काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि भाषा परीक्षाको आवेदन पुनः खुलाएको छ।
कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ देखि १५ गतेसम्म परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए। उनका अनुसार उक्त भाषा परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ।
यसैगरी इपीएस कोरिया शाखाले सूचना प्रकाशित गरी नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको जनाएको छ।
शाखाको सूचनाअनुसार आवेदक नेपाली नागरिक हुनुपर्ने, इपीएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पछि भीसा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदार हुनुपर्ने छ।
उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने जनाइएको छ।
यसैगरी कोरियामा इ-९ र ३-९-१ भिसामा पाँच वर्षभन्दा बढी अवधि नबसेका र कोरियाको मानव संसाधन विभागबाट इपीएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फाराम पर्न पाउने जनाइएको छ।
यसअघि कोरियाबाट फर्किएर आएकाले आफूले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए। रासस