
काठमाडौं। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो। बैठकमा केन्द्रीय सदस्य, तीन आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी ७५८ जना सहभागी छन्।
बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका अहिलेका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताएका छन्। उनले बैठकलाई सम्बोधन गर्दै मुलुकको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिबाट जनतामा आशा जागेको बताए।

दाहालले यो स्थितिलाई संगठनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले केन्द्रीय समितिको बैठक बस्न ढिला हुनुमा राजनीतिक समीकरणलाई मुख्य कारण भने। केन्द्रीय समितिको बैठक एक वर्षपछि बसेको हो। पछिल्लो बैठक २०७९ असारमा बसेको थियो। ६/६ महिनामा बैठक बस्नुपर्ने व्यवस्था पार्टी विधानमा छ। बैठक साउन २१ गते सम्म चल्ने तालिका छ।