
काठमाडौं। अनलाइन बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकम १०औं वर्षमा प्रवेश गरेको छ। बस सेवा टुर्स एण्ड ट्राभल्सअन्तर्गतको कम्पनीले १०औं वर्ष प्रवेशका अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले नि:शुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ।
हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गर्ने कम्पनीदे जनाएको छ। विजेताको नाम बससेवाको आधिकारिक फेसबुकपेजमार्फत सार्वजनिक गरिने छ।
कम्पनीले २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको थियो। यो अवधिमा देशका अधिकांश रूटमा सेवा प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ। यात्रुले कुनैपनि गन्तव्यका टिकट बससेवा डटकम र बससेवाको मोबाइल एपमार्फत काट्न सक्ने छन्।
कम्पनीका अनुसार हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बस सेवामार्फत टिकट काटेर यात्रा गर्दै आएका छन्। उसले भारतको नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायत सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।
‘यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै अनलाइनमार्फत टिकट बिक्री सुर गरिएको हो। यात्रु र यातायात व्यवसायीले देखाएको विश्वासप्रति आभारी छौं। आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउनेछौं,’ वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने।
बससेवा डटकमले काठमाडौंको ढुंगेअड्डामा प्यासेन्जर लाउन्ज समेत सञ्चालनमा ल्याएको छ। लाउन्जमा वाइफाइ, खानेपानी लगायत सुविधा छन्।