
काठमाडौं। विश्वमा तेलको मूल्य एक महिनामै १६ प्रतिशत महँगो भएको छ। गत जुनको अन्तिम यता तेलको भाउ १६ प्रतिशतले उकालो लागेको हो। भाउ बढ्ने क्रम रोकिने छाँट देखिँदैन।
ग्लोबल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य बुधबार प्रतिब्यारल ८३.३६ डलर पुगेको छ। मूल्य एक सातामै ३.९ प्रतिशत बढेको हो। ब्रेन्ट क्रुडको मूल्य एक महिनामा ११.४५ प्रतिशतले बढेको छ।
अमेरिकी तेलको मूल्य बुधबार औसतमा प्रतिग्यालन ३.५५ डलरमा पुगेको छ। २०२२ अप्रिल पछिको सबैभन्दा लामो समयसम्म तेलको मूल्यवृद्धि भएको हो। यो साता ३.९ प्रतिशतले वृद्धि हुने अनुमान छ।
विश्व बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि प्रत्यक्ष प्रभाव पर्छ। नेपालले तेल किन्ने भारतसँग हो। अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार भारतबाट तेलको मूल्यसूची आउँछ। नेपाल आयल निगमले पूर्णस्वाचालित मूल्य प्रणाली लागू गरेकाले अन्तर्राष्ट्रिय बजार महँगिदा नेपालमा पनि भाउ बढ्छ।
उत्पादन कटौती गर्ने निर्णयको असर
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार यसवर्ष विश्वव्यापी तेलको माग प्रतिदिन २२ लाख ब्यारलले बढेर १० करोड २० लाख ब्यारल पुग्ने अनुमान छ। तर बढ्दो माग अनुसार उत्पादन भने नबढ्ने एजेन्सीको प्रतिवेदनमा उल्लेख छ। उसका अनुसार विश्वव्यापी तेल उत्पादन प्रतिदिन १५ लाख ब्यारेल बढ्नेछ। यति बढ्दा पनि प्रतिदिन १० करोड १५ लाख ब्यारलभन्दा उत्पादन हुने छैन।
विश्वका प्रमुख तेल उत्पादकहरूको गठबन्धन ओपेक प्लसले उत्पादन कटौती गर्ने घोषणा गरेकाले यो अन्तरको स्थिति निम्त्याउन लागेको हो।
पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक), रसिया र अन्य साना उत्पादकहरू समावेश समूहले गत अप्रिलमा वर्षको अन्त्यसम्म दैनिक १६ लाख ब्यारलले उत्पादन घटाउने घोषणा गरेको थियो। तेलको मूल्यमा गत वर्ष गिरावट आएकामा उत्पादन कटौतीको घोषणाले मूल्यवृद्धि भएको हो।

‘हालैको मूल्यवृद्धि मुख्यतया अप्रिलमा घोषणा गरिएको ओपेक प्लसको स्वैच्छिक उत्पादन कटौतीको कारणले भएको हो,’ लगानी बैंक यूबीएसका रणनीतिकार जियोभन्नी स्टाउनोभोले भने।
स्टाउनोभोले विश्वको कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरेबियाले गरेको अतिरिक्त स्वैच्छिक तेल उत्पादन कटौतीको घोषणाले तेल अझै महँगिने बताएका छन्। साउदी अरेबियाले कम्तीमा अगस्टको अन्त्यसम्म प्रतिदिन १० लाख ब्यारल उत्पादन कटौती गर्ने बताएको छ।
आर्थिक सुधारले गरेन सपोर्ट
अमेरिकी अर्थतन्त्र यो वर्ष दोस्रो त्रैमासिकमा २.४ प्रतिशतले बढेको छ। यो वृद्धि अर्थशास्त्रीहरूको अपेक्षाभन्दा बढी हो। उनीहरुले १.८ प्रतिशत वृद्धिको प्रक्षेपण गरेका थिए।
युरोपको अर्थतन्त्रमा पनि आशावादी हुने संकेत देखिएका छन्। युरो मुद्रा चलाउने २० देश वर्षको सुरुमा मन्दीमा फसे पनि फ्रान्स, स्पेन र जर्मनीको तथ्यांकले सुधारको आशा जगाएको हो।
बेरेनबर्गका अर्थशास्त्रीहरूले स्पेनमा उपभोगमा पुन: वृद्धि र फ्रान्सेली निर्यातमा बढोत्तरीले यूरोजोनको अर्थतन्त्र २०२३ को दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले बढ्न पुगेको छ।
अर्थशास्त्रीहरूको प्रक्षेपणलाई गलत सावित गर्दै फ्रान्सको जीडीपी दोस्रो त्रैमासिकमा ०.५ प्रतिशतले बढेको छ। जर्मनीको अर्थतन्त्रमा पनि झिनो सुधार देखिएको छ।
विश्वका केही ठूला अर्थतन्त्रमा उच्च मुद्रास्फीति र ब्याजदर वृद्धिका कारण माग घटेर तेलको मूल्यमा गिरावट आउने विज्ञहरुको पूर्वानुमान थियो। तर पूर्वानुमानको ठिक उल्टो भएको छ। माग त घट्यो, तर मूल्य भने घटेन।
ठूला अर्थतन्त्रमा माग घटेपनि ओपेक प्लसको उत्पादन कटौतीले तेलको मूल्य बढ्न पुगेको क्यापिटल इकोनोमिक्सका कमोडिटी अर्थशास्त्री एडवर्ड गार्डनरले सीएनएनलाई बताएका छन्।