पेट्रोलियम पदार्थको आयात २१ अर्ब ७० करोडले घट्यो, तीन खर्ब रुपैयाँको आयात

बिजमाण्डू
२०८० साउन ९ गते १०:१९ | Jul 25, 2023
पेट्रोलियम पदार्थको आयात २१ अर्ब ७० करोडले घट्यो, तीन खर्ब रुपैयाँको आयात


काठमाडौं। पेट्रोलियम पदार्थको आयात घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को भन्दा २२ अर्बले घटेको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब २२ अर्ब १३ करोड बराबरको आयात भएको थियो। तर आव २०७९/८० मा ३ खर्ब ३१ करोड रुपैयाँ मात्र भएको छ।

Tata
GBIME

अघिल्लो वर्षको तुलनामा आयात २१ अर्ब ७० करोड रुपैयाँ कम भएको हो। भन्सार विभागका अनुसार यो वर्ष ग्यास, पेट्रोल, हवाई इन्धन, मट्टितेल र डिजलको आयातमा मात्रै ३ खर्ब ३१ करोड रुपैयाँ देशबाट बाहिरिएको छ।

यसबाट सरकारले १ खर्ब ४ अर्ब १३ करोड ७६ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा भने पेट्रोलियम पदार्थको आयातबाट सरकारले १ खर्ब १६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ भन्सार शुल्क उठाएको थियो।

अघिल्लो वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको आयातबाट संकलन हुने भन्सार शुल्क पनि १२ अर्ब ८१ करोडले घटेको छ।

सर्वाधिक घटेको हवाई इन्धन हो। अघिल्लो वर्ष ३० लाख २६ हजार ७२१ किलोलिटर आयात भएको थियो। तर यो वर्ष भने १२ लाख ५६ हजार ९४९ किलोलिटर हवाई इन्धन आयात भएको छ। जसमा यो वर्ष १७ लाख ६९ हजार ७७२ किलोलिटरले हवाई इन्धनको खपत घटेको छ।

यस्तै एलपी ग्यास पनि अघिल्लो वर्षको तुलनामा २ करोड १५ लाख २४ हजार ६४७ किलोले आयात घटेको छ। अघिल्लो वर्ष ५३ करोड ५८ लाख ६५ हजार ४१५ केजी आयात भएको थियो। तर यो वर्ष ५१ करोड ४३ लाख ३४ हजार ७६८ केजी ग्यास आयात भएको छ।

यसैगरी डिजलको आयात पनि यो वर्ष ३ लाख ४६ हजार ४३९ किलोलिटरले घटेको भन्सार विभागले जनाएको छ। अघिल्लो वर्ष १७ लाख ५४ हजार ९३३ किलोलिटर डिजल आयात भएको थियो। तर यो वर्ष भने १४ लाख ८ हजार ४९४ किलोलिटर डिजल आयात भएको विभागले जनाएको छ।

पेट्रोलको आयात पनि यो वर्ष ५७ हजार ७२९ किलोलिटरले घटेको विभागले जनाएको छ। विभागका अनुसार यो वर्ष ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल आयात भएको छ। अघिल्लो वर्ष ७ लाख ३८ हजार ५३६ किलोलिटर पेट्रोल आयात भएको थियो।

यो वर्ष कुन कति आयात भयो ?

विभागका अनुसार यो वर्षभरी कुल १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख बराबरको डिजलमात्र आयात भएको छ। यसबाट सरकारले ५५ अर्ब १५ करोड ३१ लाख बराबरको भन्सार शुल्क मात्र संकलन गरेको छ।

यो अवधिमा ६६ अर्ब ८४ करोड ४८ लाख बराबरको पेट्रोल नेपाल आयात भएको छ। यसबाट सरकारले ३६ अर्ब ५६ करोड बराबरको भन्सार शुल्क संकलन गरेको छ।

डिजल १४ लाख ८ हजार ४९४ किलोलिटर र पेट्रोल ६ लाख ८० हजार ८०७ किलोलिटर आयात भएको छ।

यसैगरी यो अवधिमा ५८ अर्ब १५ करोड बराबरको ५१ करोड ४३ लाख ३४ हजार ७६८ केजी ग्यास आयात भएको छ। यसबाट सरकारले लगभग १० अर्ब ८४ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

हवाई इन्धन २० अर्ब ७ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख ५६ हजार ९४९ किलोलिटर आयात भएको छ। यसबाट सरकारले लगभग १ अर्ब ३८ करोड भन्सार शुल्क संकलन गरेको छ।

यस्तै मट्टितेल १ अर्ब ४६ करोड ७९ लाख बराबरको १३ हजार ४ किलोलिटर आयात भएको छ। यसबाट सरकारले १८ करोड ८८ लाख रुपैसाँ भन्सार शुल्क संकलन गरेको भन्सार विभागले जनाएको छ।