काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ (टीआरसी)लाई संशोधन गर्न बनेको विधेयकमा कांग्रेसले बल्ल आफ्नो धारणा बनाएको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले टीआरसी विधेयकमा साझा धारणा बनाएको हो।
गम्भीर मानवअधिकार उल्लंघनका घटना र मानव अधिकार उल्लंघनका घटनालाई वर्गीकृत गरी गम्भीर उल्लंघन घटनामा पीडकलाई उन्मुक्ति दिन नहुने तथा त्यसबाहेकका उल्लंघनका घटनामा भने मेलमिलाप गर्नुपर्ने धारणा बनाएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। बैठकमा अधिकांश नेताले सर्वोच्च अदालतको आदेशका आधारमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए।
‘गम्भीर मानव अधिकार उल्लंघनका घटनाबाहेकमा मेलमिलाप गरेर अगाडि बड्नुपर्छ भन्ने सुझाव आएको छ’, विश्वकर्माले भने, ‘मेलमिलाप गराउँदा पीडितको कुरालाई प्राथमिकता दिने कुरा भयो। अब यिनै सुझाव अनुसार विधेयकमाथि धारणा राख्ने काम हुन्छ।’ विधेयक अहिले प्रतिनिधि सभाको कानुन समितिमा छलफलको क्रममा छ।
तोकिए जिल्ला जाने नेता
कांग्रेसले संगठन सुदृढीकरणका लागि जिल्ला जिल्लामा जाने नेताहरुको टुंगो लगाएको छ। केन्द्रीय समिति बैठकबाट तय गरिएको विशेष आन्तरिक अभियानका लागि जिल्ला जाने नेताहरुको टुंगो लगाएको विश्वकर्माले बताए।
यसरी जिम्मेवारी पाउनेमा सहमहामन्त्रीदेखि पूर्व केन्द्रीय सदस्यसमेत छन्। उनीहरुले साउन २० देखि ३० गतेभित्र जिल्ला जिल्ला पुगेर तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेछ।
प्रचार विभागको निर्देशिका परिमार्जन
प्रचार विभागले आफ्नो निर्देशिका सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ। विभागको मंगलबार बसेको बैठकले निर्देशिका पारित गरेको हो। विभाग प्रमुख विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।
बैठकले विभागका सदस्यहरुका लागि सूचना प्रविधिसम्बन्धी पुनर्ताजगी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। कार्यक्रमको मिति, समय र स्थान प्रमुख विश्वकर्माले तोक्ने छन्।