राजस्व अनुसन्धान विभागले सुन अनुसन्धानको फाइल प्रधानमन्त्रीलाई बुझाउँदै, अहिलेसम्मको सूचना यस्तो छ ?

बिजमाण्डू
२०८० साउन २१ गते १०:३४ | Aug 6, 2023
राजस्व अनुसन्धान विभागले सुन अनुसन्धानको फाइल प्रधानमन्त्रीलाई बुझाउँदै, अहिलेसम्मको सूचना यस्तो छ ?


काठमाडौं। राजस्व अनुसन्धान विभागले १ सय ५५ किलो सुनको अनुसन्धानको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई बुझाउने भएको छ।

Tata
GBIME

सरकारी वकिलको कार्यालयमा संगठित अपराधको अनुसन्धानका लागि विभागले रायका लागि पठाउनेछ। कार्यालयको रायपछि विभागले प्रधानमन्त्री प्रचण्डलाई बुझाउने विभाग स्रोतले जनाएको छ। विभागले शनिबार रातभरी अनुसन्धानमा संकलन गरिएका सूचना र मुचुल्का लगायतलाई अन्तिम रुप दिएको स्रोतले बतायो।

‘शनिबार रातभरी अहिलेसम्म अनुसन्धानमा पत्ता लागेका सूचना संकलन र बरामदी सामानको मुचुल्का तयार गर्न कर्मचारी खटिएका थिए,’ विभागका एक अधिकारीले भने, ‘हामीले तयार पारेको प्रगति विवरण आजै प्रधानमन्त्रीलाई हस्तान्तरण गर्दैछौं।’

प्रधानमन्त्रीमा हस्तान्तरण भएपछि मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अनुसन्धानको जिम्मा पाउनेछ। सीआईबीले प्रतिवेदनका आधारमा थप अनुसन्धान अगाडि बढाउनेछ। स्रोतका अनुसार विभागले सुन कारोबारमा संलग्न माथिल्लो तहसम्म पत्ता लगाइसकेको छ।

स्रोतका अनुसार सुन कारोबारमा संलग्न सबैभन्दा माथिल्लो तहको दावा छिरिङको ह्‍वाट्सएप, म्यासेज र टेलिफोन कुराकानी हेरेर अनुसन्धान गरेको थियो। त्यो अनुसन्धानका आधारमा सुन कारोबारमा पूर्व आइजीपी, बहालवाला सचिव, निर्माण व्यवसायी समेतको दावासँग कनेक्सन देखिएको छ।

त्यही कनेक्सनको आधारमा प्रहरीले यी व्यक्तिलाई पनि अनुसन्धानको दायरामा राखेको छ। विभागका ती अधिकारीका अनुसार सुन कारोबारका लागि तीन वटा गाडी भाडामा लिइएको थियो। भाडामा लिइएको गाडीमा जीपीएस जडान भएको र त्यही जीपीएसका आधारमा कारोबारी पत्ता लगाउन सजिलो भएको थियो। जीपीएसकै आधारमा विभागले भियना होटल, मेरियट र सोल्टी होटलको क्यासिनोमा पटक-पटक गएको खुलेको थियो।

‘जीपीएसकै आधारमा धेरै अनुसन्धान पत्ता लगाउन सजिलो भयो। चिनियाँले सुन ओसारपसार लगायतका लागि लिएको तीन वटै गाडीको जीपीएससँगै पासवर्ड पनि पत्ता लगाएपछि अनुसन्धानमा ठुला व्यक्तिको संलग्नता खुल्न सजिलो भएको थियो,’ ती अधिकारीले भने।

साउन ३ गते हङकङबाट ‘ब्रेक शु’ भित्र आएको सुन विमानस्थलको भन्सार जाँच पास भए बाहिरिएपछि राजस्वको टोलीले बरामद गरेर अनुसन्धान गरिरहेको छ।

‘ब्रेक शु’ सहित १ सय ५५ किलोको सुन बरामद गरेको हो। सुन राष्ट्र बैंकको टक्सार शाखामा राखिएको छ। अहिलेसम्म सुनको नापतौल भएको छैन।