अपर लोहोरेखोला हाइड्रोपावरको आईपीओ खुल्यो, प्रतिसेयर आम्दानी ऋणात्मक, अन्य सूचक कस्तो छ ?

बिजमाण्डू
२०८० साउन १८ गते ११:४६ | Aug 3, 2023
अपर लोहोरेखोला हाइड्रोपावरको आईपीओ खुल्यो, प्रतिसेयर आम्दानी ऋणात्मक, अन्य सूचक कस्तो छ ?

काठमाडौं। अपर लोहोरेखोला हाइड्रोपावरले आजबाट सर्वसाधारणमा साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आयोजना प्रभावित क्षेत्र (स्थानीय) र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा सेयर बिक्री गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणमा सेयर निष्काशन गरेको हो।

कम्पनीले कुल जारी पुँजी ५० करोड ९८ लाख ४ हजारको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्काशन गरेको हो। उक्त सेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ९ हजार ८०४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि निष्काशन गरेको थियो। जसमा २ लाख ६ हजार ७६० कित्ता सेयर स्थानीयलाई बाँटफाँट समेत गरिसकिएको छ।

कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर छुट्याएको हो। सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा बिक्री गरी बाँटफाँट गरिसकेको छ।

साथै कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार ७७५ कित्ता कर्मचारीहरुका लागि छुट्याएको छ। यस्तै, ५ प्रतिशत अर्थात ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोष योजना (म्युचुअल फन्ड)का लागि छुट्याइएको छ।

बाँकी रहेको १९ लाख ५३ हजार २७९ कित्ता (स्थानीयमा बिक्री नभएको सेयरसहित) साधारण सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन मिति ढिलोमा साउन ३२ गतेसम्म तोकिएको छ।

कम्पनीको सो सेयरमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिन्छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

कुल लागत करिब १ अर्ब

यस आयोजना दैलेखको नौमुले गाउँपालिकास्थित माथिल्लो लोहोरे साना जलविद्युत आयोजना ४ मेगावाट रहेको छ। पछिल्लो समय जलविद्युत् क्षेत्रका कम्पनीहरुको लागत निकै बढेको चर्चा छ। यसैबीच यस कम्पनीको पनि कुल लागत करिब १ अर्ब छ।

यस आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ हो भने कुल लागत ९४ करोड ७२ लाख १७ हजार हो। जानकारहरुका अनुसार ‍४ मेगावाटको आयोजनाको लागत औषतमा यो बढी हो।

कम्पनीले विद्युत् खरिद गर्दाको समयमा अनुमानित लागत ७७ करोड ७८ लाख ३६ हजार उल्लेख गरेको थियो। तर कम्पनीले बैंकको ब्याजदर बढ्नुका साथै भौगोलिक विकटताका कारण अनुमानित कामदारको संख्या भन्दा बढी कामदार परिचालन गर्नु परेको र आयोजना निर्माणका कच्चा सामग्रीहरुको मूल्य बढ्दा लागत बढेको उल्लेख गरेको छ।

प्रतिसेयर आम्दानी ऋणात्मक, नेटवर्थ पनि १०० भन्दा कम

कम्पनीले निष्काशन गरेको प्रक्षेपित वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.२३ ऋणात्मक छ।

यस्तै, प्रतिसेयर आम्दानी पनि १०० रुपैयाँ भन्दा कम नै छ। यस कम्पनीले गत असार मसान्तसम्म आफ्नो प्रतिसेयर नेटवर्थ ९८.८५ हुने प्रक्षेपण गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५८ लाख ८५ करोड नोक्सानी हुने प्रक्षेपण छ।

यस्तै, वास्तविक वित्तीय विवरण अनुसार कम्पनी पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर नोक्सानीमा छ। साथै पछिल्लो तीन वर्ष नै कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुफैयाँ भन्दा कम छ भने प्रतिसेयर पनि ऋणात्मक छ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर आम्दानी ०.२९ ऋणात्मक, २०७७/७८ मा ०.७३ ऋणात्मक र आर्थिक वर्ष २०७८/७९ मा पनि ०.५९ ऋणात्मक नै रहेको थियो।

कम्पनी २०७६/७७ मा १९ लाख ३० हजार, २०७७/७८ मा ३३ लाख ९० हजार र २०७८/७९ मा ४६ लाख ७६ हजार नोक्सानीमा छ।