काठमाडौं।त्रिभुवन विमानस्थलको भन्सार कार्यालबाट जाँचपास भएर बाहिरिएको एक अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको ५ दिनपछि अनुसन्धानमा नेपाल प्रहरीका एक अधिकृत समेत संलग्न भएका छन्।
राजस्व अनुसन्धान विभागले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई पठाएको छ। एसपी पंगेनी मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत थिए। उनीसँग बारा र महोत्तरीको प्रमुख भएर काम गरेको अनुभव छ।
कानुन विषय अध्ययन गरेका एसपी पंगेनी अनुसन्धानमा राम्रो अधिकृतका रुपमा चिनिन्छन्। उनले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदा २०६५ देखि २०६८ सम्म जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा रहेर काम गरेका थिए।
उनीसँग डीएसपी भएपछि करीब अढाइ २ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको अनुभव छ। २०७५ मा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का संलग्न भष्टाचारको अनुसन्धानमा अख्तियारले उनको सहयोग लिएको थियो। खड्कालाई विशेष अदालतले एक महिनाअघि १ वर्ष ३ महिना कैद र साढे ९ करोड बिगो बमोजिमको जरिवाना तोकेको थियो।
पंगेनी २०७५ माघमा एसपीमा बढुवा भएका थिए। त्यसपछि उनले बाराको प्रमुख भएर काम गरे। ६५ औँ प्रहरी दिवसमा उनी मधेस प्रदेशमा उत्कृष्ट जिल्ला प्रहरी प्रमुखको रुपमा पुरस्कृत भएका थिए।
बारापछि उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भए। उनले नक्कली खाद्य सामग्रीको अपरेसनदेखि कालो पुल बस्ने सन्तोषी सुब्बाको हत्या प्रकरणको अनुसन्धान गरे।
केही महिनाअघि उनी महोत्तरीको प्रमुखबाट मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा भएका हुन्। विमानस्थल भन्सार कार्यालयले जाँचपास गरेर बाहिरिएलगत्तै बरामद सुन प्रकरणको अनुसन्धानलाई दिएर चौतर्फी चासो छ।