७ दिनको बैठकमा देउवाको ४ मिनेटः आलोचना नभएकोमा दंग, यी हुन् बैठकका निर्णय



नेत्र तामाङ
२०८० साउन १० गते २१:०८ | Jul 26, 2023
७ दिनको बैठकमा देउवाको ४ मिनेटः आलोचना नभएकोमा दंग, यी हुन् बैठकका निर्णय

काठमाडौं। नेपाली कांग्रेसको बैठक साउन २ बाट सुरु भएर ७ दिन चलेपछि बुधबार विभिन्न निर्णय गर्दै टुंगिएको छ। साउन ६ र साउन ९ मा ब्रेक भएको बैठक अरु दिन चल्यो।

Tata
GBIME
Zonsen

कुन दिन के भयो?

पहिलो दिन साउन २ गते महामन्त्री विश्वप्रकाश शर्माले १० बुँदे एजेन्डा सुनाए। सोही प्रस्तावभित्रको सांगठनिक कार्ययोजना र कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरे।

बैठकमा सरकारको गतिविधिबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन समितिका संयोजक गोपालमान श्रेष्ठ, केन्द्रीय अनुशासन समितिको प्रतिवेदन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना र संसदमा पार्टीको गतिविधिसम्बन्धी प्रतिवेदन प्रमुख सचेतक रमेश लेखकले बैठकमा प्रस्तुत गरे।

साउन ३ गते ४३ जना केन्द्रीय सदस्य, साउन ४ गते ३५ जना, साउन ५ गते ३४ जना र साउन ७ गते २५ जनाले धारणा राखे। साउन ८ गते उपसभापति खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायतले धारणा राखे। यही बीचमा सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो प्रतिवेदन सुनाए।

सात दिनको बैठक, देउवा बोले चार मिनेट

कांग्रेस सभापति देउवा कमै बोल्छन्। सात दिनसम्म चलेको बैठकमा देउवाले जवाफ दिने क्रममा करिब ४ मिनेटमात्र समय लिए। आफ्नो धारणा राख्दै धेरै आलोचना नभएकोमा दंग देखिए देउवा। ‘धेरै आलोचना होला भनेको, भएन,’ देउवाले भने, ‘अत्यन्तै जीवन्त लाइभ्ली डिस्कसन भयो।’

बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई जनताले चिनेको समेत उनको भनाइ थियो। ‘कांग्रेसमा एकसे एक साथीहरु हुनुहुन्छ। लाइभ्ली देखाउँदा धेरैलाई थाहा भयो। कांग्रेसमा कोहीभन्दा कोही कम छैन भन्ने कुरा दुनियाँले बुझेको छ,’ देउवाले भने।

१४ औं महाधिवेशनले तय गरेको नीति अधिवेशन गर्न नसकेकोमा दुखी सुनिए देउवा। ‘नीति अधिवेशन भनेको पास नै गरेको हो। तर गर्न सकिएन। महासमितिमै छलफल गरेर गरौं भन्ने भयो। आपसी छलफल गरेर बढौंला,’ उनले भने।

बैठकमा पटक-पटक झोक्किए देउवा

आइतबार केन्द्रीय सदस्य विजयकुमार गच्छदारसँग झोक्किएका थिए देउवा। गच्छदारले बैठक लाइभबारे प्रश्न उठाएपछि सभापति देउवाले रोकेर घडी हेर्न सुझाएका थिए।

गच्छदार भने आफूलाई डिस्टर्ब भएको गुनासो गर्नतिर लागे। गच्छदारले नीति अधिवेशनको कुरा उठाएपछि देउवाले सम्बोधन सक्न अनुरोध गरे।

तर गच्छदारले समय मागिरहे। ‘कति दिने तपाईंलाई? सबैलाई आफ्नो टाइम दिइएको छ। त फेरि…. कति दिनु, एक मिनेट मात्र। म धेरै दिन्नँ।’ गच्छदार पनि के कम, ‘मलाई कति समय डिस्टर्ब भएको छ, मेरो टाइम काटिदिनुहोला। मैले धेरै कुरा बोले भनेँ असहज हुन्छ होला। त्यसकारण म धेरै बोल्दिनँ,’ भनेर आफ्नो भनाई टुंग्याए।

जंगिए महामन्त्रीमाथि

बुधबार महामन्त्री विश्वप्रकाशले केन्द्रीय समितिको निर्णय सुनाए। निर्णयमा धेरै विषय छुटेको भन्दै केन्द्रीय सदस्यहरुले संशोधनको सुझाव दिँदै थिए। यहीबीचमा अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतले सम्झाए महामन्त्री शर्मालाई। ‘कांग्रेसकै नाउ गरेर नेतृत्वलाई गाली गर्ने गरी राख्ने पेज हटाउनुपर्छ भन्ने प्रस्तावमै थियो। त्यो आएन। कसरी हट्यो। पुरै छुट्यो। पढ्दाखेरि पनि पढ्नुभएन,’ महतले भने, ‘अनुगमन सम्बन्धमा महामन्त्रीजीले नै नियुक्त गर्ने भन्ने कुरा पनि त्यो त पार्टी सभापतिको सल्लाहमा हुनुपर्छ नि त्यो पनि पहिले थिएन। आफ्नो हिसाबले थपिएजस्तो छ।’

महतले आपत्ति जनाएपछि विश्वप्रकाशतिर हेर्दै देउवाले जंगिए : आफैंले थपेको? सल्लाह गरेर गर्नुपर्‍यो नि।’

एनपी साउदको नाम लिँदै कड्किए कडैसँग

पार्टीमा थप संशोधनका विषय उठाउँदै थिए केन्द्रीय सदस्यहरुले। त्यही बेला परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदको नाम लिँदै कड्किए देउवा। ‘मलाई भन न के हो त्यो। लेउ यहाँ। मलाई लेउ। शेरबहादुर भन्ने मान्छे थाहा छ कि छैन। शेरबहादुर भन्ने मान्छे चिन्या  छ। लेउ न भन्या प्रस्ताव,’ कड्किदै देउवाले भने।

संशोधनमा व्यक्तिको नाम जोडेर आएकोले पछि संशोधन गर्ने निर्णयसहित बैठक सकाउन डा मीनेन्द्र रिजालले आग्रह गरे देउवासँग। ‘छुट्या कुरा भन्छ त मान्छेले,’ देउवाले तुरुन्तै जवाफ फर्काए।

के के भए महत्वपूर्ण निर्णय?

बैठकमा विभिन्न निर्णय भए पनि धेरै संशोधनका विषय आएकोले यसलाई केन्द्रीय समितिले फाइनल गरेको छैन। यद्यपि यो पारित भइसकेको कांग्रेसले जनाएको छ। केही महत्वपूर्ण निर्णय भने कांग्रेसले सार्वजनिक गरेको छ।

अर्को केन्द्रीय समिति असोज २ गते

यसपटक गत भदौ ५ पछि एकैपटक साउन २ गते केन्द्रीय कार्यसमिति बैठक बस्यो। विधानमा दुई महिनामा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नै पार्ने प्रावधान छ। तर यसपटक करिब वर्ष दिनपछिमात्र बैठक डाक्दा देउवाको चर्को आलोचना भयो। यसै कारण पार्टीमा सभापति देउवाको चर्को आलोचना भयो। त्यसैले हो महामन्त्री थापाले पार्टीको क्यालेन्डरमै प्रस्ताव गरे –बैठक हरेक दुई महिनाको पहिलो हप्ता बस्ने।

यही प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन समेत गरेको छ। पार्टी सभापति देउवाले अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। ‘अब हरेक २ महिनामा एकचोटि बैठक बस्नुपर्छ। अर्को बैठक असोज २ गते,’ यति बोलेपछि बैठक सकियो।

महासमिति बैठक मंसिरमा

कांग्रेसले महासमिति बैठकको मिति तय गरेको छ। ‘आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने गरी महासमिति बैठक आह्वान गरिएको छ,’ केन्द्रीय कार्यसमितिको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने। नीति अधिवेशन महासमिति बैठकमा गर्ने गरी केन्द्रीय समितिले निर्णय गरेको महामन्त्री शर्माले जनाए।

कांग्रेसले नीति अधिवेशन भने नगर्ने भएको छ। महामन्त्री शर्माले प्रस्तुत गरेको १० एजेन्डामा नीति महाधिवेशनको विषय समेटिएको थियो। १४औं महाधिवेशनले ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय गरेको थियो। तर नीतिबारे अब महासमिति बैठकमै छलफल हुने महामन्त्री शर्माले बताए।

दलित संघको केन्द्रीय समिति भंग

कांग्रेसले दलित संघको केन्द्रीय समिति भंग गरेको छ। तोकिएको मितिमा अधिवेशन गर्न नसकिएपछि समिति भंग गरिएको हो।

१५ भदौ भित्र पार्टीमा आवश्यक परामर्शबाट तदर्थ समिति गठन गर्न सभापति देउवालाई जिम्मेवारी दिइएको छ।

दर्जन नेताहरुको कारबाही फुकुवा

कांग्रेस केन्द्रीय समितिले दर्जन नेताहरुको कारबाही फुकुवा गरेको छ। स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी बनेका नेताहरुको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले जानकारी दिए। जुम्ला देवेन्द्र शाही र सर्लाहीबाट जंगीलाल रायको कारबाही फुकुवा भएको छ। दुबै जना स्वतन्त्रबाट प्रदेश सभामा निर्वाचित भएका हुन्। त्यसैगरी जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको भएको छ।

कालोमोसो दल्नेको सदस्यता खारेज हुने

केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका माग अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ,’ महामन्त्री शर्माले भने।