राजनीतिक प्रतिवेदनबिनै बैठक सुरु गरेका प्रचण्डले भने- हाम्रो पार्टी पार्टीजस्तो भएन



बिजमाण्डू
२०८० साउन १७ गते २१:०६ | Aug 2, 2023
राजनीतिक प्रतिवेदनबिनै बैठक सुरु गरेका प्रचण्डले भने- हाम्रो पार्टी पार्टीजस्तो भएन

काठमाडौं। ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन। पार्टी पुनर्निर्माण ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वीकारोक्ति थियो यो।

Tata
GBIME
Zonsen

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको चौथो केन्द्रीय कमिटीको बैठक बुधबारदेखि सुरु गर्दै प्रचण्डले कमी कमजोरी स्वीकार्नुपर्ने धारणा राखे। सबैभन्दा पहिला प्रचण्डले बैठकलाई सम्बोधन गरे। कमजोरीलाई स्वीकार गर्न नडराउने पार्टी भएको भन्दै सुदृढीकरणमा जानुपर्ने प्रचण्डको भनाइ थियो।

‘हाम्रो पार्टी इतिहासमा यस्तो पार्टीको रूपमा स्थापित भएको छ जसले  आफ्ना कमी कमजोरीलाई स्वीकार्न डराउँदैन। विगतमा हाम्रा केही कमजोरी भएकै छन्। हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौँ। पार्टी एकतालाई अझै सुदृढ गर्ने जमर्को पनि गरेका छौँ,’ प्रचण्डले भनेका थिए। 

बैठक सुरु भएको घोषणा गरेपछि प्रचण्डले बैठक सञ्चालन प्रक्रियाबारे जानकारी गराए। प्रचण्डले एक घण्टा लामो धारणा राखे। १८ जना केन्द्रीय सदस्यले प्रचण्डले राखेको मौखिक प्रस्तावमाथि धारणा राखेका छन्। पार्टी सुदृढीकरणको विषय प्रचण्डको मौखिक मात्र हो।

पार्टी पार्टीजस्तो नभएको बताएका प्रचण्डले आफूले भने पहिलो दिनको बैठकमा राजनीतिक प्रतिवेदन समेत पेस गर्न सकेनन्।

प्रचण्डको राजनीतिक प्रतिवेदन पदाधिकारी बैठकमा एकमत हुन नसकेपछि बिहीबार मात्रै केन्द्रीय सदस्यलाई बाँड्ने भन्दै पेस गरेनन्।

‘आज प्रस्तावको रूपमा मात्रै प्रचण्डले बोल्नुभयो। प्रतिवेदनका लागि भोलि बिहान फेरि पदाधिकारी बैठक बस्छ बालुवाटारमा। पदाधिकारीसँग त होला। त्यो अहिले केन्द्रीय सदस्यसम्म आइसकेको छैन। त्यसमा केही विषयहरू थपिन्छ होला,’ पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने।

५/५ मिनेट बोल्ने समय पाएका केन्द्रीय सदस्यले केहीले सरकारको आलोचना गरेका छन् भने केहीले पार्टीलाई सुधारेर लैजानुपर्ने बताएका छन्। बुधबारको बैठकमा मुख्यगरी ३ विषय प्रचण्डले प्रस्तुत गरेका छन्। 

‘३ महिना वडासम्म गएर पार्टी सदस्यता नवीकरण गर्ने। तीन महिनापछि विधान सम्मेलन। विधान सम्मेलनको तीन महिनापछि विशेष महाधिवेशन गर्ने मुख्य विषय आएका छन्,’ केन्द्रीय सदस्य माधव सापकोटाले भने। 

माओवादी पार्टी जस्तो नभएको बताएका प्रचण्डले भद्रगोल निर्णय गर्न भने छाडेका छैनन्।

बुधबार मात्रै पनि समावेशी बनाउनुपर्ने भन्दै बिहानैको पदाधिकारी र स्थायी कमिटीको बैठकमा विधान संशोधन गरेर २४ जना केन्द्रीय सदस्य थप्ने निर्णय भएको थियो। अब माओवादीमा ४०९ जना केन्द्रीय सदस्य भएका छन्।

२०७८ पुसमा भएको महाधिवेशन भएको २ वर्षपछि पनि प्रचण्डले केन्द्रीय सदस्य थप्न छोडेका छैनन्। सुरुमा २९९ जनाको केन्द्रीय कमिटी हुने गरी महाधिवेशन सकिएको थियो। त्यतिबेला २३६ जना चयन भएका थिए भने बाँकी मनोनयन गर्ने गरी बैठक सकिएकोमा प्रचण्डले गत वर्षको असारमा सम्पन्न बैठकमा पनि केन्द्रीय सदस्य थपेर ३८५ जना बनाए।

प्रचण्डले सूची वाचन गरिरहेका बेला गत वर्षको असारमा बैठकमा विवाद भएको थियो। 

माओवादी कतिसम्म भद्रगोलमा प्रचण्डले चलाइरहेका छन् भन्ने उदाहरणका लागि माओवादीको महाधिवेशनलाई हेरे मात्रै पुग्छ। महाधिवेशनको केही दिनअघिसम्म पनि माओवादीले राष्ट्रिय सम्मेलन भनिरहेको थियो। तर निर्वाचन आयोगले महाधिवेशन नै गर्नुपर्ने भन्दै माओवादीलाई बाध्य बनाएपछि ८औँ महाधिवेशन गरेका थिए प्रचण्डले।

महाधिवेशन सम्पन्न  गरेपछि पनि को को पदाधिकारी छन् भन्ने माओवादी केन्द्रका नेताहरूलाई समेत थाहा थिएन। किनभने नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने बाहेकका घोषणा प्रचण्डले महाधिवेशनको बेला गरेनन्।

२०७८ पुस १९ मा सम्पन्न माओवादीको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष बनाउने बाहेकका पदाधिकारी थाती राख्यो। 

बुधबार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पनि अधिकांश नेताहरूले माओवादीमा प्रणालीगत त्रुटिबारे प्रश्न राखेका थिए। माओवादीका उपमहासचिव वर्षमान पुनले पनि पार्टीलाई सच्याएर लैजानुपर्ने बताए। उनले अहिलेका पछिल्ला प्रकरणमा पनि पार्टी र पार्टी नेतृत्वको सरकार पछि हट्न नहुने बताए।

माओवादीले जनतामा आशा फैलाउनुपर्ने उनको धारणा थियो। ‘सम्भव छ दलहरू सच्चिएर, परीक्षणमा बस्न तयार छ। माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर जनताका सुझावहरू सुन्छौँ,’ पुनले भने।