
काठमाडौं। वाणिज्य बैंकहरुको औसत लाभांश दर २.८८ प्रतिशत विन्दुले साँघुरिएर ११.७७ प्रतिशतमा सीमित भएको छ। पोहोर औसत १४.६५ प्रतिशत लाभांश दिने खुबी थियो।
नाफामा २५ प्रतिशत देखिएको सुधारका बाबजुद बैंकहरुको लाभांश दिने क्षमतामा ह्रास आएको हो। यसपटक बैंकहरुको वितरणयोग्य मुनाफा २६ प्रतिशत साँघुरिएको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणले देखाएको छ।
कुमारी र हिमालयन बैंक गत आर्थिक वर्षका लागि लाभांश दिनै नसक्ने अवस्थामा पुगेका छन्। मर्जरमा गएका दुवै बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक छ। जसले लाभांश दिने बैंकहरुको सूचीलाई १७ वटामा झार्छ।
सधैंझै गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश दिनसक्ने क्षमता एभरेष्ट बैंकको छ। बैंकले ४०.५ प्रतिशत दिन सक्छ। तर पोहोर पनि बैंकसँग ४१.१३ प्रतिशत दिने क्षमता हुँदाहुँदै समेत २०.६८ प्रतिशतभन्दा बढी दिएको थिएन।
पोहोर पनि १६.१९ प्रतिशत क्षमताका बाबजुद बैंकहरुले औसत १०.६९ प्रतिशत मात्रै लाभांश दिएका थिए। जसमध्ये ६ वटा यस्ता बैंक मर्जरमा समेत गएका थिएनन्। उनीहरुको लाभांश दरलाई समावेश गर्दा पनि ११ प्रतिशत नाघेको थिएन। त्यसमाथि कतिपयले पुँजीकोष पर्याप्त नराख्दा लाभांश बाँड्न पाएका थिएनन्।
तर यसपटक पुँजीकोषले बैंकहरुलाई अवरोध गर्दैन। राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा थोरै भए पनि पुँजीकोष माथि राखेका छन्।
आकर्षक वितरणयोग्य मुनाफा भएको एनआइसी एसिया बैंक पनि हो। बैंक ३२ प्रतिशतसम्म दिन योग्य राख्छ। तर पुँजीकोष अनुपात पर्याप्त नभएकाले २०७६/७७ पछि बैंकले लाभांश वितरण गर्न पाएको छैन। तर गत आर्थिक वर्ष बैंकले यो अनुपात कायम गरेको छ। त्यसैले पनि बैंकको लाभांश प्रति सिंगो सेयर बजारको नजर छ।
मर्जरका बाबजुद प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा लाभांश दिन सक्नेहरु मध्ये पुछारमा छन्।