सात वर्षपछि सुनको अर्को ‘हाइप्रोफाइल’ केस सीआईबीमा, नेक्सस खोज्न चुनौती

बिजमाण्डू
२०८० साउन १९ गते १३:३५ | Aug 4, 2023
सात वर्षपछि सुनको अर्को ‘हाइप्रोफाइल’ केस सीआईबीमा, नेक्सस खोज्न चुनौती

काठमाडौं। राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक अर्ब मूल्यको सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरी दिन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। प्रधानमन्त्रीकै निर्देशनमा अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने भएको छ।

Tata
GBIME
NLIC

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्य, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना लगायतसँगको बिहीबार साँझको छलफलमा दाहालले अनुसन्धानको जिम्मा प्रहरीलाई सुम्पिन निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीज्युले नै सीआईबीलाई दिंदा हुन्छ भन्ने संकेत गर्नु भएको थियो,’ छलफलका एक सहभागीले भने।

प्रहरी प्रमुख वसन्त कुँवरले पनि अनुसन्धानको जिम्मेवारी सीआईबीलाई नै तोकेका छन्। राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानले निचोडमा पुग्न नसक्ने र थप नेक्सस नखोलिने भएपछि अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिइएको हो।

यस प्रकरणमा विभागले भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ जेक्युयाङ लीन, बेल्जियमका दाबा छिरिङसहित १८ जनालाई पक्राउ गरेको छ। सुन बरामदीको यो घटना अनुसन्धान भइरहँदा संसदमा प्रमुख प्रतिपक्षी एमालेले चर्का कुरा गरिरहेको छ। घटना अनुसन्धआनका लागि सरकारी संयन्त्रभन्दा पनि छुट्टै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ।

सुन प्रकरण अब संगठित र अन्तर्देशीय अपराधसँग जोडेर प्रहरीले अनुसन्धान गर्ने भएको छ। सीआईबीले अनुसन्धानका लागि प्रहरीको टीम समेत बनाइसकेको छ। ‘हामी आधिकारिक पत्र र फाइलको प्रतीक्षामा छौं। तत्काल नै हाम्रो टोली अनुसन्धानमा खटिने छ,’ ब्युरोका एक अधिकृतले भने।

सीआईबीले यसअघि पुस १० गते भेपभित्र आएको ९ किलो सुन प्रकरणमा समेत अनुसन्धान गरेको थियो। जुन घटनामा प्रहरीले ९ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गरेको थियो। त्यस्तै २०७३ मा ३३ किलो सुन प्रकरणमा समेत सीआईबीले अनुसन्धान गरेको थियो। दुई महिना लामो अनुसन्धानमा ३० जना संलग्नता देखिउको थियो। त्यसमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री र भन्सार अधिकृत श्रीनारायण यादव समेत देखिएका थिए।

गत पुस ८ गते सुडानी नागरिकले विदेशबाट ल्याएको १९ किलो सुन प्रकणको अनुसन्धान पनि सीआईबीले गरेको थियो। उनीहरुले विदेशबाट ल्याएको सुन विराटनगर हुँदै भारतसम्म लगेर बिक्री गर्ने गरेको खुलेको थियो। जसमा सुडानीसहित भारतीय नागरिक समेत थिए।

सीआईबीले गम्भीर प्रकृतिको अनुसन्धान गर्ने गर्छ। अहिले अर्को हाइ प्रोफाइल ललिता निवास केसको पनि अनुसन्धान गरिरहेको छ। २३ जनालाई पक्राउ गरिसकेको छ। त्यसको अनुसन्धान अन्तिम चरणमा छ। अहिले ब्युरोको नेतृत्व एआईजी किरण बज्रचार्याले गरिरहेकी छन्।