आज भारी वर्षासँगै हावाहुरी चल्ने, कुन प्रदेशमा कस्तो छ मौसम पूर्वानुमान?

बिजमाण्डू
२०८० साउन १९ गते ०६:३२ | Aug 4, 2023
आज भारी वर्षासँगै हावाहुरी चल्ने, कुन प्रदेशमा कस्तो छ मौसम पूर्वानुमान?

काठमाडौं। शुक्रवार नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
NLIC

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको र कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

दिउँसो लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको दैनिक मौसम बुलेटिनमार्फत जनाइएको छ।

यस्तै, आज राती सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा आज राति हावाहुरीको पनि सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह पनि गरेको छ।