काठमाडौं। साहसिक खेलको मजा लिन पोखरानजिक पर्वतको कुश्मा पुग्नेहरुका लागि अब वाल क्लाइम्बिङ थपिएको छ। बन्जीसहितका साहसिक खेल सञ्चालन गरिरहेको द क्लिफले ३५ फीट अग्लो वाल क्लाइम्बिङ थपेको हो।
यो साहसिक खेलमार्फत ग्राहकले थप नयाँ अनुभव लिन सक्ने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। ‘पाहुनालाई रिसोर्टसहित साहसिक खेलको अनुभव दिन वाल क्लाइम्बिङ पनि थपेका हौं। क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उद्देश्य छ,’ उनले भने।
ग्राहकले ‘ब्रीज प्रवेश शुल्क’ वापत तिरेको ५ सय रुपैयाँभित्रै वाल क्लाइम्बिङ गर्न सक्ने उनले जानकारी दिए। वाल क्लाइम्बिङ मात्रै गर्न चाहनेका लागि भने ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसअघि बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत साहसिक खेल गतिविधि सञ्चालनमा ल्याइसकेको कम्पनीले साहसीक खेलमा पाहुनाको उल्लेख्य सहभागीता रहँदै आएको जनाएको छ।