सेयर बजार : अपर तामाकोशीको कारोबार शिवमभन्दा अघि, कारोबार रकममा हिजोभन्दा सुधार

बिजमाण्डू
२०८० साउन १६ गते १५:३९ | Aug 1, 2023
सेयर बजार : अपर तामाकोशीको कारोबार शिवमभन्दा अघि, कारोबार रकममा हिजोभन्दा सुधार


काठमाडौं। सधैंजसो कारोबारको शीर्ष स्थानमा देखिने शिवम् सिमेन्टलाई मंगलबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीले उछिनेको छ। तामाकोशीको ८ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ७ करोड ९ लाखको सेयर किनबेच भएको छ।

Tata
GBIME

तामाकोशीले आज नै साधारण सभाको मिति तोकेको छ। कम्पनीले हकप्रद ल्याउन साउन २६ गतेका लागि बुक क्लोज तोकेको छ। उक्त दिनभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि आवेदन दिन पाउने हुँदा कम्पनीको सेयर कारोबार बढेको हो।

यस्तै मंगलबार सोल्टी होटलको ६ करोड बराबरको सेयर कारोबार भएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएदेखि नै निरन्तर घटेको बजार सोमबार सामान्य अंकले बढेर बन्द भएको थियो। त्यो वृद्धि आजसम्म टिक्न सकेन।

सेयर बजार २८.५९ अंकले घटेर २०७७.५८ बिन्दु तल झरेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ५.१३ अंकले घटेको छ। मंगलबार २१०६ बिन्दुबाट सुरु भएको बजार १२ बजेसम्म बढेर २१२४ सम्म पुगेको थियो। तर त्यसपछि भने बजार निरन्तर तल झर्न सुरु गरेको हो।

कारोबारमा देखिएका १३ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबैजसो घटेका छन्। असार मसान्तसम्म नोक्सानीमै रहेका म्युचुअल फन्डहरुले पनि प्रतिफल घोषणा गरेपछि लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन्। आज यस समूह ०.३५ प्रतिशतले बढ्यो। असार मसान्तको तथ्यांकअनुसार वित्तीय विवरण सार्वजनिक गरेका ३३ म्युचुअल फन्ड नाफामा छन् भने नोक्सानी रहेका २ वटाले पनि प्रतिफल घोषणा गरिसकेका छन्।

दिनभरको कारोबार अवधिमा १ अर्ब ९२ करोड बराबरको सेयर कारोबार भएको छ। कारोबार रकम सोमबारको तुलनामा सामान्य बढेको छ। सोमबार १ अर्ब ८५ करोड बराबरको कारोबार भएको थियो।