एसियाली खेलकुदलाई २१ करोड: योपटक घट्यो भत्ता, केही खेलाडी पोखरा केही विदेशमै प्रशिक्षणमा



मुकुन्द घिमिरे
२०८० साउन ११ गते २२:४१ | Jul 27, 2023
एसियाली खेलकुदलाई २१ करोड: योपटक घट्यो भत्ता, केही खेलाडी पोखरा केही विदेशमै प्रशिक्षणमा

काठमाडौँ: आउँदो असोज ६ (सेप्टेम्बर २३) बाट चीनको हाङजाओमा एसियाली खेलकुद सुरु हुँदैछ। असोज २१ (अक्टोबर ८) सम्म चल्ने प्रतियोगितामा सहभागी हुन नेपालमा पनि धमाधम तयारी सुरु भएको छ।

Tata
GBIME
Zonsen

सरकारले एसियाली खेलकुदका लागि बजेटमै ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर, यो रकम अपुग भएको भन्दै अर्थ मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषदले लबिङ सुरु समेत गरेको छ।

राखेपका तालिम तथा प्रशिक्षण निर्देशक तथा तयारी व्यवस्थापन समितिका सचिव प्रचण्ड शर्माले ३१ करोडका लागि अर्थ मन्त्रालयमा लबिङ गरेको बताए। तर अर्थ मन्त्रालयबाट १४ करोड थपिएपछि कुल खर्च २१ करोड पुर्‍याइएको शर्माले बताए।

‘हामीले ३१ करोड मागेको हो। २१ करोड प्राप्त भएको छ। तयारीदेखि सबै खर्च यसैबाट पुर्‍याउनुपर्छ ,’ शर्माले भने।
यद्यपि राखेपकै अर्का ‘स्टेकहोल्डर’ले २४ करोडमात्र माग भएको र २१ करोड प्राप्त भएको बताए।

एथ्लेटिक्सका खेलाडी एसियन गेम्सको तयारीमा। तस्बिर : राखेप

कहाँ र कसरी हुँदैछ तयारी?

एसियन गेम्सको तयारीका लागि असार १ गतेबाट ट्रेनिङ सुरु भएको थियो। सो महिना काठमाडौँ उपत्यकाबाहिरका खेलाडीलाई १६ सय र उपत्यकाका खेलाडीलाई ९ सय रुपैयाँ प्रतिदिन भत्ता उपलब्ध गराएर तालिम सुरु गरेको शर्मा बताउँछन्।

उनका अनुसार भदौ १ गतेबाट विशेष प्रशिक्षण चलिरहेको छ। हाल सबै खेलाडीले दैनिक २ हजार भत्ता प्राप्त गर्नेगरी विशेष प्रशिक्षण सुरु भएको छ। सन् २०१९ मा सम्पन्न दक्षिण एसियाली खेलकुदमा भन्दा यो ७ सय रुपैयाँ कम हो।

करातेका खेलाडी एसियन गेम्सको तयारीमा। तस्बिर: राखेप

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ देश आर्थिक संकटमा गइरहेको अवस्थामा भत्ता घटेको भए पनि चित्त बुझाउने ठाउँ भएको तर्क गर्छन्।

‘सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा (साग) मा २७ सय ५० रुपैयाँ थियो। तर यसपाला २ हजार रुपैयाँ छ। सरसर्ती हेर्दा पैसा कम नै हो,’ एसियाली खेलकुदको बजेटका लागि लबिङ गर्ने अर्थ मन्त्रालय जाँदाको प्रसंग जोड्दै श्रेष्ठ भन्छन्, ‘अर्थ मन्त्रालयका अधिकारीहरुले राज्यसँग पैसा नभएको भन्दै २९ वटै खेल किन जानुपर्‍यो र भनेर प्रश्न गरे। अलि खेल घटाए पनि हुन्थ्यो होला। सकेसम्म नगए पनि हुन्थ्यो होला। भन्ने किसिमका पनि कुरा आए।’

उनका अनुसार सदस्य सचिवले एसियाली खेलकुद नेपाली खेलाडीले छनोट नखेली सहभागिता जनाउन सक्ने सबैभन्दा ठूलो प्रतियोगिता भएको भनेर कन्भिन्स गरेको बताए।

राखेप सदस्य सचिव टंकलाल घिसिङले भने थप बजेटका लागि अझै पहल भइरहेको बताए।

‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौं । २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ।’ सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा घिसिङले भने।

राखेप सदस्यसचिव टंकलाल घिसिङ। तस्बिर: राखेप

सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न बताउँदै कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव गर्न आग्रह गरे। साथै, उनले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयारी गरी प्रक्रिया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिए ।

हाल तयारीका क्रममा रहेका सबै खेलाडीलाई होटलमा राखिएको छ।

बक्सिङका खेलाडी अभ्यास गर्दै। तस्बिर: राखेप।

‘असार १ गतेबाट विशेष प्रशिक्षण सुरु भएको हो। साउन १ गतेबाट बाट होटलमा राखेर प्रशिक्षण भइरहेको छ,’ सचिवालयका प्रचण्ड शर्माले भने।
कुस्ती, टेबलटेनिस, बक्सिङलगायत केही खेलमा भने वैदेशिक प्रशिक्षण पनि सुरु गरेका छन्।

जुडो, भलिबल, केहीले विदेशी प्रशिक्षक ल्याएर प्रशिक्षण गराइरहेका छन्। पौडी, फेन्सिङ र केही खेलका खेलाडी विभिन्न देशमा आयोजित प्रतियोगितामा छन्। आर्चरी, भारत्तोलनलगायतका खेलको तयारी पोखरामा भइरहेको छ।

‘प्राथमिकतामा परेका खेल तेक्वान्दो, कराते र बक्सिङ हुन्। यी तीनमध्ये तेक्वान्दोको तयारी कोरियामा भइरहेको छ। बक्सिङको भारतमा र करातेको यहीँ ट्रेनिङ भइरहेको छ,’ सचिव शर्माले भने। उनका अनुसार विदेश प्रशिक्षणमा खेल संघको सम्बन्धका आधारमा विदेशमा प्रशिक्षण गरिरहेको बताए।

एसियन गेम्सको तयारीमा महिला कबड्डी टोली। तस्बिर: राखेप।

चीनमा नेपालबाट २९ खेलमा २ सय ३४ खेलाडीको सहभागिता रहने राखेप सदस्यसचिव टंकलाल घिसिङले बताएका छन्।

‘नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ। खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरे खेलाडी संख्या २३४ पुर्‍याउन सफल भयौं।’ उनले भने।

टर्च र्‍यालीमा दिपक
१९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च र्‍यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दिपक महर्जन सहभागी हुने सदस्य सचिव घिसिङले बताए।

दीपक महर्जन। तस्बिर: राखेप

टर्च र्‍यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ। दिपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन्।

त्यस्तै नेपाली टोलीको नेतृत्व गर्ने ‘सेभ दी मिसन’ सदस्य सचिव घिसिङ हुने बताइएको छ।

चीनमा प्रतियोगिताका लागि कस्तो हुँदैछ तयारी?

चीनमा हुने एसियाली खेलकुदका लागि ४५ देशका ओलम्पिक कमिटीले दर्ता गरिसकेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ।

‘हामीले यो खेलकुद उत्सवका लागि विभिन्न एसियाली देश र क्षेत्रका सबै खेलाडीहरूको उच्च अपेक्षा महसुस गर्न सक्छौं।’ हाङझाव एसियाली खेलकुद आयोजक समितिका उपाध्यक्ष र प्रेस पोर्ट जनरल प्रेस कन्फरेन्सका अध्यक्ष झोउ जिनछियाङले भने।

झोउका अनुसार चीनले आफ्नो कोभिड-१९ रणनीतिलाई अनुकूल बनाएपछि चीनमा आयोजना गरिएको सबैभन्दा ठूलो र उच्च स्तरको प्रतियोगिता हो।

एसियन गेम्सको मुख्य खेलस्थल। Photo: VCG

परम्परागत खेलकुदबाहेक खेलहरूले पहिलोपटक आधिकारिक कार्यक्रमहरूको रूपमा इस्पोर्ट र ब्रेकडान्सिङ पनि प्रस्तुत हुनेछन्। एसियाभरका १२ हजार भन्दा बढी खेलाडी, ५ हजार टिम अफिसियल, ४ हजार ७ सय टेक्निकल अफिसियल, १२ हजार बढी मिडिया रिपोर्टर र लाखौं दर्शकले भाग लिने अपेक्षा गरिएको छ।

झोउका अनुसार १९ औँ एसियाली खेलकुदमा ४० मुख्य कार्यक्रम, ६१ सहायक कार्यक्रम र ४८३ साना कार्यक्रम हुनेछन्। यी कार्यक्रमहरूमा मुख्य ओलम्पिक खेल जस्तै ट्र्याक र फिल्ड, पौडी खेल्नुका साथै मार्सल आर्ट, क्रिकेट लगायतका खेल समावेश छन्।

मुख्य भेन्यु हाङझाव ओलम्पिक खेलकुद केन्द्र स्टेडियम हाल चीनमा ८० हजारभन्दा बढी मानिसहरूको क्षमता भएको तीन खेल स्टेडियममध्ये एक हो। यसमा हङझाउ एसियाली खेलकुद र एसियाली पारा खेलकुदको उद्घाटन र समापन समारोहका साथै एथलेटिक्स प्रतियोगिता पनि आयोजना हुनेछ।