दुई महिनामा मध्यभोटेकोशी तयार हुँदै, प्राधिकरणलाई बाह्रबिसेमा छिट्टै सबस्टेसन तयार पार्नु पर्ने दबाब

बिजमाण्डू
२०८० साउन १४ गते १३:४२ | Jul 30, 2023
दुई महिनामा मध्यभोटेकोशी तयार हुँदै, प्राधिकरणलाई बाह्रबिसेमा छिट्टै सबस्टेसन तयार पार्नु पर्ने दबाब


काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब परेको छ।

Tata
GBIME

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सक्न प्राधिकरणलाई दबाब परेको हो।

मध्यभोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी हाल अन्तिम चरणका कामहरु भइरहेका छन्। मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ।

आयोजनाले आफ्नो विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ।

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ।

प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक-पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको हो। प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गर्‍यो। टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो।

कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताए। श्रमिकको संख्या थप गरी निर्माणमा तीव्रता दिन निर्देशन दिँदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिक रुपमा सबस्टेसनस्थल आएर नियमित अनुगमन गर्ने बताए।

‘पावर ट्रान्सफर्मर लगायतका सबस्टेसन राखिने उपकरणहरु निर्माणस्थलमा आइसकेका छन्, निर्माणमा ढिलाइ गर्नु पर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौं,’ उनले भने, ‘तीन महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नुपर्छ नत्र मध्यभोटेकोशीको विद्युत् खेर फाल्नु पर्ने पीडादायी अवस्था आउन सक्छ, त्यसैले यसलाई ध्यान दिएर सबैले काम गरौं।’

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर लगायतका उपकरणहरु ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन्। सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन्। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ।

प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ। तर त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ।

२२ मेगावाटको माथिल्लो चाकू ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ। शिवश्री हाइड्रोपावरले लामोसाँघू सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन।

कम्पनीले करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर चार सर्किट (मल्टी सर्किट) प्रसारण लाइन बनाउनु पर्ने छ। तर कम्पनीले अहिलेसम्म उक्त काम सुरु नै गरेको छैन।

प्राधिकरणको उच्चस्तरीय टोलीले निर्माणको काम तत्काल सुरु गर्न कम्पनीलाई आग्रह गरेको छ। प्राधिकरणले लामोसाँघू सबस्टेसनमा बे विस्तारको काम गरिरहेको छ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ।

तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ।

त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन्। लप्सीफेदीमा ४००/२२० र १३२/११ केभी सबस्टेसन निर्माण स्थानीयको अवरोधका कारण प्रभावित भएको छ।