एसी चार्जर सञ्‍चालन गरिरहेको छ।

कम्पनीले प्रदेश नम्बर एकको बिर्तामोडमा २ वटा, विराटनगर, इटहरीमा ३ वटा, दमकमा एउटा गरी ६ वटा चार्जर सञ्‍चालन गरेको छ।

वाग्मती प्रदेशको कुपनडोल, धापासी र भक्तपुर, पुलचोक, सिनामंगल, नक्साल र थापाथली, भरतपुरमा ३ वटा, तीनकुने, हात्तिसार, हेटौँडामा २ वटा, सौरहा, कुरिनटार र मुलकोट गरी १८ वटा चार्जिङ स्टेसन रहेका छन्।

यसैगरी, मधेश प्रदेशमा वीरगंज र श्रीपास रोडमा एसी चार्जिङ स्टेसनहरु उपलब्ध छन्। साथै गण्डकी प्रदेशमा पोखरामा विभिन्‍न होटल र सर्भिस सेन्टरहरुमा ४ वटा चार्जिङ स्टेसन राखिएको छ।

लुम्बिनी प्रदेशमा भैरहवामा २ वटा, नेपालगंजमा २ वटा, बुटवलमा २ वटा, भालुभाङ र दाङमा गरी जम्मा ८ वटा एसी चार्जिङ स्टेसन सञ्‍चालनमा ल्याएको छ। साथै सुदूरपश्‍चिम प्रदेशमा धनगडीमा २ वटा र चिसापानीमा एउटा गरी ३ वटा सञ्‍चालनमा छन्। तर कम्पनीले अहिलेसम्म फास्ट चार्जिङ स्टेसन निर्माण गरेको छैन। कम्पनीले सन् २०२४ सम्म फास्ट चार्जिङ निर्माण गर्ने योजना बनाएको छ।

किया

कियाले पनि सात वटा ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ। कम्पनीले उपत्यकामा ३ सहित बाहिर ४ गरी कुल ७ वटा यस्ता स्टेसन निर्माण गरेको हो। उपत्यका बाहिर चुम्लिङटार, भरतपुर र पोखरामा एसी चार्जर राखेको कम्पनीले कुरिनटारमा भने डीसी चार्जर राखेको छ।

यस्तै नयाँ गाडी बिक्रेता दिगो, सिट्रोन, ग्रेटवाल र नेटा भी जस्ता इभी बिक्रेताहरु पनि चार्जिङ स्टेसन निर्माण गर्न अग्रसर हुँदै छन्। उनीहरुको उत्पादन भर्खरै आएकाले उनीहरु चार्जिङ स्टेसन निर्माण गर्न ढिला गरिरहेका छन्।

टेस्ला

टेस्लाको आधिकारिक बिक्रेता अरिती इन्टरनेस्नलले विभिन्न ५ ठाउँमा चार्जिङ स्टेसन बनाएको छ। उसले काठमाडौंमा टंगालस्थित आफ्नो सर्भिस सेन्टर र सांग्रिला होटलमा तथा काठमाडौं बाहिर कुरिनटार, भरतपुर र पोखरामा चार्जिङ स्टेसन संचालन गरिरहेको हो। कुरिनटारमा सिद्धार्थ होटल, भरतपुरमा गार्डेन रिसोर्ट र पोखरामा सिद्धार्थ होटलमा आफूले चार्जिङ स्टेसन बनाएको अरिती इन्टरनेस्नलले जनाएको छ। उसले नगरकोट, हेटौंडा र लुम्बनीमा पनि चार्जिङ स्टेसन बनाउँदैछ।

अन्य संस्थाका चार्जिङ स्टेसन

सिंहदरबारभित्र ३० किलोवाट क्षमताका ५ वटा चार्जिङ स्टेसन सञ्‍चालनमा आइसकेका छन्। ऊर्जा र अर्थ मन्त्रालयमा २/२ वटा तथा परराष्ट्र मन्त्रालयमा एउटा सञ्चालनमा ल्याइएका हुन्।

यसैगरी नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरी मिलेर प्रहरी कल्याण कोषद्वारा हाल सञ्‍चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पम्प र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थान गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिरहेका छन्।

चार्जिङ स्टेसन दीर्घकालीन रुपमा प्रहरी कल्याण कोष मातहत सञ्‍चालन हुने छन्। सम्झौताअनुसार प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने छ।

उपकरणको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ। प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने छ र निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्ने छ।

प्राधिकरणका ५० स्टेसन

नेपाल विद्युत प्राधिकरणले देशका ५१ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। अधिकांश सञ्‍चालनमा आइसकेको दाबी गरिएको छ। प्राधिकरणले ३७ करोड ७९ लाखमा यी चार्जिङ स्टेसन निर्माण गरिरहेको हो।

प्राधिकरणका अनुसार ५१ वटा फास्ट चार्जिङ स्टेसनको छिट्टै उद्घाटन गर्ने तयारी छ। प्राधिकरणले झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन निर्माण गरेको छ।

यसैगरी पर्सा जिल्लाको वीरगंज, बाराको सिमरा, रौतहटको चन्द्रानिगाहपुर, महोत्तरीको बर्दिवास, सप्तरीको राजविराजमा चार्जिङ स्टेसन निर्माण भएका छन्। धनुषाको ढल्केबर र जनकपुरधाममा विद्युतीय गाडीको लागि चार्जिङ स्टेसन निर्माण भएर सञ्‍चालन हुँदै आएका छन्।

वाग्मती प्रदेशस्थित काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन सञ्‍चालनमा रहेका छन्। त्यस्तै धादिङको मलेखुमा दुईवटा, सिन्धुलीको विपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण भएका छन्।

मकवानपुरको हेटौंडामा २ वटा, चितवनको भरतपुरमा दुई वटा, चितवनकै मुग्लिन/कुरिनटारमा ४ वटा र काभ्रेको बनेपामा एउटा चार्जिङ स्टेसन निर्माण भएर सञ्‍चालनमा आएका छन्।

यस्तै नवलपुर पूर्वी नवलपरासी, तनहुँ जिल्लास्थित दमौली, स्याङ्जा जिल्लामा एक-एक वटा र कास्की जिल्लास्थित पोखरामा तीन वटा चार्जिङ स्टेसन निर्माण भएको छ। साथै बाँके जिल्लास्थित नेपालगंजमा एउटा, दाङमा दुईवटा, रूपन्देहीको बुटवलमा तीन र पश्‍चिम नवलपरासीमा एउटा र सुर्खेतमा एउटा चार्जिङ स्टेसन सञ्‍चालनमा आएका छन्।

कन्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक-एक वटा चार्जिङ स्टेसन सञ्‍चालनको तयारीमा छन्। केही सञ्‍चालन भइसकेका प्राधिकरणले जनाएको छ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिन्छ।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। निजी क्षेत्रका सबै प्रकारका चार्जिङ स्टेसन प्राधिकरणको प्रणालीमा अनिवार्य जोडिनुपर्ने व्यवस्था छ। यसको पनि आफ्नै चार्जिङ एप एनईए चार्जिङ र डेटा सेन्टर निर्माण गरेको छ।

कति लाग्छ शुल्क ?

प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्‍ने शुल्क समेत तोकिसकेको छ।

जसअनुसार चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्‍नेछ। समय अनुसार इनर्जी शुल्क फरक-फरक रहेको छ।

मझौला भोल्टेज (३३ केभी) को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५ देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ प्रतिकिलोवाट घण्टा (युनिट) पर्छ।

मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.७० रुपैयाँ युनिट पर्छ।

तल्लो भोल्टेज (२३०/४०० भोल्ट) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.७० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.९० रुपैयाँ युनिट पर्छ।

तर निजी कम्पनी वा व्यक्तिले बनाएका चार्जिङ स्टेसनमा भने व्यावसायिक रुपमा सञ्‍चालन हुने हुनाले २० प्रतिशत नाफा राखेर चार्जिङ वापतको रकम ग्राहकहरुसँग लिन उनीहरुलाई छुट छ।