
गत सेप्टेम्बरमा उज्वेकिस्तानमा भएको एक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिडियासामु नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भनिदिए, ‘अबको युग युद्धका लागि होइन।’
जब पश्चिमा देशहरुले रुससँगको व्यापारिक सम्बन्ध कटौती गर्दै थिए, त्यहीबेला भारतले रुससँग सस्तो दरमा तेल किन्ने सम्झौता गर्यो। त्यसपछि साउदी अरेबिया र इराक नभई भारतका लागि रुस सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता देश बन्यो।
भारतले युक्रेनविरुद्ध रुसको युद्धलाई प्रत्यक्ष समर्थन पनि गरेन। तैपनि पश्चिमा देशहरुसँग सम्बन्ध नबिगारी सस्तो तेल भित्र्याउने रणनीतिमा सफल बन्यो। भारतले यतिबेला यसरी आफ्नो रणनीति बनाइरहेछ जहाँ कसैगरी पनि उसका लागि अवस्था ‘फेवरेवल’ बनोस्।
बितेका केही दशकको अथक प्रयासका कारण नै चीन विश्व मानचित्रमा आर्थिक शक्तिकेन्द्रका रुपमा उदाएको थियो। अबको समय भारत त्यही बाटोतर्फ अग्रसर भइरहेको देखिन्छ। विश्वकै पाँचौ ठूलो अर्थतन्त्रले ठूला लगानीकर्ता तथा उद्यमलाई आकर्षित गरिरहेको छ।
सन् २०२० मा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले लेखेको किताब ‘द इन्डिया वे: स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड’ सार्वजनिक भयो जसमा विगतमा भारत विदेश नीतिमा कहाँ कहाँ कसरी चुक्यो भन्ने उल्लेख छ।
उनले भारतले गरेका केही गम्भीर त्रुटिबारे लेखेका छन्, ‘भारत विगतमा भएको गम्भीर गल्तीको बोझ बोकेर हिँडिरहेछ। सन् १९४७ मा बेलायतशासित भारतबाट पाकिस्तान छुट्टिनुले नै भारतलाई जनसांख्यिक तथा राजनीतिक रुपमा खुम्च्याइदिएको हो।’
उनले पुस्तकमा भारत पाकिस्तान विभाजनले एसियामा चीनलाई अझ बढी रणनीतिक रुपमा विस्तार हुन सफल बनाएको उल्लेख गरेका छन्। मोदी शासित भारत अबका दशकमा अर्थतन्त्रलाई तीब्र छलाङका साथ चीनलाई टक्कर दिने अवस्थामा पुग्ने महत्त्वाकांक्षा बोक्छ।
विश्व व्यापारमा केही ठूला कम्पनी तथा लगानीकर्ताले एसियाली देश भारतलाई आफ्नो बृहत् लगानीको उपयुक्त गन्तव्यका रुपमा पछ्याइरहेका छन्।

वालस्ट्रिट बैंक गोल्डम्यान साचको अनुमानलाई आधार मान्ने हो भने भारत सन् २०७५ सम्ममा अमेरिकाभन्दा ठूलो बन्दैछ। उ त्यसबेला चीनपछिको विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्नेछ।
बैंकिङ कम्पनी गोल्डम्यान साचले दक्षिण एसियाली देश भारतको सन् २०२२ को अन्त्यमा ३.४ ट्रिलियन डलर रहेको जीडीपी सन् २०७५ सम्म बढेर ५२.५ ट्रिलियन अमेरिकी डलर पुग्ने जनाएको छ। बैंकले त्यसबेला चीनको जीडीपीको आकार ५७ ट्रिलियन अमेरिकी डलर र अमेरिकी अर्थतन्त्रको आकार ५१.५ ट्रिलियन डलर पुग्ने अनुमान पनि गरेको छ।
गोल्डम्यान साचले यसका लागि भारत र चीन दुवै देशमा ‘बुम’ भइरहेको प्रविधि क्षेत्र, बढ्दो पुँजी तथा लगानी र बढ्दो युवा जनसंख्यालाई आधार मानेको छ।
अत्याधुनिक प्रविधितर्फको अग्रसरता, उदाउँदो सेयर बजार र युवाबाहुल्य जनसंख्याले भारतलाई लगानी तान्न आकर्षित गरेको विश्लेषकहरुको भनाई छ।
विश्व व्यापारमा केही ठूला कम्पनी तथा लगानीकर्ताले एसियाली देश भारतलाई आफ्नो बृहत् लगानीको उपयुक्त गन्तव्यका रुपमा पछ्याइरहेका छन्।
भारतलाई आउँदा वर्षहरुमा उसको युवा बाहुल्य जनसंख्या, गुल्जार सेयर बजार र बलियो प्रविधि उद्योगले साथ दिने छ।
इलन मस्कले भारतमा आँखा लगाएको दुई वर्ष भयो। सन् २०२१ मा टेस्लाका सीईओ मस्कले भारतमा ईभी उत्पादन फ्याक्ट्री निर्माण गर्न तत्पर रहेको तर त्यसका लागि भारत सरकारले टेस्लाको आयात शुल्क घटाउनुपर्ने सर्त राखेका थिए।
टेस्ला गाडी आयात गर्नका लागि सफल भएमा मात्रै उनले भारतमा फ्याक्ट्री निर्माण गर्ने भन्दै ट्वीट गरेका मस्कले लगातार भारतमा आँखा गाडिरहे। त्यसबेला उनले भनेका थिए, ‘हामीले भारतमा फ्याक्ट्री निर्माण गर्न चाहेका हौं तर भारतमा गाडी आयात कर अति नै उच्च भयो।’
त्यसबेला मस्कले जे चाहेका थिए त्यो सन् २०२३ मा आएर साकार हुने क्रम नजिक पुगेको छ। गत महिना भारतीय प्रधानमन्त्री मोदीसँग भेटेलगत्तै अर्बपति उद्यमी मस्कले भने, ‘टेस्लाले जतिसक्दो चाँडो भारतमा आफ्नो उपस्थिति जनाउनेछ।’
रोयटर्सका अनुसार टेस्लाले भारतमा फ्याक्ट्री निर्माण गर्ने तथा २४ हजार अमेरिकी डलरमै टेस्ला उपलब्ध गराउने महत्वाकांक्षी योजनामा काम गरिरहेको छ। मस्कले टेस्लाको फ्याक्ट्री स्थापनाका लागि उपयुक्त स्थान छान्न सरकारी अधिकारीसँग मिति तय भएको पनि बताइएको छ।
इमर्जिङ मार्केट्स इन्भेष्टर मार्क मोबियोसले भारतलाई अबको ‘वास्तविक भविष्य’ भन्दै प्रशंसा गरेका छन्। उनले भारतको उच्च वृद्धि दरलाई लक्षित गर्दै उक्त विश्लेषण गरेका हुन्।
चालु आर्थिक वर्ष भारतको जीडीपी ७.२ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ र यसै तथ्यांकका आधारमा उनले भारतको भविष्य सुनौलो देखेका हुन्। यो दर एसिया तथा प्रशान्त क्षेत्रका ४६ देशमध्ये सबैभन्दा बढी हो।
‘यदि कुनै देशको वृद्धि दर ७ प्रतिशत छ भने कुनै पनि राम्रो कम्पनीले त्यसलाई दोब्बर बनाउन सक्छ’, उनले भने।
एप्पलले आफ्नो लेटेस्ट आइफोन १४ भारतमा एसेम्बल थालिसकेको छ। ताइवानको फक्सकनले भारतीय कम्पनी बेदान्तसँग मिलेर भारतमा सेमिकन्डक्टरको उत्पादन थालेको हो।

भारतको भविष्य र आर्थिक क्षमतालाई लिएर ठूला टेक कम्पनीहरु पनि उत्साहित छन्। एप्पलका सीईओ टिम कुकले सन् २०१७ मै लगानीकर्ताहरूसँग भनेका थिए, ‘म भारतलाई लिएर धेरै नै उत्साहित छु।’
उनको भारततर्फको झुकाव हालै एप्पलको दुई आउटलेट भारतमा खुल्नुले पनि पुष्टि गर्छ। उनले भारतमा युवा जनसंख्या धेरै भएको र बढ्दो मध्यम वर्गमा अत्याधुनिक र महँगा प्रविधिको उपभोगमा उच्च भोक देखिएको विश्लेषण गरेका थिए।
एप्पलले आफ्नो लेटेस्ट आइफोन १४ भारतमा एसेम्बल थालिसकेको छ। ताइवानको फक्सकनले भारतीय जायन्ट बेदान्तसँग मिलेर भारतमा सेमिकन्डक्टरको उत्पादन थालेको हो।
भारतले विश्वका विविध मुद्दामा आफ्नो आवाज बुलन्द गर्ने र भूमिका विस्तार गर्ने लक्ष्यका साथ धेरै अघिदेखि काम थालेको हो। विशेषगरी मोदी सरकारको यो महत्वाकांक्षा विश्वका विभिन्न फोरमहरुमा प्रत्यक्षरुपमा झल्किन्छ। गत जनवरीमा आयोजित अनलाइन मिटिङ भ्वाइस अफ द ग्लोबल साउथ समिटलाई सम्बोधन गर्दा पनि उनले यसको छनक दिएका थिए।
उक्त कन्फ्ररेन्समा १२५ विकासशील देशले भाग लिएका थिए जहाँ विशेष नीतिगत क्षेत्रहरुमा लक्षित रहेर छलफल चलेको थियो। उक्त छलफलमा अन्य विकासशील देशलाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘तपाईंहरुको आवाज नै भारतको आवाज हो र तपाईंहरुको प्राथमिकता नै हाम्रो प्राथमिकता। हाम्रो लक्ष्य दक्षिणी विश्वमा हाम्रो आवाजलाई बुलन्द बनाउनु हो।’
खासमा भारतको लक्ष्य दक्षिणी विश्वलाई मात्र नेतृत्व गर्ने होइन भन्ने कुरा उसको बढ्दो आत्मविश्वासले पुष्टि गरिसकेको छ। उ त विश्व अर्थतन्त्रकै एक जल्दोबल्दो ‘पावर हाउस’ बन्न चाहन्छ। जनसंख्यामा चीनलाई समेत उछिनिसकेको भारत अबका दशकमा विश्वका दुई ठूला अर्थतन्त्रलाई अत्याउने गरी अघि बढ्न चाहन्छ।
हाल चीनभित्र कोभिड महामारी नियन्त्रणका कारण उत्पन्न व्यापार अवरोध तथा चीन र अमेरिकाबीच उत्पन्न द्वन्द्वले भारतीय प्रधानमन्त्री मोदीलाई पृथक स्थितिमा उभ्याइदिएको छ जहाँ उनी विश्वको आपूर्ति शृंखलामा पैदा भएको जटिलतालाई प्रभावित पार्ने हैसियत राख्छन्।

भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै गर्दा मोदीले भारतलाई सन् २०४७ सम्ममा विकसित देशहरुको सूचीमा उकाल्ने प्रण समेत गर्नुबाट उसको आत्मविश्वास झल्किन्छ।
जीडीपीका आधारमा भारतले सन् २०२५ सम्ममा हाल तेस्रो स्थानमा रहेको जर्मनीलाई उछिन्ने प्रक्षेपण गरिएको छ। चौथो स्थानमा रहेको जापानलाई सन् २०२७ सम्ममा उछिन्ने अनुमान गरिन्छ।
भारत व्यापार र राजनीतिमा मात्र नभई प्रविधि उद्योगमा पनि बुलन्द छ। अमेरिकी प्रविधि उद्योगमा सत्य नाडेला, सुन्दर पिचाइ जस्ता भारतीय मूलका एक्सपर्टहरुले नै नेतृत्व दिइरहेका छन्। भारतीय मूलकै कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति छन् भने बेलायतका प्रधानमन्त्री ऋषि सुनक भारतीय मूलकै हुन्।
ग्लोबल प्रोफाइलमा सफल देखिएको भारत अब आफ्नो देशलाई उच्च क्षमता तथा सम्भावना भएको बजारका रुपमा चिनाउन अग्रसर छ। जतिसक्दो धेरै वैदेशिक लगानी आकर्षित गर्ने गरी सरकारले बनाएको नीतिले उसको सम्भावनालाई अझ बलियो बनाउँदै लैजान्छ।
सन् २०२२ मा जापानी उद्योगहरुका लागि जापान बैंक फर इन्टरनेसनल कर्पोरेसनले गरेको एक सर्वेक्षण अनुसार विश्वमा लगानी विस्तारको सम्भावित गन्तव्य सूचीको पहिलो स्थानमा भारत नै छ।
ब्रिजवाटर एसोसिएट्सका संस्थापक अर्बपति लगानीकर्ता रे डालियो भन्छन्, ‘अबको विश्वका लागि भारत नै लगानीको गन्तव्य हो।’ विशेषगरी वासिङटन र बेइजिङबीच तनाव बढ्दै जाँदा भारतले त्यो अवसर लिन सक्ने उनी देख्छन्।
‘यो समय प्रधानमन्त्री मोदीको मात्र नभई भारतको पनि हो। यतिबेला भारत र मोदी सन् १९८० को सुरुवातको दशकको चीन र देङ जियाओपिङकै जस्तो समान अवस्थामा छन्, र यो स्थितिमा भारत तीब्र वृद्धि दरका साथ विश्वमै अग्रगामी छलाङ तथा रुपान्तरणका लागि तयार देखिन्छ’, उनले भने।
हाल चीनभित्र कोभिड महामारी नियन्त्रणका कारण उत्पन्न व्यापार अवरोध तथा चीन र अमेरिकाबीच उत्पन्न द्वन्द्वले भारतीय प्रधानमन्त्री मोदीलाई पृथक स्थितिमा उभ्याइदिएको छ जहाँ उनी विश्वको आपूर्ति शृंखलामा पैदा भएको जटिलतालाई प्रभावित पार्ने हैसियत राख्छन्।
डालियो भन्छन्, ‘अब भारतले विश्वका दुई महाशक्ति चीन र अमेरिकासँग तटस्थ रहेर डिल गरिरहेका अन्य अर्थतन्त्रलाई आफूतर्फ आकर्षित गर्न सक्छ।’