काठमाडौं। अमेरिकाको न्युयोर्कमा स्थापना भएको ‘नेपाल टी कलेक्टिभ’ले स्वदेशमा पनि कारोबार थालेको छ। निश्चल बाँस्कोटा र प्रतीक रिजालको नेतृत्वमा रहेको कम्पनीले नेपालकै अर्गानिक, साना तथा सामुदायिक खेतीबाट प्राप्त अर्थोडक्स चियाको बिक्री विश्वबजारमा गर्छ।
नेपाली चिया विदेशमा पुर्याइरहेको कम्पनीले कस्तो गुणस्तरको बिक्री गर्दैछ भनेर जान्न चासो राख्ने नेपालीले स्वदेशमै पनि खरिद गर्न पाउने भएका हुन्।
‘नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिन्छ,’ बाँस्कोटाले भने, ‘ती चिया नेपाली स्वयंले पनि स्वाद लिनुपर्छ भनेर नेपालमा पनि सेवा थालेका हौं।’
उनका अनुसार विशिष्ट गुणस्तरको प्रमाणस्वरुप नेपाल टी कलेक्टिभका लुज-लिफ चिया र अर्गानिक मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका छन्।
‘न्युयोर्क टाइम्स र फोर्ब्समा नेपाली चियाबारे समाचार प्रकाशन भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौं,’ उनले भने।
सन् २०१६ देखि अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई अर्थोडक्स चिया बिक्री गर्दै आएको कम्पनीले हालसम्म १ करोड कप चिया बिक्री गरिसकेको उनले जानकारी दिए।
चिया उद्योगमा हावी रहेको पुराना सप्लाइ चेनलाई तोड्ने अवधारणाका साथ अगाडि बढेको उनले बताए।
आफूसँग सम्बद्ध किसानलाई सिधै विश्वका ग्राहकसँग जोड्दै ग्राहक-उत्पादक दूरी नै कम बनाउँदै लैजाने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
नेपालमा चिया बिक्रीका लागि कम्पनीले सह-संस्थापकका रूपमा एक वर्ष अमिगो खड्कालाई नियुक्त गरेको छ। वालस्ट्रिटमा काम गर्नुका साथै विभिन्न व्यवसाय स्थापना तथा विस्तारसम्मको अनुभव बटुलेका खड्काले नेपाली चियालाई विश्वव्यापीको घरेलु ब्रान्ड बनाउने उद्देश्य रहेको बताए।
‘हामी नेपाली चियाप्रेमीसँग पनि यस्तै सम्बन्ध बनाउन चाहन्छौँ। हाम्रो संस्कृतिमा सीटीसी चिया हावी भएको छ र धेरै नेपाली नेपालका अर्थोडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन्,’ खड्काले भने, ‘अब नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको सराहना गर्न सिक्ने बेला आएको छ।’
४० वर्षअघि बुबाआमाले थालेको व्यवसाय
४० वर्ष अगाडि बाबुआमाले फिदिमबाट सुरु गरेको ‘कञ्चनजंघा टी स्टेट’लाई अमेरिकामा लगेर उनीहरुले बजारीकरण गरे। बाँस्कोटा अहिले वार्षिक ४ करोड रुपैयाँ आम्दानी गर्दै आएको जिकिर गर्छन्।
उनका अनुसार नाफाको १ प्रतिशत किसानसँग बाँड्दै आएको कम्पनीले यो वर्ष १३ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने लक्ष्य राखेको छ। पाँच वर्षयता किसानको आम्दानीमा मात्र ३३ प्रतिशतले वृद्धि भएको छ।
उद्योग व्यवसायभन्दा पनि नेपाली चियालाई विश्वबजारमा प्रवर्द्धनसँगै किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्य रहेको उनले बताए। ‘नेपालबाट निर्यात हुँदै आएमध्ये ९६ प्रतिशत भारतमा आयात हुने गरेको छ। ती चिया नेपाली नै भए पनि अन्तर्राष्ट्रिय बजारमा भारतीय ब्राण्डमा बिक्री भइरहेका छन्,’ उनले भने,’नेपाली चियालाई विश्वभर चिनाउनु नै हाम्रो मूल उद्देश्य हो।’
कम्पनीले चिया पर्यटन प्रवर्द्धनका लागि अमेरिकी चिया पारखीहरुलाई नै नेपाल ल्याएर विभिन्न गन्तव्यसँगै बगान घुमाउने र चिया प्रशोधन देखाउँदै आएको छ।
सोसल इन्टरप्राइजेज अवधारणा
१२ वर्षअघि अमेरिकामा उच्च शिक्षा लिन गएका उनी भूकम्पको समयमा घर आएका थिए। घर पुग्दा चिया र किसानको अवस्थाबारे बुझे। बिचौलियाका कारण किसान अन्योलमा थिए।
बाँस्कोटाले भने, ‘बिजनेस स्टडी सकिएलगत्तै उता बैंकमा जब मिलेको थियो। भूकम्पको समयमा यता आउँदा मनस्थिति बदलियो। समाजसेवा र व्यापारसँगै अगाडि बढाउने अवधारणा फुर्यो। अनि बिजनेस र सोसल सर्भिस मर्ज गरेर सोसियल इन्टरप्राइजेज कम्पनी स्थापना गरेको हुँ।’
यसमा साथ दिनका सन् २०१६मा उनीसँग जोडिए भान्जा प्रतीक । सुरुमा तीन सय किलोबाट कारोबार सुरु गरेको कम्पनीले यतिखेर वार्षिक २५ हजार टन चिया विश्वबजारमा बिक्री गर्दै आएको छ। इलाम, पाँचथर र सोलुखुम्बुमा उत्पादन हुँदै आएको चिया नेपालमै प्रशोधन र प्याकेज भएर निर्यात हुँदै आएको उनले जानकारी दिए।
‘बिचौलियामार्फत चिया निर्यात हुँदा ६ महिनादेखि एक वर्ष लाग्थ्यो। यो अवधिमा चियाको ताजगी स्वाद नै हराउने समस्या अब भोग्नु पर्ने भएन,’ उनले भने,’यसैकारण हाम्रो प्रोडक्टको विभिन्न मुलुकबाट राम्रो माग आइरहेको छ।’
उनका अनुसार कम्पनीले नेपालबाट उठाउने चियामध्ये करिब ७० प्रतिशत आफ्नै बगानको हुन्छ। स्कटिसहरुको स्कच, फ्रेन्चहरूको वाइन र स्वीसहरूको चकलेट भने जस्तै नेपालीहरूको लागि चिया नै विशेष रहेको उनी मान्छन्।
कम्पनीले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटीसहितका मिश्रणको उत्कृष्ट विविधता समावेश गरेको जनाएको छ।
चियाको प्रकार | मूल्य (५० ग्राम) |
लुज लिफ टी | २४९/- |
हाइ क्वालिटी लुज लिफ टी | ७९९/- |
प्रिमियम सिल्भर टिप्स टी | १४९९/- |
कम्पनीले कञ्चनजंघा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया बिक्री गर्दै आएको छ।